बर्षौदेखि अल्झिरहेको बाँकेको बैजानाथ गाउँपालिका वडा नं. २ र ३ मा रहेको नौवस्ता औद्योगिक क्षेत्रको काम सोमबारदेखि औपचारिक रूपमा अघि बढेको छ । पछिल्लो साता निरन्तर छलफल र पहल पछि बस्ती र औद्योगिक क्षेत्रको क्षेत्र छुट्याउन सडक बनाउने कार्य अगाडी बढेपछि नौवस्ता औद्योगिक क्षेत्र निर्माण कार्यको ढोका खुलेको हो ।
नौबस्तार औद्योगिक क्षेत्रको काम यसअघि सुरु गर्ने भन्दा पटकपटक अवरोध भएपछि यसपटक सहमति मात्रै जुटाइएन ठूलो संख्यामा सशस्त्र प्रहरी, नेपाल प्रहरीको परिचालन गरी सुरक्षा व्यवस्था मिलाएर मात्रै काम अगाडि बढाइएको थियो । सोमबार दिनभर डोजरले काम अगाडि बढाउँदा दुई जनाले मात्रै अवरोध गर्न खोजेका थिए । उनीहरूलाई सुरक्षामा खटिएका प्रहरी अधिकारीहरूले सम्झाईबुझाई सहमतिमा ल्याएका थिए ।
लामो समयदेखि मानव वस्ती र औद्योगिक क्षेत्र विचको विवादका कारण अगाडि बढ्न नसकेको निर्माण कार्य आइतबार बैजनाथ गाउँपालिकाले आयोजना गरेको बैठकबाट सर्वपक्षिय सहमति जुटेसँगै सोमबारबाट ट्रयाक खोल्ने (सडक निर्माण)को कार्य अगाडि बढेको हो ।
सहमति जुटेकाले वस्ती र औद्योगिक क्षेत्र बीचको सीमाना छुट्याउन सोमबारबाट सडकको ट्रयाक खोल्ने कार्य अगाडि बढेकाले मंगलबारदेखि नै औद्योगिक क्षेत्रको सीमानामा तारबारको कार्य अगाडि बढ्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओली बताउँछन् । उनले तत्काल पुरानो डिपिआरको कार्यलाई संधोधन गरेर पूर्वाधार निर्माणको कार्यलाई तत्काल अगाडि बढाउने बताए ।
नौवस्ता औद्योगिक क्षेत्रको वस्ती र औद्योगिक क्षेत्रको सहमतिपछि सडक खोल्न ट्रयाक ओपनको कार्य सुरू भएपछि स्थानीय निकै खुशी भएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी बताउँछन् । उनले यस क्षेत्रका स्थानीयले चुनौतीलाई अवसरका रूपमा लिनु पर्ने भन्दै नौवस्ता औद्योगिक क्षेत्र सञ्चालनमा आए यसै क्षेत्रका हजारौ स्थानीयले रोजगारको अवसर पाउने बताए ।
नेपाल सरकारले एक प्रदेश एक औद्योगिक क्षेत्र बनाउन घोषणा गरे अनुसार बाँकेको नौवस्ता औद्योगिक क्षेत्र घोषणा भएको थियो । २०७७ सालमा औद्योगिक क्षेत्रको शिलन्यास भएपनि २०२८ सालदेखि वसोवास गर्दै आएका वस्ती व्यवस्थापन हुन नसक्दा विवाद बढ्दै गएकाले औद्योगिक क्षेत्रको निर्माण कार्य अगाडी बढ्न सकेको थिएन । लामो समयको प्रयास पछि सर्वपक्षीय सहमति जुटेर सडक ट्रयाक खोल्ने कार्य भएसँगै नौवस्ता औद्योगिक क्षेत्रको निर्माण कार्य अगाडी बढ्नेमा बाँके वासीले आशा जगाएका छन् ।
औद्योगिक क्षेत्र निर्माणका लागि छुट्याइएको तीन सय ३८ बिगाह क्षेत्रफल जमिनमा दुई सय ६८ वटा घरधुरी बनाइएका छन् । सरकारले नौबस्तामा औद्योगिक क्षेत्रको घोषणा गर्नु अघिदेखि बसोबास गर्दै आएका ती स्थानीयहरूले सुरुवातदेखि नै अवरोध गर्दै आएका छन् । औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाउन खोज्दा अवरोध हुने क्रम नरोकिएपछि निकास खोज्न औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रवन्धक बाँके आएर सर्वपक्षीय बैठकको आयोजना गरेका थिए । उनले बाँकेका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि एवम् जनप्रतिनिधि, सम्बद्ध सरोकारवाला तथा सुरक्षा निकायका प्रमुखहरूसँग पनि छलफल गरेका थिए ।
सोमबार निर्माण सुरु गर्दा अवरोध भएको भए त्यसको विकल्पका बारेमा समेत सरकारले सोचिरहेको व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीले बताएका थिए ।






























