सिद्धार्थ इन्स्योरेन्सको नायब महाप्रबन्धकमा पराजुली

संघर्षदेखि सफलता : बीमा क्षेत्रमा नवराज पराजुलीको प्रेरणादायी यात्रा

जीवनमा संघर्षलाई सीढी बनाउँदै अघि बढ्ने मान्छे कहिल्यै थाक्दैन भन्ने उदाहरण नेपालगञ्जका नवराज पराजुली हुन् । नेपालकै निर्जीवन बीमा क्षेत्रमा अग्रणी मानिने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले हालै उनलाई सहायक महाप्रबन्धकबाट नायब महाप्रबन्धकमा पदोन्नति गरेको छ ।

सन् १९९० (वि.सं. २०४६) तिर एसएलसी सकेर स्याङ्जाबाट नेपालगन्ज आएका पराजुलीको सुरुको यात्रा साधारण थियो । दाजुको जागिरको सिलसिलामा नेपालगन्ज आएको बसाइले नै उनको भविष्य निर्माणको बाटो कोरेको थियो । पढाइसँगै उनले नेपालगन्जकै विजय मेटल इन्डस्ट्रिजमा सन् १९९३ (वि.सं. २०५०) मा काम थाल्दा जीवन संघर्षको कठोर पाठ सिक्दै थिए ।

तर, यतिमै उनको यात्रा रोकिएन । सन् २००३ (वि.सं. २०६०) मा बीमा क्षेत्रमा काम गर्ने प्रस्ताव आयो । वरिष्ठ उद्योगी कन्हैयालाल वैद्यको सल्लाहअनुसार उनले एनबी इन्सुरेन्स (हालको आइजीआई प्रुडेन्सियल) मा विकास अधिकृतका रूपमा प्रवेश गरे । त्यहाँको उत्कृष्ट कामले उनलाई नयाँ अवसरहरूको ढोका खोलिदियो ।

सन् २००५ (वि.सं. २०६२) मा लुम्बिनी जनरल इन्स्योरेन्सको नेपालगन्ज शाखा प्रमुख बनेपछि उनी बीमा बजारमै चर्चित भए । उनको नेतृत्वमा उक्त शाखा उत्कृष्ट शाखाको रूपमा पुरस्कृत हुँदै गयो । कामप्रति समर्पण मात्र होइन, समाजसँगको नजिक सम्बन्धले पनि उनलाई विशिष्ट बनायो । लायन्स क्लब अफ नेपालगन्ज टाउनको अध्यक्षदेखि उच्च तहसम्मको नेतृत्व गर्दै उनले सामाजिक परिचय पनि थप बलियो बनाए । नेपालगन्जमा उनको छवि एउटा आकर्षक युवा व्यक्तित्वको छ, प्रेरक छ ।

सन् २०११ (वि.सं. २०६८) मा सिद्धार्थ इन्सुरेन्सको नेपालगन्ज शाखा प्रमुख भएर उनले फेरि एकपटक सफलताको नयाँ कीर्तिमान बनाइदिए । उत्कृष्ट शाखा बनाउने उनका प्रयासले कम्पनीभित्र उनको जिम्मेवारी बढ्दै गयो । संघीयता पछि उनी लुम्बिनी प्रदेश प्रमुख भएर वरिष्ठ प्रबन्धक भए ।

यात्रा यहाँ पनि रोकिएन । सन् २०१८ (वि.सं. २०७५) मा कम्पनीले उनलाई काठमाडौं मुख्यालयमा बोलाएर बजार विभाग प्रमुख बनायो । पछि दाबी विभागमा गएर जटिल मुद्दाहरू फछ्र्योट गर्ने क्रममा उनले आफ्नो कुशलता प्रमाणित गरे र सहायक महाप्रबन्धकसम्म पदोन्नति भए ।

सन् २०२२ (वि.सं. २०७९) मा सिद्धार्थ र प्रिमियर इन्सुरेन्स मर्ज भई बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडमा उनी दाबी विभाग प्रमुखको जिम्मेवारीमा रहे। त्यहाँ पनि उनको लगनशीलता र इमानदार मेहनतले अन्ततः उनलाई नायब महाप्रबन्धकसम्म पु¥याएको छ ।

सिद्धार्थ इन्स्योरेन्सका नायब महाप्रवन्धकको हालै जिम्मेवारी सम्हालेका नवराज पराजुलीको जीवनकथा एउटा सन्देश दिन्छ,

सुरुवात सामान्यतामा भए पनि निरन्तर मेहनत, इमानदारी र लगनशीलता भए सफलताको शिखर चुम्न सकिन्छ ।

Exit mobile version