नेपालगन्जका बडी बिल्डर सिद्धान्त जसरोटियालाई प्रसिद्ध ‘धर्मश्री’ उपाधी प्रदान गरिएको छ । राष्ट्रिय रूपमा बडी बिल्डर्सहरूको प्रतिस्पर्धाबाट प्राप्त हुने उक्त उपाधी लिएर घर फर्किएका सिद्धान्तलाई सोमबार नेपालगन्ज विमानस्थलदेखि उनको घरसम्म भव्य स्वागतसम्मान गरिएको छ ।
राजधानी काठमाडौं स्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा शनिबार भएको धर्मश्री प्रतियोगितामा ६ सय बढी प्रतियोगी बीच तौल समूहमा सिद्धान्त प्रथम भएका हुन् । ६ तौल समूहको विभिन्न प्रतिस्पर्धा मध्ये ६० केजी तौल समूहबाट नेपालगन्ज स्थित बेनी फिट्नेशमा प्रशिक्षणरत सिद्धान्त ओभरअलमा छनोट हुन सफल भए । उनको उपलब्धीलाई नेपालगन्जले गौरव गर्नुपर्ने भन्दै कयौंको संख्यामा विमानस्थल पुगेका नेपालगन्जबासीले स्वागत गरेका हुन् । उनलाई बेनिफिट्नेश परिसरमा भव्य कार्यक्रम बीच उनका अभिभावक, खेलाडी, विभिन्न खेल सम्बद्ध पदाधिकारीहरू र बेनी फिट्नेशकी प्रमुख बिनी टण्डनले विशेष स्वागत सम्मान गरेका थिए ।
त्यसअघि सिद्धान्तलाई धर्मश्री अवार्ड सहित नेपालगन्ज नगर परिक्रमा गराइएको थियो । समग्र प्रतियोगिताको उपाधी उमेश राईले हासिल गरेका थिए । उनले नगद १२ लाख सहित ११ किलोग्रामको ट्रफी, मेडल, चिन घुम्ने अवसर सहित १७औं संस्करणका ‘हिरो’ घोषित भए । उनी १६औं संस्करणका बिजेता पनि हुन् ।
उपविजेताका रूपमा ललित धिमालले नगद ६ लाख र दाङका माधव सुवेदीले नगद ३ लाख सहित तेस्रो स्थान प्राप्त गरेका थिए ।
