काठमाडौँ, १ जेठः सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्रलगायत कागजात किर्ते गरी नक्कली बनाउने गिरोहका तीन जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको तारकेश्वर नगरपालिका-७ फुटुङबाट उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले नक्कली कागजात बनाउने गोरखाको भीमसेन गाउँपालिका-१ मसेलकी ४६ वर्षीया अञ्जनी बयलकोटी, ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका-७ का २८ वर्षीय निर्मल खड्का र मकवानपुरको कैलाश गाउँपालिका-२ छ्याङ्ढुङका २३ वर्षीया अञ्जु खत्रीलाई किर्ते कागजातसहित पक्राउ गरेको हो । निजहरूलाई आवश्यक कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको कार्यालयका प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेकी बयलकोटीले आठ वर्षदेखि सरकारी तथा गैरसरकारी कार्यालयका कागजात, विभिन्न स्थानीय तहको सिफारिस पत्र, विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्र, जग्गाधनी पुर्जा, सवारीचालक अनुमतिपत्रलगायत कागजात किर्ते गरी प्रयोग तथा प्रचलनमा ल्याउने गरेको अनुसन्धानबाट खुलेको छ । निजले फुटुङमा कोठा भाडामा लिई नक्कली कागजात डिजाइन गर्न दुई जना सहयोगीलाई मासिक रु १० देखि रु १५ हजारसम्म तलब दिई कार्यालय सञ्चालन गरेकी पाइएको प्रहरीले जनाएको छ । बैंकबाट ऋण लिने प्रयोजनार्थ नक्कली जग्गाधनी पुर्जा बनाइदिने गरेको अनुसन्धानबाट खुल्न आएको प्रवक्ता आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेकाहरूले विद्यार्थी भिसामा जापान जानेहरूका लागि सहकारी संस्थाका ‘स्टेटमेन्ट’समेत बनाएर कुरियरमार्फत पठाउने गरेका पाइएको छ । उनीहरूले विभिन्न शैक्षिक संस्था तथा सरकारी कार्यालयका ‘होलोग्राम’हरू आवश्यकताअनुसार उपलब्ध गराउने, जापानलगयत विभिन्न देशमा कामदार भिसामा जानका लागि विभिन्न तहको शैक्षिक प्रमाणपत्र तथा अनुभवपत्र बनाइदिने गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीहरूका साथबाट नक्कली जग्गाधनी प्रमाणपुर्जा, विभिन्न तहका शैक्षिक प्रमाणपत्र, बैंक तथा सहकारीका लेटरप्याड, छाप, कम्प्युटर, प्रिन्टरलगातय सामग्री बरामत गरेको छ । —
नक्कली कागजात बनाउने गिरोह पक्राउ
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
आजदेखि धम्बोझी ब्याडमिन्टन
by
Dainik Nepalgunj
May 2, 2026
कोहलपुरमा तोरकीनको परिचर्चा
by
Dainik Nepalgunj
May 2, 2026
थप १९ चिकित्सकको लाइसेन्स खारेज
by
Dainik Nepalgunj
May 1, 2026
सीमा सुरक्षादेखि ‘डिजिटल’रूपान्तरणमा सशस्त्र प्रहरी
by
Dainik Nepalgunj
May 1, 2026
वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन जारी
by
Dainik Nepalgunj
May 1, 2026