उच्च शिक्षामा आफ्नो छुट्टै पहिचान बनाएको आदर्श माध्यमिक विद्यालयले शनिबार कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि एक भव्य उत्प्रेरणा कार्यक्रम आयोजना गरेको छ।
विज्ञान र व्यवस्थापन संकायमा नयाँ शैक्षिक यात्रा सुरु गरेका सयौँ विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रममा उनीहरूको उज्ज्वल भविष्यका लागि आवश्यक मार्गदर्शन प्रदान गरिएको हो।
कार्यक्रममा विषय विज्ञ शिक्षकहरूले प्रेरणादायी मन्तव्य दिँदै विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राका लागि उत्साहित गरेका थिए।
विद्यालयका प्रधानाध्यापक महेश्वर जोशीले विद्यार्थीहरूलाई आगामी शैक्षिक सत्रका सम्पूर्ण कार्यक्रम, नीति-नियम, पाठ्यक्रम तथा आचारसंहिताबारे विस्तृत जानकारी गराए। उनले विद्यार्थीहरू अनुशासित भएर अगाडि बढेमा आदर्श माध्यमिक विद्यालयले उनीहरूलाई ‘आदर्श विद्यार्थी’ बनाउन सक्नेमा जोड दिए।
विद्यालयका एकेडेमिक एडभाइजर प्रकाश लामिछाने, चिफ डाइरेक्टर ईश्वरप्रसाद पोखरेल र संस्थापक डा. राजकुमार सुवेदी लगायतले विद्यालयको शैक्षिक विधि र महत्वबारे विद्यार्थीहरूलाई उत्प्रेरित गरेका थिए।
कार्यक्रमको अर्को आकर्षणका रूपमा कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ का नयाँ विद्यार्थीहरूको स्वागतमा भव्य सांस्कृतिक प्रस्तुति दिएका थिए।
नेपाल पत्रकार महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष सुक्र ऋषि चौलागाईंले पनि कार्यक्रममा आफ्ना विचार राखेका थिए। विद्यार्थीहरूका तर्फबाट मानवी रावलले आफ्ना अपेक्षा र भनाइ प्रस्तुत गरेकी थिइन्।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड, कोहलपुरका शाखा अधिकृत भगवान दास यादवले विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि विद्यालयले खेल्नुपर्ने महत्त्वपूर्ण भूमिकाबारे आफ्ना धारणा व्यक्त गरे।
आदर्श मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय थापाको अध्यक्षतामा भएको भएको कार्यक्रमलाई सहायक प्रधानाध्यापक टंकप्रसाद गौतमले सहजीकरण गरेका थिए।
अध्यक्ष थापाले विद्यार्थीहरूको अध्ययन क्षमताका आधारमा छात्रवृत्ति प्रदान गरिने र यसले विद्यार्थीहरूलाई प्रतिस्पर्धी बनाउनुका साथै छात्रवृत्तिका लागि कुनै ‘सोर्स फोर्स’ को आवश्यकता नपर्ने स्पष्ट पारे। यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूलाई शैक्षिक मार्गमा अगाडि बढ्न थप हौसला प्रदान गर्ने विश्वास लिइएको कार्यक्रममा सहभागी अन्य विभिन्न बिद्यालयका शिक्षक तथा अभिभावकले प्रतिक्रिया दिए।





























