पाल्पा जन्मथलो भै बाँकेलाई कर्म थलो बनाउँदै आएकाहरूको संगठन पाल्पाली मिलन केन्द्रको शनिबार आयोजित तेस्रो बार्षिक साधारण सभा तथा चाडपर्व मिलन कार्यक्रममा सहभागीहरूले समाज गठनले आफ्नो परम्परा तथा सस्कृतिको जर्गेना गर्न सहयोग गर्ने बताएका छन् । पछिल्लो समय नेपालमा परेको पश्चिमी सभ्याताको प्रभावले गर्दा नेपाली मौलिक संस्कृति ओझेलमा पर्न गैरहेको अवस्थामा जिल्लामा विभिन्न नाममा समाजहरू गठन गरिनुलाई सकारात्मक रूपमा लिनु पर्ने कार्यक्रमका वक्ताहरूले बताएका थिए ।
मिलन केन्द्रका जेष्ठ सदस्य डिलाराम पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि मनोज कुमार श्रेष्ठले स्थानीय स्तरमा गठन भएका समाजहरूले आफ्नो वार्षिक कार्य योजना बनाएर स्थानीय तहबाट सहयोग लिन सक्ने बताए । उनले भने, ‘समाज गठनलाई मैले सकारात्मक रूपमा लिएको छु, स्थानीय तहमा विभिन्न समाजहरूको आफ्नो आफ्नो कला संस्कृति रहेको हुन्छ, यस्ता कला संस्कृति एवं परम्पराहरूको संरक्षण तथा सम्वद्र्धन गर्नका लागि गठित समाजहरूको भूमिका महत्वपूर्ण हुने हँुदा यहाँहरूले आफ्नो समाजको वार्षिक कार्ययोजना तयार पारेर
स्थानीय वडाहरूमा पेश गर्नुहोस्, हामीबाट हुन सक्ने सहयोग गर्ने छौ ।’ मिलन केन्द्रका सभापति माधव प्रसाद पोख्रेलले पाल्पाली केन्द्रको उद्देश्य सबैलाई एकै ठाउँमा राख्ने र आफ्ना समस्याहरूलाई समाधानको लागि केन्द्रको सहयोगी बन्न सक्छ भन्ने हो । सभापति पोख्रेलले भने, ‘मिलन केन्द्रले विगत देखि नै यस्ता कार्यक्रम गर्दै आएको अवस्था सबैको साथ सहयोग भैरहेको अवस्था छ, हामीले केन्द्रका तर्फबाट विभिन्न सामाजिक सेवाका कार्यक्रम समेत गर्दै आएको अवस्था हो जसले गर्दा समाजका लागि समेत गठित समाज रहन्छ भन्ने हाम्रो उद्देश्य रहेको छ ।’
कार्यक्रममा स्वागत गर्दै केन्द्रकी उपाध्यक्ष उर्मिला पाण्डेले भनिन्, ‘बाँकेमा विभिन्न समाजहरू गठन भएका छन् कतिपयलाई लाग्न सक्छ कि किन समाज गठन गरेको होला भन्ने तर फरक संस्कृति रहेका विभिन्न समुदायको बसाई हुने यस्ता क्षेत्रमा आफ्ना–आफ्ना संस्कृतिका बारेमा आउने सन्ततीहरूलाई जानकारी गराउनका लागि समेत समाजको महत्व हुन्छ जस्तो मलाई लाग्दछ ।’
यसैगरी अतिथिका रूपमा पुगेका रुकुमेली सेवा समाजका वासुदेव शर्माले समाजको महत्वका बारेमा बताउँदै भने, ‘प्रत्येक समाजहरू एकआर्कामा मिल्नु पर्छ, समाजले समाजमा रहेका विकृतिहरूलाई हटाउन सक्नु पर्दछ, समाज समाजमा सद्भाव कायम गर्नका लागि निर्माण गरिनु पर्दछ ।’
अछामी समाजका पुस्कर खड्काले समाजले गर्ने हरेक क्रियाकलापमा सबैको साथ सहयोगको आवश्यक पर्ने भएको हुँदा सबैले सहयोग गर्नु पर्ने बताउँदै भने, ‘हामी सबैले आफ्नो रीतिरिवाज तथा चाडपर्वको महत्वलाई बुझेर सबै सकारात्मक काममा सबैको साथ, सहयोग र समर्थन रहनु पर्दछ ।’
मिलन केन्द्रका सल्लाहकार स्वास्थ्यकर्मी शेमराज शाक्यले भने, ‘बाँके जिल्लामा आएर बसे पछि हामीले आफ्नो जन्म थलो भन्दा पनि कर्म थलोका लागि केही गरौ भन्ने भावना राख्नु पर्दछ जसले गर्दा आफु र आफ्नो क्षेत्रको समेत भलो हुने गर्दछ ।’
३ सय १ साधारण सदस्य रहेको पाल्पाली मिलन केन्द्र बाँके आयोजना गरेको कार्यक्रममा रुकुमेली समाजका बासुदेव गिरी, प्युठान युवा समाज समितिका उपाध्यक्ष लक्ष्मण पन्थी,जेएस स्कुलका संस्थापक अध्यक्ष महेन्द्र सेडाई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति एवं सम्मानहरूका साथै गत एसईईमा उत्कृष्ट पाल्पाली मिलन केन्द्रका सदस्यका सन्तान प्रसन्न नेपाललाई सम्मानीत गरीएको मिलन केन्द्रका सचिव थानिश्वर पाण्डेयले जानकारी दिए ।
पत्रिकालाई सम्मान
पाल्पाली मिलन केन्द्र बाँकेले दैनिक नेपालगन्ज राष्ट्रिय दैनिकलाई सम्मान गरेको छ । मिलन केन्द्र बाँकेका समग्र गतिविधिको सुचना सम्प्रेक्षण गरी संस्थाको उन्नति, प्रगति र बृद्धि विकासमा योगदान पु¥याएको भन्दै दैनिक नेपालगन्जलाई केन्द्रले सम्मान गरेको हो ।
प्रधानसम्पादक झलक गैरेले उक्त पुरस्कार ग्रहण गरेका थिए । प्रधान सम्पादक गैरे नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष हुन् ।
