प्रविधिको क्षेत्रलाई राज्यले यथोचित सहयोग नगरेको सम्बद्ध क्षेत्रका अगुवाहरूले बताएका छन् । आज बिहीबारदेखि नेपालगन्जमा हुन लागेको ‘क्यान इन्फोटेक २०२५’ को तयारीबारे जानकारी दिन बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सम्बद्ध क्षेत्रका अगुवाहरूले प्रविधिबाट समृद्धिको सम्भावना औंल्याउँदै तर राज्यले त्यसलाई आवश्यक सहयोग नगरेको बताएका हुन् ।
‘अहिलेको डिजिटल युगमा प्रविधिको प्रयोग बढ्दै गएको छ, त्यसलाई अगाडि बढाउने काम निजी क्षेत्रले गरिरहेको छ’, पत्रकार सम्मेलनका वक्ताहरूले भने, ‘निजी क्षेत्रमा लगानी गरेर रोजगारी, आयआर्जनसँगै विदेशी मुद्रा समेत निजी क्षेत्रले भित्र्याइरहेको छ ।’ सरकारले दशकौं देखि विभिन्न नारा दिएर त्यसमा लगानी गरेपनि प्रविधिको क्षेत्रमा खासै लगानी नगरेको सम्बद्धहरूले असन्तुष्टि व्यक्त गरेका थिए ।
पत्रकार सम्मेलनका वक्ताहरूले निजी क्षेत्रले प्रविधिसँग जोड्नका लागि पाँचौं क्यान इन्फोटेक नेपालगन्जमा आयोजना गर्न लागेको जानकारी दिए । कार्यक्रममा क्यान बाँकेका अध्यक्ष यज्ञराज जोशीले प्रविधिको प्रवद्र्धन इन्फोटेकको प्रमुख उद्देश्य रहेको बताएका थिए । ‘सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागी क्यान महासंघ बाँकेले क्यान इन्फोटेक आयोजना गर्न लागेका हौं’, अध्यक्ष जोशीले भने ।
अध्यक्ष जोशीले नेपालगन्जमा आयोजना हुने प्रादेशिक महोत्सवमा क्यानको छु्ट्टै ३० वटा स्टल रहने बताए । ‘इन्फोटेकमा स्टार्टअप, युवा प्रतिभा, नवप्रवर्तन तथा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइनेछ’, उनले भने, ‘साइबर सुरक्षा सम्बन्धी कार्यक्रम समेत गर्ने योजना बनाएका छौं ।’
कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले प्रविधिको महत्व बुझेर नै क्यानसँग इन्फोटेकका लागि सहकार्य गरेको बताए ।
क्यानका पूर्व अध्यक्ष सञ्जय थापा, इश्वर पोखरेल लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सचिव रमेश क्षेत्री र स्वागत उपाध्यक्ष पुष्कर थापाले गरेका थिए ।






























