बाँकेको डुडुवा गाउँपालिकामा गाउँसभा नै बहिष्कार गरेर आरोप–प्रत्यारोपमा उत्रिएका जनप्रतिनिधिहरू बीचको कटुताले पालिकाको समग्र सुशासन तथा विकास प्रभावित हुने देखिएको छ । तीन दिन अघि गाउँसभा असफल भएपछि बहिष्कारको कारण बताउन शनिबार पत्रकार सम्मेलन गरेर दुई वडाध्यक्ष सहितका बहिष्कार पक्षधरहरूले डुडुवामा बढ्दो बेथिति विरुद्ध अख्तियार गुहार्दा समेत सुनुवाई नभएको गुनासो गरे ।
‘गाउँपालिकाका हरेक योजनालाई पारदर्शी हुनुपर्ने मागका साथ सत्तापक्षको अनियमितता विरुद्ध बहुमत जनप्रतिनिधिले बहिष्कार गरेको’ दाबी गर्दै शनिबार आयोजित पत्रकार सम्मेलनमा डुडुवा–६ मोहनराम मिश्रले भने, ‘पालिकाको हरेक गतिविधि अपारदर्शी र शंकास्पद छ ।’ उनले पारदर्शीताको सुनिश्चितता नभएसम्म बैठकहरूमा नबस्ने बहुमत जनप्रतिनिधिहरूको निर्णय सुनाउँदै भने, ‘पालिका बैठकमा गरिएका निर्णयहरूमा हाम्रो हस्ताक्षर पहिले लिइन्छ, क्लोजिङ्ग माइन्युट हेर्नसम्म पाइँदैन ।’ यस्तो अवस्थामा अध्यक्षले गरेको ‘मनोमानीको साक्षी आफुहरू बस्न नसक्ने’ धारणा राख्दै पत्रकारहरूसँग भने, ‘अघिल्लो गाउँसभाका लागि व्यक्त प्रतिबद्धता नै पालना नगरेर पुरानै रवैया दोहोर्याएका कारण बहिष्कार बाध्यात्मक बन्यो ।’
डुडुवा ५ का वडाध्यक्ष झंक बहादुर थापाले डुडुवालाई सीमित व्यक्तिको स्वार्थमा बेहाल बनाउन कसरत भैरहेको भन्दै त्यस विरुद्ध एमाले मात्रै नभई जसपा र सत्तारुढ काँग्रेसकै जनप्रतिनिधिहरू पनि आफुहरूको पक्षमा आएको दाबी गरे । ‘अपरादर्शीताको हद हेर्न डुडुवा गाउँपालिका पुगे हुन्छ’, थापा भन्छन्, ‘जनप्रतिनिधिहरूलाई सूचनासम्म नदिएर पालिका अगाडि बढाउन खोजिएको छ ।’
पत्रकार सम्मेलनमा डुडुवाका विभिन्न राजनीतिक दलका नेताहरूको समेत सहभागिता थियो । ‘यति ठूलो अनियमितताको अखाडा बनिरहँदा पालिकामाथि अख्तियारले किन निगरानी गर्दैन ?’, पत्रकार सम्मेलन नियालिरहेका पूर्व प्रदेशसभा सदस्य विजय कुमार यादवले भने, ‘सबै फाइलहरू उठाएर गम्भीरतापूर्वक अध्ययन गर्ने हो भने करोडौंको घोटाला पुष्टि हुनसक्छ ।’ यादवको भनाइ सुनिरहेका वडाध्यक्ष मिश्रले वडाबासीहरू अख्तियार समेत पुगेको तर्क गर्दै भने, ‘अख्तियारले फाइल तानेर अध्ययन गर्नुको साटो उल्टै उनीहरूलाई हिसाबकिताब र कागज मिलान गर्न गाइडलाइन पुग्ने गरी पत्राचार गरेर मौका मिलाइदिए ।’
अघिल्लो आर्थिक बर्षमा ५ महिना गाउँसभा हुन नसकेको डुडुवामा एमाले नेता पशुपति दयाल मिश्रको पहलमा दलीय सहमति जुटाइएको थियो । ‘अब मैले केही गर्न सक्ने अवस्था छैन’, पत्रकार सम्मेलनमै भेटिएका मिश्रले पत्रकारसँग भने, ‘त्यो बेला गरिएका सहमति विपरित पालिका अध्यक्ष झनै मनपरीमा उत्रिएपछि डुडुवाको बेथिति सम्हाल्नै नसक्ने अवस्थामा पुगेको छ ।’































