निवर्तमान प्रदेश मन्त्री अधिकारीलाई काठमाडौँ ल्याइँदै

कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेर आज काठमाडौँ ल्याइँदै छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा पत्राचार गरि अहिले अपराह्न २ः३० बजेको समयमा अधिकारीलाई काठमाडौँ ल्याउने तयारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि अधिकारीलाई विराटनगरबाट पक्राउ गरिएको थियो, अहिले काठमाडौँ ल्याइँदै छ ।”

यही कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा डिपोर्ट भएका प्रहरीले जनाएको छ । नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र देवकोटाले जापान जान प्रतिव्यक्ति रु १० लाख बुझाएको प्रहरीको आरोप छ । यसैबीच जिल्ला प्रहरी कार्यालय मोरङले पनि पक्राउ गरेको पुष्टि छ ।

यसैगरी अधिकारीलाई नेकपा ९एमाले० कोशी प्रदेशले साधारण सदस्यसमेत नरहने गरी गरेको कारबाहीलाई शनिबारको केन्द्रीय सचिवालय बैठकले अनुमोदन गरेको थियो ।
Exit mobile version