- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अहिले कसैको पनि ऋण लिने अवस्थामा नरहेको बताएका छन् । शुक्रबार दरबारमार्गमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू यही मंसिर १७ गते छिमेकी देश चीनको भ्रमणमा जान लागेको बताए । उनले चिनियाँ परियोजना बीआरआईलाई संकेत गर्दै अहिले देशको अवस्था कसैसँग ऋण लिने अवस्था नरहेको पनि बताएका हुन् ।
- सभामुख देवराज घिमिरेले जनमत पार्टीकी समानुपातिक सांसद गोमा लाभ (सापकोटा)लाई पदबाट हटाउन चौथोपटक पनि इन्कार गरेका छन् । जनमत पार्टीले पेस गरेका ‘डकुमेन्ट विश्वसनीय नभएको’ भन्दै सभामुख घिमिरेले सांसद सापकोटालाई नहटाउने निर्णय गरेका हुन् ।
- जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट एक कर्मचारी २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखामा कार्यरत नायब सुब्बा अशोककुमार यादव छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले उनलाई सेवाग्राहीबाट लिएको २० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।
- विदेश पठाउने बहानामा ५ युवतीलाई बेचबिखन गर्न लागेको आरोपमा एक युवक पक्राउ गरेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका–१४ का ४४ वर्षीय राजु तामाङ भनिने राजकुमार थिङ छन् । थिङलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले पक्राउ गरेको हो ।
- नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले नेतृत्वसँग जोडेर चर्चामा आएका काण्डहरुको छानबिन गर्न तयार रहेको बताएका छन् ।
दरबारमार्गमा आयोजित जनसभालाई सम्बोधन गर्दै पोखरेलले छानबिन गर्दा फरक नपर्ने बताएका हुन् । एमालेसँग जोडिएर गरिने प्रचार भ्रम मात्र भएकाले छानबिन गर्न तयार रहेको उनले बताए । - लुम्बिनीमा नवनिर्मित पाल थुब्तेन सेडुप लिङ विहार हजार बुद्ध मन्दिरको शुक्रबार उद्घाटन गरिएको छ । कानिङ सम्प्रदायका सम्मानित मूल गुरु छोक्यी न्यीमा रिन्पोछेले धार्मिक विधिपूर्वक मन्दिर उद्घाटन गरे ।
- गत वर्ष कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाई गएको भूकम्पबाट घरमा क्षति हुँदा प्रभावित भएका दार्मा गाउँपालिकाका स्थानीयलाई पालिकाले ४० दिन बराबरको रोगजारी दिएको छ ।
- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले विभाजन भएका माओवादी पार्टीहरु एकताको प्रक्रियामा रहेको बताएका छन् । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा शुक्रबार पार्टी कार्यर्ताहरुसँगको भेटघाट तथा छलफल कार्यक्रममा अध्यक्ष दाहालले विभाजनको शृङ्खला रोकिएको र एकताको प्रक्रिया सुरु भएको बताए ।
देशमा आजः ८ बजे ८ खबर
