भेरी अस्पताल नेपालगन्जमा पछिल्ला बर्ष क्रमशः बिरामीको संख्या बढ्दै गएको छ । अस्पताल उपचार सेवामा भैरहेको वृद्धि र प्रविधिको प्रयोगका कारण बिरामीहरूको चाप बढ्दै गएको हो । अस्पतालले धान्न नसक्ने अवस्थामा बिरामी पुग्ने गरेपछि अस्पतालमा बेड नपाएर कतिपय बिरामी अन्यन्त्र जानु पर्ने अवस्था छ । सरकारी अस्पताल भएकाले सहुलियतमा उपचारका लागि पुग्ने इमरजेन्सीका बिरामीहरू फर्किने गरेका हुन् ।
भेरी अस्पताल नेपालगन्जको वेभसाइटका अनुसार, सोमबार मात्रै ९ सय ९६ जनाले ओपिडि सेवा लिएका छन् भने इमरजेन्सीमा १ सय ३ र भर्ना हुनेको बिरामीको संख्या ५१ जना रहेको छ । अस्पतालमा ओपिडि सेवा लिने मध्ये ३ सय ५५ पुरुष र ६ सय ४१ जना महिला रहेका छन् । अस्पतालमा सोमबार मात्रै २ हजार ३ सय ५ जनाको ल्याब परीक्षण भएको छ भने २ सय २६ ले एक्सरे सेवा लिएका छन् ।
अस्पतालले ओपिडि, इमरजेन्सी मात्रै होइन सरकारले प्रवाह गर्ने अन्य स्वास्थ्यका सेवाका कार्यक्रमहरू पनि निरन्तर दिइरहेको छ । निजी अस्पतालले बीमा सेवा कार्यक्रम बन्द गर्दा, भेरीले त्यसको व्यवस्थापन आफ्नो क्षमताले भ्याएसम्म गरेको छ । त्यसैले पनि अस्पताल संघीय अस्पतालहरूमा उत्कृष्ट हुँदै आएको छ । गत असार अन्तिम सम्म भेरी अस्पतालले १६ करोड रूपैयाँ बढी बीमा उपचारको पैसा सरकारबाट प्राप्त गर्न बाँकी रहँदा पनि जेनतेन बीमा कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । यद्यपि, त्यसले अस्पताल व्यवस्थापन समितिलाई खर्च धान्न समस्या भैरहेको बताइन्छ । बीमा रकम भुक्तानी नहुँदा अस्पतालले सप्लायर्सहरूलाई पैसा दिन सकिरहेको छैन ।
अस्पतालले बिरामीको विश्वास आर्जन गरिरहँदा बढेको बिरामीको चाप भने थेग्न सकेको छैन । ओपीडी र इमरजेन्सीमा पुग्ने बिरामीको चाप थेगिनसक्नु रहेको छ । इमरजेन्सी बेड र अपरेशनका लागि निकै लामो समय कुर्नु पर्ने अवस्थाले भेरी अस्पताल पुगेका बिरामी अन्यत्र पुग्नु पर्ने अवस्था रहेको छ ।
अस्पताल व्यवस्थापनले पटकपटक थप भौतिक पूर्वाधार र जनशक्ति आवश्यक औंल्याउँदै पहल गरिरहेको अस्पताल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाह बताउँछन् । उनी व्यवस्थापन समितिबाट समेत स्वास्थ्य सेवा प्रभावकारी बनाउन उपलब्ध हुने आर्थिक स्रोत त्यही खर्च गरिरहेको बताउँछन् ।
हुनपनि भेरी अस्पताल नेपालगन्जमा बाँकेमा पश्चिमका २४ जिल्लाका बिरामीहरू उपचारका लागि आउने गरेका छन् । त्यसैले अस्पतालमा पूर्वाधार र जनशक्ति अझै थप्न आवश्यक रहेको अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष शाह बताउँछन् ।
भेरी अस्पताल नेपालगन्ज नेपालगन्जमा बिरामीको संख्या बढ्दै गएको तथ्यांकले देखाउँछ । गत आर्थिक बर्ष २०८१÷०८२ मा १ लाख ६६ हजार ४ सय ७६ जनाले ओपिडी सेवा अस्पतालबाट लिएका थिए । इमरजेन्सी सेवा ३५ हजार ३ सय ३९ ले लिएका थिए । जुन अघिल्लो आर्थिक बर्षको तुलनामा वृद्धि भएको हो ।
अस्पतालले आर्थिक बर्ष २०८०÷८१ मा १ लाख ६१ हजार ४ सय ५५ जनालाई ओपिडि सेवा दिएको थियो । उक्त आ.व.मा इमरजेन्सीमा सेवा लिने बिरामीको संख्या २८ हजार ५ सय ७५ रहेको अस्पतालको तथ्यांक रहेको छ । भेरी अस्पतालले आ.व. २०७९÷०८० मा १ लाख ४० हजार ६ सय ९० लाई ओपिडी, २८ हजार ५ सय ७४ लाई इमरजेन्सी सेवा प्रदान गरेको थियो ।
अस्पतालमा आर्थिक बर्ष २०८१÷०८२ मा मेजर अपरेशन ३ हजार ३ सय ९९ वटा, २०८०÷०८१ मा मेजर अपरेशन २ हजार ८ सय ६०, आर्थिक बर्ष २०७९÷८० मा २ हजार ४ सय ८१ मेजर अपरेश भएको तथ्यांक रहेको छ ।
भेरी अस्पताल नेपालगन्जका सेवा वृद्धि हुँदै गएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदी बताउँछन् । ‘गत आर्थिक बर्षमा एमडीको कार्यक्रम सुरु भएको छ’, उनले अस्पतालका उपलब्धीहरूबारे जानकारी दिंदै भने, ‘सिकलसेल र थालेसिमियाको बिरामीका लागि छुट्टै ६ शैय्याको वार्ड, १० शैय्याको भर्ना वार्ड सञ्चालनमा ल्याएका छौं ।’ अस्पतालमा नवजात शिशुको सिकलसेल एनिमिया र थालेसिमिया जाँच गर्ने मेसिन जडान गरिएको छ ।
गत आर्थिक बर्ष भेरी अस्पतालमा ज्येष्ठ नागरिकका लागि १० शैय्याको वार्ड, जलनका बिरामीहरूका लागि ६ शैय्याको जलन वार्ड, नयाँ शल्यक्रिया कक्ष सञ्चालनमा आएको छ मेसु सुवेदीले जानकारी दिएका छन् । जनरल र अर्थोपेडिक गरेर ८÷८ शैय्याको पोष्टअप वार्डको सुरुवात गरेको उनले बताए । ‘नयाँ अर्थोस्कोपीक टावर र इन्डोस्कोपीक स्पाइन सर्जरी उपकरण जोडेर प्रविधिको प्रयोग गरी अपरेशन सुरु गरिसकिएको छ’, मेसु सुवेदीले भने । ‘स्त्रीरोग विभागलाई ६ शैय्याबाट १२ शैय्याको बनाइएको छ’, उनले भने ।
‘मृर्गौला प्रत्यारोपण सेवा सुरु भएको छ’, अस्पतालका मेसु सुवेदीले भने । अस्पताल विकास समिति ऋणात्मक थियो भने अहिले पाउनु पर्ने बढी रहेको उनले जानकारी थिए ।
आज १३५औं बार्षिकोत्सव
भेरी अस्पताल नेपालगन्जले आज १३५औं बार्षिकोत्सव मनाउँदैछ । वि.सं. १९४७ सालमा पृथ्वी–वीर डिस्पेन्सरीको रूपमा स्थापना भएको भेरी अस्पताल नेपालगन्ज अस्पताल २०१६ सालमा पृथ्वी–वीर अस्पताल रत्नराज्य लक्ष्मीदेवी प्रसूति गृह हुँदै २०२२ सालमा भेरी अञ्चल अस्पतालका रूपमा परिणत भएको थियो। आज बिहीबार भेरी अस्पताल १३५ औं स्थापना दिवस मनाउन लागेको हो ।
समयसँगै अस्पतालमा बिरामी बढ्दै गएपनि अपेक्षित रूपमा सेवा थप्न नसकेको अस्पतालले विगत केही बर्षदेखि योजनाबद्ध ढंगले योजना बढाएर अघि बढेको छ । चाहे त्यो अस्पतालबाट उपलब्ध हुने सेवा होस् वा पूर्वाधार, उपकरण र जनशक्ति । अस्पतालले आम नागरिकको विश्वास मात्रै जित्दै गएको छैन त्यसलाई बढाउन र कायम राख्नका लागि स्तरोन्नती पनि गर्दै आएको छ ।






























