मंगल प्रसाद महिला कलेज उच्च शिक्षाको भरोसायोग्य केन्द्र बन्दै आफ्नो महिलामैत्री आधारस्तम्भ बलियो बनाइरहेको छ ।
समुदायको निरन्तर मागलाई सम्बोधन गर्दै नेपालगन्ज उपमहानगरपालिकाको लगानीमा स्थापना भएको सामुदायिक महिला कलेज छोटो समयमै सुरक्षित, सुनिश्चित र महिलामैत्री उच्च शिक्षाको उत्कृष्ट केन्द्रका रूपमा स्थापित भएको छ ।
नेपालगन्जस्थित मंगल प्रसाद माध्यामिक विद्यालय परिसरमा स्थापित सामुदायिक महिला कलेज विशेषगरी सीमान्तकृत, दलित, आदिवासी, मुस्लिम, मधेसी र विपन्न परिवारका छोरीहरूका लागि शिक्षा सस्तो, सहज र गुणस्तरीय बनाउन विशेष व्यवस्थासहित सञ्चालनमा ल्याइएको हो ।
समुदायको मागलाई सम्बोधन गर्ने आफ्नो प्रतिबद्धता कार्यान्वयन गर्दै तत्कालिन नगर प्रम्ख डा. धवल शम्शेर राणाले मंगल प्रसाद महिला कलेजको अवधारणा अघि बढाएका थिए । नेपालगन्जको यो एकमात्रै सामुदायिक महिला कलेजले छोटो समयमै महिला शिक्षाको क्षेत्रमा नयाँ आशा जगाएको सम्बद्ध अभिभावकको भनाइ छ ।
२०७९ असोज ५ गते पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यता प्राप्त कलेजले सुरुवाती चरणमा बिबिएस र चार वर्षे बिएड कार्यक्रम सञ्चालन गरेको थियो भने, वि.सं. २०८० देखि बिसिए पनि सुरु गरेको जनाएको छ । ‘हाल कलेजमा बिसिएको दोस्रो र चौथो सेमेष्टर, बिबिएसको तेस्रो वर्ष, र बिएडको तेस्रो वर्षसम्म पढाइ भइरहेको छ,’ कलेज प्रमुख रविन्द्र कुमार कर्णले भने ।
क्लेज प्रमुख कर्णका अनुसार, कलेजमा आदिवासी, दलित, थारु, मधेसी, मुस्लिमसहित विभिन्न समुदायका करिब दुई सय विद्यार्थी अध्ययनरत छन् । ‘कलेजको मुख्य उद्देश्य भनेकै महिलालाई सस्तो, सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्दै उनीहरूलाई सक्षम र आत्मनिर्भर बनाउनु हो,’ प्राचार्य कर्णले दैनिक नेपालगन्जसँग भने ।
छात्रवृत्तिको पहुँच
कलेजले दिएको जानकारी अनुसार, गत वर्षदेखि १६ जना विद्यार्थी पूर्ण छात्रवृत्तिमा पढिरहेका छन् । यसमध्ये १२ जना बिसिए विद्यार्थी रहेका छन् । ‘साथै बिबिएस र बिएडमा पनि केही छात्राले पूर्ण छात्रवृत्ति पाएका छन्,’ कलेज प्रमुख कर्णले भने, ‘यसबाहेक व्यक्तिगत स्तरमा पनि १०–१२ जनाले छात्रवृत्ति पाएका छन् ।’ कलेजका शिक्षकहरूले समेत आर्थिक रूपमा कमजोर र जेहेन्दार छात्राहरूलाई सहयोग गरेका छन् ।
कतार च्यारिटीले मुस्लिम समुदायका छात्राहरूका लागि विशेष छात्रवृत्ति प्रदान गरिरहेको जानकारी गराउँदै कलेज प्रमुख कर्णले यस वर्ष लायन्स क्लबबाट पनि छात्रवृत्ति दिने प्रक्रिया अघि बढाइएको बताए ।
सस्तो शुल्क, भरपर्दो शिक्षण
मंगल प्रसाद सामुदायिक महिला कलेजलाई जिल्लामा सबैभन्दा सस्तो शुल्कमा पढ्न सकिने कलेज मानिन्छ । ‘उदाहरणका लागि, बिबिएस पढ्न वार्षिक शुल्क मात्र ९ हजार ३ सय रुपैयाँ (विश्वविद्यालय शुल्क बाहेक) तोकिएको छ,’ प्राचार्य कर्ण भन्छन्, ‘बिबिए चार वर्षे कार्यक्रमको कुल शुल्क १ लाख ८० हजार रुपैयाँ रहेको छ । विश्वविद्यालय शुल्क पनि वार्षिक ४–५ हजार रुपैयाँ मात्र लाग्ने हुँदा यहाँको शिक्षालाई सर्वसुलभ मानिन्छ ।’
कलेजसँग छात्रावास, ठूलो क्लासरुम, क्यान्टिन, जेनेरेटरलगायत भौतिक पूर्वाधार उपलब्ध छन् । शिक्षण गुणस्तर उच्च बनाउन कलेजले विज्ञ र अनुभवी शिक्षक मात्र नियुक्त गरेको प्राचार्य कर्णले स्पष्ट पारेका छन् ।

‘यो कलेज नाफामुखी होइन, बरु गरिब, सीमान्तकृत र जेहेन्दार छात्राहरूको भविष्य निर्माण गर्ने सामुदायिक शिक्षा अभियान हो,’ कलेज प्रमुख कर्णले दैनिक नेपालगन्जसँग भने, ‘त्यसैले पनि यसमा समुदायको साथ र सहयोग निरन्तर आवश्यक छ ।’
स्थापना उद्देश्य र समुदायको समर्थन
यो कलेज खासगरी त्यस्ता समुदायका छोरीहरूको लागि खोलिएको हो जसलाई १२ कक्षा पछि विवाह गरेर पढाइ रोक्ने प्रचलन थियो । तत्कालीन नगर प्रमुख डा. राणाले ‘उनीहरूले उच्च शिक्षा पाउनुपर्छ’ भनेर यो कन्या कलेजको अवधारणा ल्याएका थिए । ‘अहिले पनि उपमहानगरपालिका, वडास्तर, लुम्बिनी प्रदेश, समाजसेवी तथा समुदायको निरन्तर सहयोग कलेजलाई मिलिरहेको छ,’ कर्ण भन्छन्, ‘हालै मात्र प्रदेश सांसद माया पुन मार्फत १५ लाख रुपैयाँ बजेट कलेजलाई उपलब्ध भएको छ ।’
सुरक्षित र महिलामैत्री वातावरण
कलेजले सुरक्षामा विशेष जोड दिएको भनेको छ । कलेज प्रमुख कर्णका अनुसार, आवश्यक सुरक्षा गार्ड नियुक्त गरिएको छ भने विद्यार्थीहरूको स्वास्थ्य र आवश्यकतालाई ध्यानमा राख्दै सेनिटरी प्याड मेसिन राखिएको छ । ‘कलेजमा ९९ प्रतिशत महिला शिक्षक नियुक्त गरिएका छन् जसले विद्यार्थीलाई घरजस्तै वातावरणमा पढाइरहेका छन्,’ कलेज प्रमुख कर्ण भन्छन् । ‘बाहिरी मान्छे आउने र डिस्टर्व गर्ने अवस्था छैन, कुनै अप्रिय घटना नहोस् भनेर कलेजमा पूर्ण समय दिइरहेका छौं,’ उनले भने ।
पूर्वाधार र भविष्य
कलेजसँग हालै थपिएको बजेटबाट नयाँ कम्प्युटर ल्याब स्थापना हुँदैछ । यसअघि नै दुईवटा कम्प्युटर ल्याब, हार्डवेयर तथा नेटवर्किङ ल्याब, लाइब्रेरी र इ–लाइब्रेरी सञ्चालनमा छन् । विद्यार्थीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयसँगको सहकार्यमा वार्षिक मात्र २ सय रुपैयाँमा ई–लाइब्रेरी प्रयोग गर्न पाउने सुविधा पाएका छन् ।
‘स्वीकृत कार्यक्रममध्ये बिआइटी र आगामी सम्भावित कार्यक्रम बिएएलएलबी समेत सञ्चालन गर्ने तयारी भइरहेको छ,’ कलेजको भविष्यबारे प्राचार्य प्रमुख कर्णले भने, ‘यो नेपालगन्जको शैक्षिक इतिहासको एउटा गौरवका रुपमा विकास हुने सामुदायिक संस्था हो, समुदायले यो कुरा बुझेर, बुझाएर अगाडी बढाउनुपर्छ ।’