रविन्द्र घिमिरे
बाँकेमा औलोका विरामीको संख्या वर्षेनी बढ्दै गएको छ । आर्थिक बर्ष २०८०÷८१ मा १ सय ६० जनामा औलो देखिएकोमा आर्थिक बर्ष २०८१÷८२ मा त्यो संख्या बढेर २ सय ४६ पुगेको छ । जसमध्ये नरैनापुरमा मात्रै १ सय ८५ जना छन् । जुन उच्च संख्या हो । यस अघि नरैनापुरमा १ सय ३२ जनामा औलो देखिएको थियो ।
नरैनापुरमा उच्च संख्यामा औलो देखिएपछि रोकथाम र नियन्त्रणका लागि रगत परीक्षणलाई अभियानकै रूपमा अघि बढाइएको किटजन्य रोग फोकल पर्सन स्वास्थ्य कार्यालय बाँकेकी दुर्गा गौतम बताउँछिन् । सचेतना प्रबद्र्धनसंगै झुल लगाएर सुत्न प्रेरित गर्ने कार्य पनि सम्बन्धित निकायले गर्दै आइरहेका छन् । देशभरकै ७ सय ५३ वटै पालिका मध्ये सबैभन्दा वढी औलो बिरामी भएको पालिका नरैनापुर गाउँपालिका भएको किटजन्य रोग फोकल पर्सन स्वास्थ्य कायालय बाँकेकी दुर्गा गौतमको भनाइ छ ।
पछिल्लो समय रोजगारीका लागि भारतको मुम्बई पुगेका नरैनापुर गाउँपालिका वडा नम्बर ५ का १७ बर्षीय किशोर अमजत खाँ घर फर्केपछि बिरामी भएका थिए । उच्च ज्वरो आउने, टाउको दुख्ने, जाडो लाग्ने जस्ता समस्या देखिएपछि चेकजाँच गराउँदा औलो देखिेएको अजमत खाँ बताउँछन् ।
नरैनापुरमा औलो रोग नियन्त्रणका लागी वडाहरूमा स्वास्थ्यकर्मीहरू परिचालन गरिएको गाउँपालिका अध्यक्ष ईस्तियाक अहम्मद शाहले बताएका छन् । जुन वडाहरूमा समस्या देखिएको छ औलो रोग नियन्त्रणका लागि ती वडाहरूमा आफुले पुरै समय दिएको पालिकाका अध्यक्ष शाहले बताए ।
नेपाल सरकारले सन् २०३० सम्म मुलुकलाई औलो रोग (मलेरिया) मुक्त गर्ने लक्ष्य राखे पनि जोखिम कामयै छ । बाँके जिल्लामा औलो अझ उच्च छ । नरैनापुर गाउँपालिकामा मुलकमै सबैभन्दा धेरै औलो देखिएको छ ।
के हो औलो रोग ?
सामान्य तया मलेरिया भनेर चिनिने यो रोग प्लाज्मोडियम नामक परजिवीका विभिन्न जातहरूवाट हुने गर्दछ । प्लाज्मोडियम भाइवेक्स,प्लाज्मोडियम मलेरि, प्लाज्मोडियम ओभेल र प्लाज्मोडियम फाल्सिपारम गरी चार जातका परजिवीहरू वाट यो रोग लाग्ने गर्दछ । साधरणतया नेपालमा प्लाजमोडियम भाइभेक्स र प्लाज्मोडियम
फाल्सीफारम गरी दुई जातका परजिबीहरू पाइन्छ ।
के के हुन त लक्षणहरू ?
सामान्यतया औलो रोगका परजिवि भएको लामखुट्टेको टोकाई भएको १० देखि १५ दिन भित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्निहरू दुख्ने,असजिलो महसुस हुनेजस्ता सामान्य लक्षणहरू देखा पर्दछन । निरन्तर वा दिन विराएर ज्वरो आउने, शरिरका भित्री अङ्गहरू फियो,कलेजो सुनिने, रगतको मात्रा कमी हुने तथा परजिवीको प्रकृती अनुसार विभिन्न लक्षण तथा समस्याहरू देखिने गर्दछन् ।
निदान तथा उपचार
शंकास्पद विरामी, तथा लक्षण मिल्दा जुल्दा विरामी हरूको रक्त नमुना संकलन गरी रक्त परिक्षण वाट मात्र मलेरिया भएको नभएको पत्ता लगाउन सकिन्छ । औलो रोगको उपचारको लागी नेपालमा विभिन्न थरीका औषधीहरू नेपाल सरकारको तर्फवाट निशुल्क रूपमा विभिन्न स्वास्थ्य संस्थाहरूमा उपलब्ध छन । परजिवीको प्रकार अनुसार रोगको उपचार पनि छुट्टा छुट्टै हुने गर्दछ । स्वास्थ्य कर्मीको सल्लाह वमोजिम पुर्णरूपमा औषधि सेवन गर्न पर्ने हुन्छ ।
रोकथाम
लामखुट्टेको टोकाईको माध्यमवाट मात्र सर्ने सक्ने यो रोगवाट वच्नको लागी सामान्य रूपमा लामखुट्टेको टोकाईवाट जोगिनु नै मुख्य रोकथाम हो । त्यसको लागि लामखुट्टेको विकास र जीवनचक्र नाश गर्नु नै सबैभन्दा उत्तम उपाय हो ।
पानी जम्ने स्थानहरू कम गर्ने, वासस्थान नष्ट गर्ने, लामखुट्टेको लार्भा नाश गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने, राति सुत्दा सधैँ झुल प्रयोग गर्नुपर्दछ । शरीरका खुला अंगहरूमा लामखुट्टेबाट बच्न सकिने मलम लगाउने उपयोगी स्प्रे, लिक्विड, म्याट आदि पनि प्रयोग गर्न सकिन्छ । जोखिम युक्त ठाउंहरूको भ्रमणमा जानु अगाडी रोकथामका उपाय तथा औषधिहरू प्रयोग गर्ने गरेमा औलो रोग हुन वाट जोगिन सकिन्छ ।
घर घर, समुदायहरूमा जनचेतना फैलाउनु, औलोरोगका लक्षणहरू वच्ने उपायहरूको वारेमा चेतना फैलाउने , संकास्पद विरामीले तुरुन्त परिक्ष ण गर्ने तथा विरामीहरूले तुरुन्त उपचार गर्ने आदी गरेमा औलो रोगवाट बच्न तथा अरूलाई वचाउन सकिन्छ ।
