इस्लाम धर्मावलम्बीहरूले आज सोमबार इद–उल–फित्र (ईद) पर्व मनाउने भएका छन् । आइतबार साँझ चन्द्रमा देखिएपछि आजका लागि ईद सुनिश्चित भएको हो ।
हाजी मोहम्मद सरिफ बागवानले आज विपीचोक स्थित ईदगाहमा ठिक आठ बजे सामूहिक नमाज हुने जानकारी दिएका छन् । ईदको अवसरमा आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ । गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले सूचना जारी गरेर आज सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।
एक महिनासम्म चलेको महान पर्व ‘रमजान मुबारक’ आइतबार समापन भएको हाजी मो. सकिल कादरीले बताएका छन् । रमजानमा एक महिनासम्म इस्लाम धर्मावलम्बीहरूले दिनभर निराहार व्रत बसेपछि आइतबार त्यसको समापन भएको उनले जानकारी दिए ।
रोजा बस्न मुसलमानहरूले उर्दू पात्रोअनुसार सूर्योदय हुनुभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नुअगावै खानेकुरा खाई प्रारम्भ हुने र बेलुकाको नमाज (मगरिब)को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ ।
रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि आहार लिने परम्परा रहेकोछ ।
रमजान उर्दू पात्रोअनुसार हिजरी संवत्को नवौँ महिना हो । रमजान महिनामा मुसलमानहरूको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास इस्लामिक धर्मावलम्वीहरूको छ ।
अशक्तलाई दान दिनु, गरिब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो ।
इदउलफित्र
‘इदउलफित्र’को दिन कोही मस्जिदमा, कोही ‘इदगाह’मा मुस्लिमहरू सामूहिक भेला भएर दुई रिकात नमाज पढेर यो पर्व सम्पन्न गर्छन् ।
नमाज पूरा गरेपछि एकले अर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा गएर विभिन्न मिष्ठान्न परिकार खाने गर्छन् । रमजान महिना उर्दू पात्रोअनुसार नवौँ महिना हो । यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात् ‘इदउलअजहा’ पर्व मनाउने गर्छन् । यसमा आर्थिक अवस्था बलियो भएका अधिकांश मुस्लिम ‘हज’का लागि साउदी अरबको मक्कामदिना जाने गर्छन् ।
फितरा र जकात
रमजान महिनामा प्रत्येक मुस्लिमले जनही एक किलो ७५० ग्राम गहुँको मूल्य बराबर फितराका रूपमा निकाल्नु पर्छ । जुन रकम गरिब र मदरसा (पाठशाला) मा खर्च गर्नुपर्छ । जकात आफूसँग भएका नगद र सुन तथा चाँदीको मूल्य बराबरमा अढाइ प्रतिशत निकाल्नु पर्छ । जकात र फित्तरा संसारभरका मुस्लिमहरूमा लागू हुन्छ ।
तराबी नमाज
रमजान महिनामा मुस्लिमले नियमित रूपमा दिनमा पाँचपटक पढ्ने नमाजसँगै तराबी नमाज (विशेष नमाज) पढ्ने गर्छन् । तराबी नमाज धार्मिकग्रन्थ ‘कुरान’ कण्ठस्त भएका हाफिजले मात्र पढाउन सक्छन् । तराबी नमाज दैनिक २० रिकातको हुन्छ । रोजा व्रत सुरु हुने अघिल्लो दिनदेखि तराबी नमाज सुरु हुन्छ । तराबी नमाजमा जुन दिन ३० पाराको कुरान वाचन सकिन्छ त्यही दिन तराबी नमाज समाप्त हुन्छ । तराबी नमाज पढाउने हाफिजलाई सो दिन मानिसहरूले उपहार दिने चलन छ ।
इदको दिन नयाँ लुगा लगाउने र समुदायमा पाक्ने परिकारका बास्नाले झन् रमाइलो हुने गरेको इस्लामिक धर्मावलम्वी बताउँछन् । “इदको दिन हामी आममानव जातिमा सुख, शान्ति र समृद्धि प्राप्त होस् भनी अल्लाहसँग प्रार्थना पनि गर्छौँ”, उनीहरू भन्छन् ।
