देशमा भैरहेको भ्रष्टाचार एवं अनियमिता रोक्नका लागि तरुण जाग्नु पर्ने बताइएको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल बाँकेले शनिबार आफ्नो स्थापनाको ७२ औं स्थापना दिवस मनाउने क्रममा आयोजित कार्यक्रममा सहभागीहरुले भ्रष्टाचार विरुद्ध तरुण युवा जाग्नु पर्ने बताएका हुन् ।
नेपालगन्जमा रहेको मानवसेवा आश्रममा खाद्यान्न सहित नगद हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरेले भने, ‘नेपाल तरुण दलको इतिहास निकै लामो रहेको हँुदा यस गर्ने हरेक क्रियाकलापहरु भष्ट्राचार विरोध बन्नु पर्दछ जसले गर्दा देशका जनताको भविष्य जोगाउन सकिन्छ ।’
‘विगतमा तरुण दलका गतिविधि र अहिलेको तरुण दलका गतिविधि धेरै फरक भएको मैले पाएको छु, तरुण दल छ भन्ने सन्देश दिनका लागि समेत तरुण दलले विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै अगाडि बढ्नु पर्दछ’, नेपाली कांग्रेस बाँकेका पार्टी सभापति नारायाण प्रसाद गौडेलले नेपाल तरुण दल अझै सशक्त र जुझारु भएर जानु पर्ने बताउँदै भने, ‘नागरिकहरुको हक र अधिकारका लागि अझै सक्रियका साथ अगाडि बढ्न आवश्यक छ ।’
नेपाल तरुण दल बाँकेका अध्यक्ष विरेन्द्र बहादुर शाहले राजनीतिक एजेण्डा मात्रै नभएर सामाजिक सेवाका क्षेत्रमा समेत तरुण दल सक्रिय भएको बताउँदै भने, ‘हामीले राजनिति गतिविधि गर्दा गर्दै पनि केही समाजिक कार्यहरु गर्छौ जसको उदाहरणका रुपमा तरुण दलको स्थापना दिवसको उपलक्ष्यमा मानव सेवा आश्रममा खाद्यन्न हस्तान्तरण गरेको छौ ।’
तरुण दलको स्थापना दिवसको अवसर पारेर नेपाल तरुण दल नेपालगन्ज उपमहानगरपालिकाका सभापति संदिपजंग शाहले नगद रु ११ हजार र राप्तीसोनारी गाउँपालिका तरुण युवा समिर विष्टले रु ७ हजार मानव सेवा आश्रमलाई हस्तान्तरण गरेका थिए ।
स्थापना दिवसको अवसरमा खाद्यन्न हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस बाँकेका उपसभापति गोपाल प्रसाद अधिकारी,प्रवक्ता डिल्ली गिरी, सहसचिव रनु ठाकुर, नेपाली कांग्रेस क्षेत्रीय नं.२ का सभापति रमेश गुप्ता, लोकतान्त्रिक खेलकुद संघका लुम्बिनी प्रदेश संयोजक नरेन्द्र थापा, कांग्रेस नेपालगन्ज नगर कार्यवाहक सभापति धनराज बर्मा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण नेपाल तरुण दल बाँकेका सचिव बिनोद रिजालले गरेका थिए ।
वि.सं.२०१० कात्तिक १० गते कांग्रेसका तत्कालीन सभापति बीपी कोइरालाको मूल प्रेरणामा स्थापना भएको तरुण दलको संस्थापक अध्यक्षमा सिंहध्वज खड्का थिए । वि ।सं। २०१७ पुस १ गते तत्कालीन प्रधानमन्त्री बीपीले तरुण दलको कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला राजा महेन्द्रले सेनाको बलमा प्रधानमन्त्री बीपीलगायत सबै नेतालाई थुनेर ‘कु’गरेका थिए ।
वि.सं. २०५४ मा नेपालगन्जमा भएको कांग्रेसको महासमिति भेलामा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले बालकृष्ण खाँणको नेतृत्वमा तरुण दल पुनःस्थापनाको घोषणा गरेका थिए । नेपाल तरुण दल बाँकेले शनिबार साँझ बी।पी।चौकमा दिप प्रज्वलन कार्यक्रमको समेत आयोजना गरेको छ ।
