बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले देशका कर्णधारका रूपमा रहेका विद्यार्थीहरू कुलतमा फँस्ने अवस्था बढ्दै गएको भन्दै त्यसको रोकथामका लागि खेलकुदमा बालबालिकाहरूको सहभागिता बढाउनु पर्ने बताएका छन् ।
बिहीबार आदर्श माध्यमिक विद्यालयले आयोजना गरेको ‘आदर्श स्पोर्टस् मेनिया–२०८१’ उद्घाटन गर्दै प्रजिअ रिजालले भने, ‘विद्यालयमा शैक्षिक अध्ययन मात्रै होइन अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीहरूको शारीरिक र मानसिक स्वास्थ्य अवस्था राम्रो बनाउन पनि ध्यान पुग्नुपर्छ ।’
प्लस टुका सयौं विद्यार्थीहरू माझ प्रजिअ रिजालले लागुऔषध दुव्र्यसनमा युवाहरू फँस्दा मुलुकको भविष्य नै कमजोर हुने औंल्याउँदै भने, ‘म तपाईहरूलाई विनम्र आग्रह गर्छु, कुलतमा आफु पनि नफँसौं, फसेकाहरूलाई पनि जोगाऔं ।’
बाँकेमा दिनहुँ जसो लागुऔषध दुव्यर्सनका घटनाहरू पुनरावृत्ति भैरहेको अवस्थामा प्रजिअ रिजालको चिन्ता थियो, यसले कुलतमा फँसेका युवा मात्रै होइन अभिभावक समेतको सपना भताभुंग हुन्छ, देशको भविष्य नै बर्बादको अवस्थामा पुग्छ ।
लागुऔषध जस्तो दुव्यर्सनमा फँसेर आफ्नो जीवन परिवार र समाज हुँदै देशलाई नै क्षति पुग्ने काम नगर्न युुवाहरू बेलैमा सचेत हुनुपर्ने आग्रह प्रजिअ रिजालको थियो ।
विद्यालयले शैक्षिक गतिविधिसँगै विभिन्न सिर्जनात्मक अतिरिक्त क्रियाकलाप गरेर विद्यार्थीहरूको सिर्जनशीलता, बौद्धिक क्षमताको विकास र शारीरिक तन्दुरुस्ती कायम गर्न सके युवा कुलतबाट जोगिने सुझाव प्रजिअ रिजालको थियो । आदर्श माविमा प्लस टु अध्ययनरत् सयौं विद्यार्थीलाई प्रजिअ रिजालले कुलत विरुद्ध सचेत गराएका हुन् ।






























