विपद् व्यवस्थापन सहकार्यमा छलफल

नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जो र नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टबीच भेटवार्ता भएको छ । बिहीबार भएको भेटवार्ताका क्रममा राजदुत लोरेन्जो र नगर प्रमुख विष्टबीच नेपालगन्ज उपमहानगरपालिकाको सम्रग अवस्था र विपद व्यवस्थापनका क्षेत्रमा आगामी दिनमा गर्न सकिने सहकार्यका सम्बन्धमा कुराकानी भएको छ ।

राजदुत लोरेन्जोले त्यसअघि नेपालगञ्जमा सञ्चालित विपद व्यवस्थापन कार्य लगायत अन्य विषयमा नेपालगञ्जका जनप्रतिनिधि, स्थानीय समुदाय, नेपालगञ्ज उद्योग बाणिज्य संघका प्रतिनिधिसंग छलफल गरेकी थिइन् । नेपालगञ्ज उद्योग बाणिज्य संघका प्रतिनिधिहरूसंगको भेटमा समग्र अर्थतन्त्र र सुधारका विषयमा छलफल भएको अध्यक्ष टंक बहादुर धामीले बताए । राजदुत लोरेन्जोले आगलागी र भूकम्प केन्द्रित घटना अभ्यासहरूको अवलोकन समेत गरेकी थिइन् ।

लोरेन्जोले एकलैनीस्थित मुसाफिर खानामा ग्याँस सिलिण्डरको आगो नियन्त्रण गर्ने तरिका बारेको घटना अभ्यास तथा रानीतलाउस्थित महेन्द्र माविमा विद्यार्थीहरूले गरेको भूकम्पमा आधारित घटना अभ्यासको अवलोकन गरेको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले बताए । यस्तै साँघुरा गल्लीमा दमकलको पहुँच पुर्याउन वडा नम्बर ३ र ७ मा लाइन विस्तार समेत गरेको र उक्त कार्यको पनि उनले अवलोकन गरेकी थिइन् ।

युरोपियन यूनियनको सहयोगमा नेपालगन्ज उपमहारगरपालिकामा सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना ९सुपर० सञ्चालनमा रहेको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, एच आई र युएन ओमनको साझेदारी एवम् सिडिएम नेपालको प्राविधिक सहयोगमा नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर)ले विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ ।

Exit mobile version