नेपालगन्ज उद्योग वाणिज्य संघले बाँकेका स्थानीय तहसँगको साझेदारीमा चैत्र १५ र १६ गते आयोजना गर्न लागेको रोजगार मेला २०८१ का लागि विभिन्न उद्योग तथा रोजगार प्रदायक कम्पनीसँग छलफल गरिरहेको छ । संघका महासचिव समेत रहेका मेला आयोजक समितिका संयोजक भीम रानाभाटका अनुसार, रोजगारीका लागि दक्ष तथा अदक्षसँगै सँगै अर्धदक्ष कामदार समेतलाई रोजगारसँग कसरी जोड्न सकिन्छ भन्नेबारे रोजगारदाता कम्पनीसँग छलफल, परामर्श गरिएको हो ।
‘यसबीच कमसेकम दुई दर्जन रोजगारदाता कम्पनीसँग प्रत्यक्ष संवाद, छलफल गरिएको छ’, मेला संयोजक रानाभाटले दैनिक नेपालगन्जसँग भने, ‘सरकारी निकायसँग गर्ने प्रयाससँगै संस्थागत रूपमा मेला आयोजकका हैसियतले नेपालगन्ज उद्योग वाणिज्य संघले विभिन्न चरणबद्ध छलफल गरिरहेको छ ।’ संघले रोजगार मेला मार्फत रोजगारको खोजीमा रहेकाहरूलाई सम्बन्धित सरोकारवालाहरूसँग पहुँच बिस्तार गर्ने र जनशक्तिको अभावले काममा समस्या परिरहेकाहरूलाई त्यसको परिपूर्तिका लागि पहलकदमी लिने उद्देश्यका साथ मेला आयोजना गरिरहेको जनाएको छ ।
‘आवश्यकताका आधारमा स्थानीय सरकारसँगको साझेदारीमा तालिम, प्रशिक्षण समेतको आयोजना गरेर आवश्यकता परिपूर्ति गर्ने तर्फ पनि हामीले पहल लिइरहेका छौं’, संघका महासचिव रानाभाटले भने । मेला तयारीका लागि निजी क्षेत्रका प्रतिनिधिमूलक संघ, संस्था तथा उद्योग, व्यवसायिक प्रतिष्ठानसँगै सरकारी निकायसँग समेत छलफल परामर्श चलिरहेको मेलाका परामर्शदाता सरोज चौधरीले जानकारी दिए । ‘कसरी मेला मार्फत रोजगारीको व्यवस्थापन प्रभावकारी हुनसक्छ भन्ने कुरामा आयोजक कन्सस छ’, उनले भने ।
यसैबीच, बाँकेका ईट्टा व्यवसायी सँग रोजगार मेलाको सेरोफेरोमा मंगलबार छलफल भएको छ । मेला संयोजक, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव रानाभाट सहितको टोलीले ईट्टा व्यवसायी संघ बाँकेका अध्यक्ष देवबहादुर ओली क्षेत्री, कार्यालय प्रमुख सुर्य पौडेल सहितको टोलीसँग ईट्टा उद्योगमा भए गरेका रोजगारीका सवालबारे छलफल गरिएको हो । भारतीय कामदारको भरमा धानिएको बाँकेको ईट्टा व्यवसाय स्वदेशी कामदारको अभावमा सधैं संकटमा पर्ने गरेको छ । ‘यहाँ उद्योगहरू कामदारको खोजीमा छन्, नेपालीहरू कामको खोजीमा विदेश धाउनु परेको छ’, संघका महासचिव रानाभाटले मेला आयोजनाको उद्देश्यबारे दैनिक नेपालगन्जसँग भने, ‘यही ग्याप फुलफिल गर्न रोजगार मेला आयोजना गरिएको हो ।’
महासचिव रानाभाटले रोजगार मेला तयारी तिव्र रूपमा अगाडि बढेको जानकारी दिंदै स्थानीय सरकारसँगको साझेदारीमा संघले उद्देश्य परिपूर्तिमा सफल हुने विश्वास व्यक्त गरे ।































