सम्झनामा प्रेमप्रकाश (सन्दर्भ : ९० औँ जन्मजयन्ती)

१. परिचय
म तँको तँमै छु
तिमी हजुर भइसक्यौ
म धुलोको धुलोमै छु
तिमी गजुर भइसक्यौ,
अथवा उजाड र बन्जर ठाउँमा पनि
मैले अथाह पानी देखेको छु
आँसुका टलपल टलपल थोपाहरु भित्र पनि
एउटा विवश जिन्दगानी देखेको छु……
यी र यस्तै रचनाहरूमा कलम चलाउने उज्ज्वल नक्षत्रको परिचय हो प्रेमप्रकाश मल्ल। यिनै प्रेमप्रकाश मल्लको जन्म पश्चिम नेपालको साविक मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल अन्तर्गत रुकुम जिल्लाको मुसिकोट खलंगा स्थित सेरी गाउँमा विक्रम संवत १९९३ साउन ११ गते शनिबारका दिन भएको थियो। आमा विष्णुकुमारी मल्ल र बुवा होम जङ मल्लको जेठा सन्तान प्रेमप्रकाश मल्लको न्वारानको नाम प्रेम जङ मल्ल हो भने अत्यन्त सुशील सन्तोषी र ज्ञानी भएकै आधारमा उनलाई ज्ञानबहादुर समेत भन्ने गरिन्थ्यो। आफ्नो जन्मथलो सेरी गाउँमै बाल्यकाल बिताएका प्रेमप्रकाश मल्ललाई ५ बर्षको उमेरमा श्रीपञ्चमीको शुभमुर्हत पारेर अक्षरारम्भ कार्य सम्पन्न गरिएको थियो ।

पण्डित भूवनेश्वर, स्वामी यमुनान्द गिरी,खप्तड स्वामी श्री सच्चिदानन्द सरस्वती आदि गुरुहरुबाट आफ्नो प्रारम्भिक शिक्षा ग्रहण गरेका प्रेमप्रकाशले वि.सं. २०१० मा १७ बर्षको उमेर पुगेपछि मात्र कक्षा ६ मा भर्ना भई औपचारिक शिक्षाको सुरुआत गरेका थिए । विसं २०२३ मा त्रि.वि. अन्तर्गत महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट दोस्रो श्रेणीमा स्नातक तह उत्तीर्ण गरेका मल्लले प्राइभेट विद्यार्थीका रूपमा नेपाली विषयमा स्नातकोत्तर तहको परीक्षा दिएका थिए तर घरायसी कामकाज र बेफुर्सदीका कारण दोस्रो वर्षको एक पत्रमा अनुत्तीर्ण भएपछि उनको शैक्षिक यात्रा स्नातक तहमै सीमित भएको थियो ।

   आँशुको थोपा थोपामा जीवनको अन्तरमिश्रण भेट्ने प्रेमप्रकाश मल्लका साहित्य सिर्जना गर्ने, धार्मिक कार्यमा सरिक रहने, पत्रपत्रिका एवं विविध साहित्यिक कृतिहरूको अध्ययन गर्ने जस्ता अनेकौं रुचिहरु रहेका छन् । मूलतः आफ्नी ममतामयी आमा विष्णुकुमारी मल्लको असामयिक निधन एवं एक मात्र होनहार छोरो मधुकर जङ मल्लको युवा अवस्थामा भएको मृत्युबाट साहित्यिक लेखनमा प्रेरित भएका प्रेमप्रकाश मल्लमा आंशिकरुपमा  पी़.बी. वेली , लक्ष्मीप्रसाद देवकोटा र माधव प्रसाद घिमिरे जस्ता प्रतिभाशाली साहित्यकारहरुको प्रभाव परेको छ ।

प्रेमप्रकाश मल्लको साहित्य यात्रालाई दृष्टिगत गर्दा २००७ साल फागुनमा ममतामयी आमाको मृत्युबाट पीडित भएपछि आमा शीर्षकको कविता लेखी साहित्यको गोरेटोमा पाइला चालेका प्रेमप्रकाश मल्लको अहिलेसम्मको स्थितिमा मधुकर छोटो जीवनी लामो कहानी , त्यो एउटा अजेय शिखर मधुकर, पञ्चगान, अनुभूतिका स्वरहरु,  सजल, गाउँदागाउँदै , उनी र ओछ्यानबाट अनुभूतिहरू जस्ता कृतिहरू सिर्जना गरिसकेका छन् भने विभिन्न पत्रपत्रिकामा समेत उनको कविता, मुक्तक, गीत,गजलजस्ता रचनाहरु प्रकाशित भएका छन् । काव्य लेखन क्षेत्रलाई सशक्त रूपले अँगालेका प्रेमप्रकाशले विभिन्न लेख, निबन्धहरू पनि लेखेको पाइन्छ। जसमध्ये २०५६ सालमा निस्किएको रत्नश्री त्रैमासिक  पत्रिकाको बैशाख श्रावण अङ्कमा आत्मपरिचय शीर्षकको लेख लेखेका थिए भने नेत्रज्योति स्मारिका ( २०५६ ) मा सम्पादकको आँखा शीर्षकको आफ्नो लेखेको प्रतिनिधित्व गराएका थिए । त्यसैगरी अन्य निबन्ध तथा लेखहरूमा नेत्रज्योति स्मारिकामा प्रकाशित दाता र दान एक दृष्टिकोण, नेपालगन्ज एक्सप्रेसमा प्रकाशित आफ्नै कथा आफ्नै व्यथा लगायतका निबन्ध लेखहरु पनि उल्लेखनीय रहेका छन् । यिनै कृति तथा फुटकर रचनाहरूको सेरोफेरोमा रहेर मल्लका लेखनीको मूल्यांकन गर्नुपर्दा साहित्यकार प्रेमप्रकाश मल्लले नेपाली साहित्यका मुक्तक देखि गीत हुँदै खण्डकाव्य सम्मको विधागत यात्रा तय गरेको पाइन्छ । प्राय: मध्यम खालको लमाइगत आयाम अँगालेर कृतिहरूको रचना गर्न रुचाउने प्रेमप्रकाश मल्लका सिर्जनामा मूलत: वैयक्तिक पीडा र छटपटीहरुलाई काव्यात्मक रुप दिएको पाइन्छ भने आंशिक रुपमा विश्वजनिन पीडा हरुको समेत उठान गरिएको छ । उनका कृतिहरूमा सामाजिक सांस्कृतिक र राजनीतिक विकृति विसंगति हरु प्रतिको असन्तुष्टि अभिव्यक्त भएको हुन्छ नै यसका साथै सिर्जनामा जीवनको शाश्वत  पक्षको खोजी र आदर्श जीवनको परिकल्पना गर्नु पनि उनको काव्यात्मक वैशिष्ट्य हो । 

मानव प्रेम र प्रकृति प्रेम र मातृभूमि प्रेम जस्ता प्रेमगत विविधतालाई आफ्ना रचनाहरूमा स्थान दिएका प्रेम प्रकाश मल्लले प्रकृतिको मानवीकरण र मानवको प्रकृतीकरण दुवै प्रविधिको उपयोग गरेका छन् । थोरैमा धेरै भन्नसक्ने सूत्रात्मक कथनशैलीका धनी प्रेमप्रकाश मल्लका रचनाहरु गीतिलय, मात्रा निकट गद्यलय एवं विशुद्ध गद्य लयको प्रयोग गरी लेखिएका हुन्छन् । पात्र नाम र विषयवस्तुको अन्तर मिश्रणबाट आफ्ना रचनाहरूको शीर्षक कीकरण गर्न रुचाउने प्रेम प्रकाश मल्लले आफ्ना रचनाहरूमा अत्यन्त कम पात्र , मानवीय मानवेतर दुई किसिमका पात्रहरूका साथै प्रायः अनुकूल र स्थिर पात्रको संयोजन गर्न रुचाउछन्। प्रेम प्रकाश मल्लले विविध बिम्ब, प्रतीक र अलंकारहरूको उपयोग गरेर आफ्ना रचनाहरू लेखेका छन् नै यसका साथै अनुप्रासगत विविधता एवं अनुकरणात्मक शब्दहरूको प्रयोग गरी भाषामा सांगीतिकता सिर्जना गर्न उनी रुचाउँछन् । विचलनयुक्त काव्यात्मक एवं माधुर्यगुणयुक्त भाषाको प्रयोग गर्ने प्रेमप्रकाशले मूलतः करुण र अंशतः अन्य रसहरूको उपयोग गरी आफ्ना रचनाहरू रचेको पाइन्छ।

       साहित्य सिर्जनाको क्षेत्रबाहेक गीत संगीतका क्षेत्रमा समेत अविस्मरणीय योगदान पुर्याएका प्रेमप्रकाश मल्लका वनकी म चरी, माछापुच्छ्रे फेवातालमा, आँखैमा हिउँचुली लगायत डेढ दर्जन जति गीतहरु आफ्नै स्वर र संगीतमा रेकर्ड भई रेडियो नेपालबाट समेत बेलाबेलामा प्रसारण हुने गर्दछन् भने माछापुच्छ्रे फेवातालमा, वनकी म चरी, हे राजाजस्ता तीनवटा  गितहरु नेपाल टेलिभिजनबाट पनि प्रसारित भएका छन् ।

यसरी साहित्य सिर्जना गीत र संगीतमा महत्वपूर्ण योगदान पुर्याएका आधारमा प्रेम प्रकाश मल्लले दर्जनौ सम्मान एवं पुरस्कार प्राप्त गरेका छन् जसमध्ये  राष्ट्रिय प्रतिभा पुरस्कार (२०५४), उद्योग व्यापार मेला मध्यपश्चिमाञ्चल विकास क्षेत्र द्वारा सम्मान (२०५७), नेकपा एमाले भेरी अञ्चल समन्वय कमिटीद्वारा अभिनन्दन (२०५८), श्री ५ वीरेन्द्र ऐश्वर्य सेवा पदक (२०५८), नेपाली साहित्य मन्दिरद्वारा सम्मान (२०५९),

राप्ती कलाकेन्द्र सम्मानपत्र (२०५९), छिन्नलता गीत पुरस्कार एवं विशिष्ट सम्मान (२०६०), दर्शन सेवा समाजद्वारा सम्मान (२०६३), जनमत अर्ध साप्ताहिक पत्रिका सम्मान (२०६३), नेपाल सांस्कृतिक संघ सम्मान (२०६३), नेपाल राष्ट्रिय कला मन्दिर पुरस्कार (२०६३), पुष्पलता साहित्यिक संघबाट सम्मान (२०६३) आदि उल्लेखनीय छन् ।

२. सम्झनामा प्रेमप्रकाश
यही एउटा कुरा
सोच्ने गरेको छु
मरीमरी बाँचेको छु
या बाँँचीबाँची मरेको छु।
अथवा
अरु बेलामा
सही थाप्नेहरू
सही थापेर बस्दछन्।
संकटको बेलामा चाहिँ
टाप कस्दछन् ।
जस्ता मर्मस्पर्शी हरफहरूको रचना गर्ने क्षमता भएका प्रेमप्रकाश मल्ल गीत , संगीत र साहित्यका त्रिवेणी हुन् । प्रेमप्रकाश मल्लले नेपाली साहित्यमा जेजति योगदान दिएका छन् ती सबै हरेक नेपाली साहित्यिक मनहरुका लागि प्रेरणादायी र स्मरणयोग्य छन् । आफ्नो १४ वर्षको उमेर आर्थात विसं २००७ सालबाट नै साहित्य लेखनीमा सक्रिय प्रेम प्रकाश मल्लले काव्य फाँटमा मुक्तकदेखि फुटकर कविता, गीत , गजल हुँदै खण्डकाब्य सम्मको यात्रा तय गरेका छन् । नेपाली साहित्यमा माधवप्रसाद घिमिरेको गौरी शोक काव्यको विषयवस्तुसँग सामिप्यता राख्ने लेखन शिल्पसग नजिकिएर खण्डकाव्यको तहमा रोदन काव्यको समेत सृजना गर्ने प्रेम प्रकाश मल्लका संक्षिप्त सुत्रात्मक तर अत्यन्त चोटिला र मर्मस्पर्शी रचनाले हरेकको मन जितेकै छ ।

साहित्यकार तथा समालोचक तोया गौतमले प्रेम प्रकाश मल्लका छोटा कविताहरू एकातर्फ जीवनका तीक्ष्णतम अनुभूतिहरू र सामाजिक विकृति विसंगति हरुलाई बिजुलीका नाङ्गा तारले झैँ हिर्काएर नयाँ आयाम र नयाँ प्रकाश दिन्छन् भने अर्कातर्फ यिनका गीत गजलहरु प्रकृतिमा हराउँदै राष्ट्र राष्ट्रियताको जगेर्ना गर्ने भावले ओतप्रोत छन् भने बाट पनि प्रेमप्रकाश मल्लको लेखनी असाधारण प्रकृतिको थियो भन्ने आधार पुष्टि हुन्छ । त्यसैगरी साहित्यकार एवम् समालोचक कृष्णहरि बरालको प्रेम प्रकाश मल्ल विषयवस्तुलाई आकर्षक शैलीमा प्रस्तुत गर्न सिपालु स्रष्टा हुन् । यिनका अन्य विषयसँग सम्बन्धित रचनाको त के कुरा राजनीतिक विषयवस्तु प्रस्तुत भएका रचनामा पनि भावको मीठो स्पर्श तथा कल्पनाको आकर्षक संगम पाइन्छ यसले गर्दा उनका रचनाहरु हृदयस्पर्शी बनेको मैले पाएको छु भन्ने सार्वजनिक अभिव्यक्तिले पनि प्रेमप्रकाश मल्लको लेखनीलाई उजागर गरेको छ। साहित्य सिर्जनाका क्षेत्रमा जस्तै गायनका क्षेत्रमा समेत प्रेमप्रकाश मल्लको क्षितिज निकै फराकिलो बनेको पाइन्छ । कर्णप्रिय स्वरका धनी एवं आफै गीतहरूमा संगीत भर्न सक्ने क्षमता राख्ने प्रेमप्रकाश मल्लका कतिपय गीतहरु रेडियो टेलिभिजन जस्ता सञ्चारमाध्यमबाट प्रसारण भई श्रोताहरूको मनमा बस्न सफल गीतका रुपमा स्थापित भइसकेका छन् ।

खासगरी पोखरा त साँच्चिकै नै पोखरा नै रहेछ…., बनकी म चरी कल्ले….., म मरे पनि मेरो देश….जस्ता मर्मस्पर्शी गीतहरु एकपटक सुनिसकेपछि ती गीतहरूबाट प्रभावित भएर आफ्ना ओठहरुले गुनगुनाउन बिर्सने श्रोता सायदै भेटिन्छन् । प्रेमप्रकाश मल्लले सिर्जिएका सिर्जनाहरू र उनले लेखेका निबन्ध र लेखहरुभन्दा केही पृथक रहेर स्वयं प्रेमप्रकाश मल्लका बारेमा लेखिएका लेख,शोध र रचनाहरूको स्मरण गर्दा उनको भौतिक शरीर रहँदा वा नरहँदाका समयमा उनीसँग सम्बन्धित विभिन्न किसिमका लेखहरु विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भएकै छन् साथै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ हरि प्रसाद तिमिल्सिनाले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गर्ने प्रयोजनार्थ उनको जीवनी व्यक्तित्व कृतित्वको बारेमा गरिएको शोध स्मरणीय छ। त्यसैगरी स्वयम् प्रेमप्रकाश मल्ललाई काव्यनायक बनाएर त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तह पार गर्ने उद्देश्यले शोधार्थी लेक प्रसाद प्याकुरेलले तयार गरेको शोध समेत उपलब्ध छ भने महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजबाट स्नातकोत्तर तह पास गरेका विद्यार्थीहरुले पनि उनलाई काव्य नायक बनाएर शोध गरेको पाइन्छ । प्रेमप्रकाशद्वारा सिर्जना गरिएका यी र यस्तै रचनात्मक साहित्यिक कोसेलीहरुमा बाँचिरहेका प्रेमप्रकाश मल्ल स्वयं उनकै विषयमा गरिएका शोध र अनुसन्धानात्मक लेखमा पनि जीवन्त बनिरहेका छन् ।

आज उनको भौतिक शरीर यस धर्तीमा नभएपनि उनले सृजना गरेका रचनाहरु र गाएका कर्णप्रिय गीतहरूहरूका माध्यमद्वारा विशेषतः बाँके बासी र सम्पूर्ण नेपालीहरूका मन-मस्तिष्कमा दीगदिगन्त बाँचिरहनेछन्, प्रेरणाको स्रोत बनेर रहिरहने छन् ।

Exit mobile version