स्थानीय सरकारले पर्यटनको समग्र विकासका निम्ति योजना बनाउनु पर्ने कुरामा जोड दिइएको छ । योजनाका आधारमा बजेट माग गर्न प्रदेश तथा स्थानीय सरकारलाई घच्घच्याउनु पर्ने आवश्यकता औंल्याउँदै त्यसअघि निजी क्षेत्रसँग सहकार्य अपरिहार्य रहेको सम्बद्धहरूको भनाइ छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघले बाँकेका सात वटा स्थानीय तहसँगको साझेदारीमा आयोजना गरेको ‘बाँके रोजगार मेला’को दोस्रो दिन आयोजना गरिएको ‘रोजगार संवाद’को पर्यटन बहसमा सहभागीहरूले तीन तहकै सरकारको समन्वयमा पर्यटनको दीर्घकालीन रणनीति बनाउन सुझाव दिए । ‘त्यसको नेतृत्व गरेर तीन तहकै सरकार समन्वयात्मक भूमिका खेल्न नेपालगन्ज उद्योग वाणिज्य संघ तयार छ’, पर्यटन संवादमा आयोजकका तर्फबाट स्रोत व्यक्ति संघका अध्यक्ष टंक बहादुर धामीले भने ।
बाँकेमा पर्यटकीय क्षेत्रको उजागर गर्नेदेखि व्यवसायीकरणमा नेतृत्वदायी भूमिका खेलिरहेको नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले पर्यटनमा सरकारी लगानी पश्चिम आउनै नसकेको टिप्पणी गरे । ‘रूपन्देहीसँग जोडिएको कपिलवस्तुमा लुम्बिनी भएकै कारणले सरकारको दृष्टि पुगेको होला’, पश्चिम क्षेत्रलाई पर्यटन बोर्डले उपेक्षा गरेको गुनासो गर्दै अध्यक्ष सिग्देलले भने, ‘त्यसबाहेक पश्चिमका पर्यटकीय क्षेत्रको सूचिसम्म पनि सरकारी निकायसँग नहोला ।’ उनले स्थानीय सरकारले पर्यटनको महत्व बुझेर लगानी गर्नुपर्ने सुझाव दिंदै बाँकेमा पर्यटकीय सम्भावनाका दृष्टिले अत्यन्तै उर्बर गन्तव्यहरू रहेको औंल्याए ।
हान बाँकेका वरिष्ठ उपाध्यक्ष केशव न्यौपानेले जनप्रतिनिधिले पर्यटन भनेको मठ, मन्दिरको विकास मात्रै बुझ्दा वास्तविक पर्यटनका क्षेत्रमा लगानी आउनै नसकेको बताए । ‘मन्दिर, मस्जिदमा लगायतका धार्मिक प्रतिष्ठानमा गरिने लगानीलाई अलग गरेर पर्यटनका लागि छुट्टै बजेट विनियोजन गरिनुपर्छ’, न्यौपानेले भने । उनले पश्चिम नेपालका पर्यटकीय सम्भावनाका बृहत्तर क्षेत्रहरू उजागर नै हुन नसकेको दुखेसो गरे ।
‘मानसरोवर र कैलाश पर्वतबाट निस्किएको जल बगेर कर्णाली नदी बनेको छ, तर त्यही कर्णाली नदीलाई आस्थाको केन्द्रका रूपमा विकास गरिनुको साटो राक्षसी रूपमा चित्रण गरिएको छ’, सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीका निर्देशक न्यौपानेले भने, ‘यो नकारात्मकतालाई चिरेर विश्वकै हिन्दुहरूको पवित्र नदीका रूपमा कर्णाली विकसित हुन सक्ने सम्भावनालाई ध्यान दिन आवश्यक छ ।’ संवादमा अनुसन्धानकर्ता रूपमा सहभागी प्राध्यापक हरि सुवेदीले योजनाबद्ध ढंगले पर्यटनमा लगानी हुन नसकेको औंल्याउँदै उपलब्धीमूलक पर्यटकीय लगानीको आवश्यकतामा जोड दिए ।
पर्यटन कार्यालयका निमित्त प्रमुख टंकराज खनालले पर्यटन व्यवसाय मार्फत रोजगारी सिर्जना गर्न सरकारले गरिरहेका प्रयास प्रस्तुत गरे । उनले सरकार पूर्वाधारमै केन्द्रित रहेको तथ्यांक प्रस्तुत गर्दै बाँकेमा मात्रै ७८ वटा सानाठूला पर्यटकीय पूर्वाधारमा लगानी गरिरहेको बताए ।
राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले बाँके निकुञ्जसँग समन्वय गरी पर्यटन आगमनको वातावरण बनाउन पालिका प्रयासरत् रहेको सुनाए । उनले पर्यटकीय क्षेत्रहरूको पहिचान गर्दै त्यसको विकासका लागि गुरुयोजना बनाउने आफ्नो सोंच पनि प्रस्तुत गरे ।
नेपालगन्ज उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार समेत रहेका पत्रकार शंकर खनालले सहजीकरण गरेको कार्यक्रममा संघका एशोसिएसट सदस्य कमल कार्कीले स्वागत गरेका थिए ।
