आन्तरिक राजस्व विभागले वार्षिक कारोबार रु. २० करोडभन्दा बढी हुने सबै करदातालाई अब अनिवार्य रूपमा विद्युतीय माध्यमबाट बीजक (इन्भ्वाइस) जारी गर्नुपर्ने निर्णय गरेको छ। विभागले मिति २०८२ चैत २७ गते गरेको निर्णयअनुसार यस्तो बीजक जारी गर्दा विभागको केन्द्रीय बीजक अनुगमन प्रणाली (CBMS) मा समेत आबद्ध हुनुपर्नेछ।
बैंक तथा वित्तीय संस्था जस्ता उपभोक्ता वा ग्राहकलाई प्रत्यक्ष रूपमा बीजक जारी नगर्ने निकायहरू भने यो व्यवस्थाबाट बाहिर रहने जनाइएको छ।
विभागले सम्बन्धित करदाता र कार्यालयहरूलाई निर्णय कार्यान्वयनका लागि जानकारी गराउँदै सूचना सार्वजनिक गरेको हो।
यस व्यवस्थाले कारोबार पारदर्शिता बढाउने, कर प्रशासनलाई व्यवस्थित बनाउने तथा राजस्व चुहावट नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
