जुनबेला यो पङ्तिकारले बाँके जिल्लालाई आधार क्षेत्र बनाएर मध्यपश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चलका लागि पत्रकारिता गर्न थाल्यो, त्यसबेला औंलामा गन्न सकिने एकदमै सीमित सामाजिक संस्थाहरु बाँके जिल्लामा क्रियाशील थिए । ती संस्थाहरु साञ्चिकै समाज सेवा र मानव सेवाको भावनाबाट ओतप्रोत थिए । सोही क्रममा बाँके जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको स्थानीय सक्रिय अगुवा महिलाहरुबाट स्थापना भएको सामाजिक संस्था हो- नारी विकास केन्द्र ।
तत्कालीन समयमा केन्द्रीय स्तरमा गठन भएका सबैजसो सामाजिक संस्थाहरुको संरक्षक तत्कालीन शाहवंशीय राजा, अधिराजकुमार, अधिराजकुमारी, शाहज्यादीहरु हुने गर्दथे । र राज परिवारका सदस्यहरुबाट संरक्षकत्व प्राप्त ती सामाजिक संस्थाहरुलाई स्वाभाविक रुपमै त्यसबेलाका शक्तिशाली प्रशासन यन्त्र (तत्कालीन अञ्चलाधीश, प्रमुख जिल्ला अधिकारी लगायत) बाट आवश्यक सहयोग (नैतिक, भौतिक, आर्थिक लगायतका सहयोग) प्राप्त हुने गर्दथ्यो । तर, स्वर्ण महोत्सव मनाउने तयारी गरिरहेको २०३२ सालमा स्थापना भएको नारी विकास केन्द्रले भने राजपरिवारको संरक्षण बिना नै नागरिक स्तरबाटै स्थानीय तह र सहयोगीहरुको सहयोगमा आफ्नो भवन बनाउन सफल भएको थियो । जबकी तत्कालीन राजपरिवारका सदस्यहरुको संरक्षणमा केन्द्रीय स्तरमा स्थापना भएको नेपाल रेडक्रस सोसाइटी, नेपाल परिवार नियोजन संघ र नेपाल बाल संगठन अन्तर्गतको बाल मन्दिरको भवन परिसरकै छेउँमा नारी विकास केन्द्रले पनि ठुलो हल समेतको भव्य भवन बनाउन सफल भयो । यद्यपि शुरुको वर्षमा तत्कालीन अञ्चलाधीश ऋतुवर्ण तुम्बाहाम्फेको नारी विकास केन्द्र प्रति सकारात्मक सहयोग रहेको थियो ।
नेपालका प्रथम रक्तदाता एवं समाजसेवी दयावीरसिंह कंसकारले मानव कल्याणकारी सामाजिक संस्थाको रुपमा विक्रम सम्वत् २००४ साल असोज १० गतेका दिन गैरनाफामूलक लोककल्याणकारी सामाजिक संस्थाको रुपमा ‘परोपकार संस्था’ स्थापना गर्नुभएको थियो । यो नै नेपालको राष्ट्रिय स्तरको जेठो ऐतिहासिक संस्था परोपकार संस्था ‘परोपकार संस्था’ हो यो संस्थाको जन्मदाता स्वर्गीय दयावीरसिंह कंसकार हुनुहुन्छ, जो नेपालका पहिलो स्वयम्सेवी रक्तदाता पनि हुनुहुन्छ । रगतको अभावमा छट्पटिएका बिरामीलाई तत्काल रगत उपलब्ध गराउनका लागि रक्तदान गर्नु पर्छ भन्ने जनचेतना तत्कालीन सरकारको कुनै सोंच थिएन । हो, यस्तै अवस्थामा वि.सं.२००० सालमा दयावीरसिंहले वीर अस्पतालमा मृत्युशैयामा छट्पटाइरहेका रत्नकाजी तुलाधरका लागि नेपालकै इतिहासमा पहिलो पटक रक्तदान गरेको इतिहासको पानामा स्वर्ण अक्षरले लेखिएको छ । त्यपछि २०११ सालमा क्षयरोग नियन्त्रण, रोकथाम तथा क्षयरोगसंग सम्बन्धित जनचेतना जगाउने उद्देश्यले स्थापित नेपाल क्षयरोग निवारण संस्था स्व. मातृका प्रसाद कोइरालाको नेतृत्वमा स्थापना भएको नेपालको दोस्रो जेठो सामाजिक संस्था हो । यो संस्थाको संरक्षक भने स्वर्गीय राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेव हुनुहुन्थ्यो ।
यो पङ्तिकारलाई सामाजिक संस्थाको चर्चा गर्नुपर्दा यो पनि उल्लेख गर्नु सान्दर्भिक लाग्यो कि गैरसरकारी संस्था महासंघ नेपालका तत्कालीन महासचिव राघवराज रेग्मीको विशेष उपस्थितिमा नारी विकास केन्द्रकै सभाकक्षमा स्थानीय गैससकर्मीहरुको सहभागितामा गैसस महासंघको सम्बन्धमा अभिमुखीकरण गोष्ठीको आयोजना गरिएको थियो । मलाई सम्झना छ कि महासंघको बाँके बर्दिया जिल्लाको फोकल पर्सनको रुपमा जिम्मेवारी पाएको यस पङ्तिकारको अध्यक्षतामा २०३६ सालमा सम्पन्न उक्त गोष्ठीमा केन्द्रकी तत्कालीन अध्यक्ष रिना तुलाचन, विश्व हिन्दू महासंघका तत्कालीन अध्यक्ष कृष्ण गोपाल टण्डन, पूर्व मुख्यमन्त्री बेस, दाङका तत्कालीन अध्यक्ष डिल्ली चौधरी, वरिष्ठ समाजसेवी नेपाल रेडक्रस सोसाइटीका तत्कालीन सभापति खेमराज श्रेष्ठ र सुश्री नर्वदा शर्मा, सनत कुमार रेग्मी लगायत दर्जनौको संख्यामा स्थानीय वरिष्ठ तथा चर्चित सामाजिक कार्यकर्ताहरुको सहभागिता थियो ।
सामान्यतयाः दीनदुःखी, असहाय, महिलाहरुको लागि र मानव कल्याणकारी कार्यको लागि नारी विकास केन्द्रका पदाधिकारी तथा कार्यकर्ताहरुले निःस्वार्थ भावनाबाट स्वतःस्फुर्त रुपमा सहयोग गर्ने गर्दथे । यो पङ्तिकारले शुरुका केही वर्ष (२०४० को दशकसम्म) असहाय, गरीब तथा अनाथ विशेषगरेर पीडित महिला विरामी वा अस्वस्थ अवस्थामा रहेका महिलाहरुलाई जात, लिङ्ग, समुदाय, क्षेत्र, वर्ग आदि कुनै पनि भेदभाव बिना सम्भव भएसम्म तत्कालीन अवस्थामा नेपालगन्ज् स्थित एक मात्र अस्पताल भेरी अस्पतालमा र सम्भव नभए छिमेकी मुलुक भारतको लखनऊका अस्पतालमा औषधि उपचार गर्न लगेर निको गराएर फर्काइएका थुप्रै समाचार सम्प्रेषण गरेको सम्झना अहिले पनि ताजै छ । यस्तो मानवीय काममा तत्कालीन अवस्थामा संस्थापक अध्यक्ष रिना तुलाचन, स्वर्गीय पूर्णवति शेरचन, स्वर्गीय गीता राणा, स्वर्गीय अम्बिका राणा, वरिष्ठ समाजसेवी श्रीमती कमल राणा, स्वर्गीय सुश्री नर्वदा शर्मा, कुन्ती राना, रमा थापा, मीना श्रेष्ठ, शिला शाह, सुश्री शान्ति श्रेष्ठ, स्वर्गीय ज्योति शाही लगायत वरिष्ठ महिला समाजसेवीहरुको सक्रिय संलग्नता देखिन्छ । वास्तवमा ‘परोपकार, मानव सेवा र समाज सेवा’ भनेकै यस्तै उद्देश्य र भावनाबाट प्रेरित हुनुपर्छ ।
पश्चिम नेपालमै यति सक्रिय महिलाहरुको नेतृत्वमा रहेको पृथ पहिचान बनाएको संस्था करबि १५ वर्षको अवधिसम्म निस्कृृय नै रह्यो । यहाँसम्म कि संस्थाको नवीकरणसम्म हुन सकेन र बेवारिसी अवस्थामा अलपत्र रह्यो । केही वर्षसम्म त यो संस्थाको भवन सशस्त्र प्रहरीको नेपालगन्ज बेस क्याम्पको रुपमा उपयोग गरेको थियो । वि.सं. २०७५ साल पछि जब सक्रिय सामाजिक कार्यकर्ता मीना श्रेष्ठ केही वर्षको अमेरिकाको बसाई त्यागेर नेपालगन्ज फर्कनु भयो, त्यसपछि यो संस्थाले पुनर्जीवन पाउन सक्यो । २०३६ सालमा नारी विकास केन्द्रमा आवद्ध भएर समाज सेवामा सक्रिय हुन प्रेरित श्रीमती श्रेष्ठको अग्रसरतामा उहाँकै नेतृत्वमा पुनर्गठन भएको नयाँ समितिबाट नियमानुसार संस्थाको नवीकरण गरियो, जीर्ण हुँदै गएको भवनको मर्मत सम्भार जीर्णोद्धार गर्ने काम र पुरानै अवस्थामा संस्थालाई चलायमान बनाउन सफल भयो । नेपालकै दोस्रो जेठो सामाजिक संस्था नेपाल क्षयरोग निवारण संस्था, नेपालगन्ज जेसीज (नेपालगन्ज जेसीजको इतिहासमा एक मात्र महिला अध्यक्ष) लगायतका संस्थामा सक्रिय श्रीमती श्रेष्ठकै नेतृत्व र त्यसपछि शीला शाहकाे नेतृत्वमा हालसम्म धेरै उल्लेखनीय गतिविधिहरु सञ्चालन भएका छन् ।
वि.सं. २०७९ सालमा जब प्रदेश सभाको निर्वाचन भयो, उक्त निर्वाचनमा राजनीतिमा पनि सक्रिय श्रीमती श्रेष्ठ लुम्बिनी प्रदेश सभासद्मा निर्वाचित भएपछि अर्का वरिष्ठ समाजसेवी शीला शाहलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनु भएको छ । अहिले नारी विकास केन्द्रले आफ्नो स्वर्ण महोत्सव भव्य रुपमा मनाउँदैछ । यस अवसरमा केन्द्रको उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । ०००
मिति : साउन २४, २०८२
(लेखक चुके बाँके जिल्लामा २०३१ साल फाल्गुनदेखि निरन्तर पत्रकारितामा क्रियाशील तथा जनमत अद्र्धसाप्ताहिकका सम्पादक एवम् २०३९ सालदेखि सामाजिक क्षेत्रमा कार्यरत छन् । –सम्पादक)






























