नेपालगन्ज स्थित आदर्श माध्यमिक विद्यालयमा आज आइतबार विद्यार्थीहरू आफ्नो नेतृत्व चयन गर्दैछन् । विद्यालयले विद्यार्थीहरू बीच नेतृत्व विकासको क्षमता अभिवृद्धि र आफ्नो अधिकारको वकालतका लागि ‘आदर्श क्वालिटी सर्कल’ गठन गरी त्यसको नेतृत्व चयन प्रक्रिया अगाडि बढाएको हो ।
‘विशुद्ध प्रजातान्त्रिक पद्धतिबाट शतप्रतिशत विद्यार्थीहरूले मताधिकारको प्रयोग गरेर आफ्नो नेतृत्व छनोट गर्नेछन्’, त्यसका लागि विद्यालयका प्राचार्य वीरभान केसीको नेतृत्वमा निर्वाचन समिति समेत गठन गरिएको जानकारी दिंदै प्लस टु कोर्डिनेटर महेश्वर जोशीले दैनिक नेपालगन्जसँग भने ।
सर्कलको नेतृत्वका लागि हुने निर्वाचनमा १ हजार १ सय ३४ जना विद्यार्थीको मताधिकार प्रयोग
हुनेछ । आदर्शमा कक्षा ११ र १२ का साइन्स र म्यानेजमेन्ट संकायका विद्यार्थीलाई संगठित गरी उनीहरूलाई विश्वविद्यालयको आर्थिक सहयोग, सामाजिक कार्यक्रमहरू र व्यवसायिक सेवाहरू मार्फत परोपकारी काम गर्न प्रेरित गरिने कोर्डिनेटर जोशीको भनाइ छ । भानु बर्मा, राज छिनाल, सुजन बुढामगर, प्रज्वल अधिकारी, मन्थन खत्री, सुजल गुरुङ्ग र विश्वास धितालले नेतृत्वका लागि उम्मेदवारी दिएका छन् ।
निर्वाचन प्रक्रियालाई सफल बनाउन आचारसंहिताको निर्माण गरिएको र विद्यालयका शिक्षक तसौवर खानले निर्वाचन अधिकृतको भूमिकामा निर्वाचनलाई पूर्णता दिने विद्यालयले जनाएको छ ।































