पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियापछि आफूहरू सरकार बनाउने र ढाल्ने खेलमा लागेको स्वीकार गरेका छन् ।
अनेमसंघ (क्रान्तिकारी) लुम्बिनी प्रदेशको सम्मेलन उद्घाटन गर्दै बुधबार कोहलपुरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘काठमाडौँमा सरकार बनाउने र ढाल्ने खेलमा हामीले बढी समय दियौँ । आठ÷दश वर्ष कहिले यता उता अल्मिलियौँ ।’
अध्यक्ष प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि त्याग तपस्या र बलिदान गरेका वर्गलाई छाडेको स्वीकार गर्दै भने, ‘अब कांग्रेस र एमालेको बैशाखी टेकेर नभई आफ्नै खुट्टामा उभिने गरी समीक्षा गरेका छौँ ।’
अध्यक्ष प्रचण्डले राजावादी आन्दोलनको कमान्डर दुर्गा प्रसाईंलाई बनाएर पूर्वराजा ज्ञानेन्द्र शाहले बुद्धि बिगारेको बताए । ‘प्रसाईं जस्तो हावालाई कमान्डर बनाएर ज्ञानेन्द्रले बुद्धि बिगारे,’ उनले भने, ‘राजावादीको कमान्डर पूर्वराजा ज्ञानेन्द्र शाहको प्रिय पात्र दुर्गा प्रसाईंजस्तो हावालाई कमान्डर बनायो । त्यस्तो हावालाई कमान्डर बनाएको छ । प्रसाईंलाई के भन्नु हेर ज्ञानेन्द्रको बुद्धि ! त्यस्तालाई कमान्डर बनाएर के गरेको होला ?’,
त्यसकै परिणाम तीनकुनेमा हिंसा, हत्या र लुटपाट भएको प्रचण्डले जिकिर गरे । कार्यक्रममा उनले आफूहरू तराई मधेस जागरण अभियानमा गएको बेला मौका छोपेर राजावादीहरू सलबलाउन थालेपछि त्यसको प्रतिकार गर्न काठमाडौँ फर्किएको उनले जिकिर गरे ।
‘हामी मधेस झरेको मौका छोपेर गणतन्त्रविरुद्ध राजावादीहरू सलबलाउन थाले । बयलगाडाले गणतन्त्र संरक्षण गर्न सक्दैन भनेर हामीले काठमाडौँमा विरोध प्रदर्शन ग¥यौँ । हामीले भव्यरुपमा विरोधसभा सम्पन्न भएकोमा विश्व नै चकित भएको छ’, उनले भने ।
नेपालको महिला आन्दोलन विश्वकै लागि प्रेरणा
अध्यक्ष प्रचण्डले नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र नभई विश्व राजनीतिमै प्रेरणाको स्रोत बनेको बताए ।
हिजो जनयुद्धको बेलामा महिला सहभागिता बढाउन सकिएन भने क्रान्ति सफल हुँदैन भन्ने मान्यताका साथ महिला सहभागिता बढाइएको र नेतृत्वदायी भूमिकामा अघि बढाइएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने ‘नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र होइन, संसारभरिका महिलाका लागि प्रेरणा र उर्जाको स्रोत बनेको छ ।’
जनमुक्ति सेनाको झण्डै ४० प्रतिशत संख्या महिला रहेको स्मरण गर्दै उनले महिला कमाण्डरले नेतृत्व गरेका सबै लडाई जितिने गरेको पनि स्मरण गर्नुभयो । उहाँले हिजो क्रान्तिको नेतृत्व र रक्षा गर्ने महिलाहरुले अब फेरि समाजवादी क्रान्तिको नेतृत्व गर्ने बेला आएको बताए ।
‘महिलाहरु चुलो चौकाबाट निस्केर बन्दुक बोकेर युद्ध मोर्चामा जान तयार नभएको भए आजको राजनीतिक परिवर्तन सम्भव थिएन’– अध्यक्ष प्रचण्डले भने, ‘यो नेपालसहित संसारभरिकै समानता पक्षधर श्रमजीवी जनताका लागि उर्जाको स्रोत बनेको छ ।’






























