बाँके अटोमोबाइल्स एशोसिएसनले अटोमोबाइल्स व्यवसायमा कालोबजारी नियन्त्रण गर्न कडा कदम चाल्ने चेतावनी दिएको छ।
एशोसिएसनका अध्यक्ष नरेन्द्र बहादुर ओलीद्वारा जारी सूचनामा खुला भन्सारका कारण विगतदेखि व्यवसायीहरूले विभिन्न समस्या भोग्दै आएको उल्लेख गर्दै सरकारले हाल भन्सारमा कडाइ गरेसँगै नेपाली बजारमा व्यवसाय बढ्ने अपेक्षा गरिएको जनाइएको छ।
सूचनामा केही व्यवसायीहरूले ग्राहकसँग कालोबजारी गर्ने गरेको गुनासो उठिरहेको र कतिपय स्थानमा त्यस्ता गतिविधि प्रमाणित समेत भएको उल्लेख गरिएको छ। अबदेखि अटोमोबाइल्स सम्बन्धी कारोबार गर्ने कुनै पनि व्यवसायीले कालोबजारी गरेको सूचना प्राप्त भई प्रमाणित भएमा संस्थाको नेतृत्वमा राजस्व कार्यालय र प्रहरी प्रशासनमार्फत छापा मार्ने, कारोबारको पूर्ण छानबिन गराउने तथा दोषी प्रमाणित भएमा जरिवाना गराई व्यवसाय बन्द गराउने चेतावनी दिइएको छ।
त्यस्तै दोषी व्यवसायीलाई नेपालभर कारोबार गर्न नपाउने गरी सरकारबाट कालोसूचीमा राख्न पहल गरिने समेत सूचनामा उल्लेख छ।
एशोसिएसनले व्यवसायीहरूलाई मुनाफा बढाउने नाममा उपभोक्तामाथि अनुचित मूल्य नलिन, मार्जिन घटाई सेवा दिन तथा स्वच्छ व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ। साथै विगतजस्तो भनसुन वा घुसपैठमार्फत कारबाहीबाट उम्किने अवस्था अब नरहेको चेतावनी पनि दिइएको छ।
