‘शान्ति सुरक्षामा कुनैखाले सम्झौता नगर्नु’

नेपालगन्जमा प्रहरी महानिरीक्षकको निर्देशन

नेपाल प्रहरीका प्रमुख, प्रहरी महानिरिक्षक दिपक थापाले जिल्लाको शान्ति सुरक्षा थप मजवुत बनाउन निर्देशन दिएका छन् ।

नेपालगन्जमा मंगलवार बाँके बर्दियाका प्रहरी उच्च अधिकारीहरुको ब्रिफिङपछि महानिरीक्षक थापाले स्थानीय शान्ति सुरक्षा मजबुत बनाउन निर्देशन दिएका हुन् ।

कर्णाली प्रदेशको सुरक्षा अवस्था जायजा लिएर फर्किएका प्रहरी महानिरीक्षक थापाले चाडपर्व लक्षित शान्ति सुरक्षा मजबुत बनाउन विषेश निर्देशन दिएका हुन् ।

भेटघाटमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख रामप्रसाद घर्तीमगरले जिल्लाको शान्ति सुरक्षा सहित पछिल्लो अवस्थाका विषयमा ब्रिफिङग गरेका थिए । भने, बर्दियाका प्रहरी प्रमुखले त्यहाँको सुरक्षा व्यवस्था प्रकाश पारेका थिए ।

साथै अन्य मातहतका प्रहरी अधिकृतहरुबाट ब्रिफिङ्ग लिंदै महानिरीक्षक थापाले शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा प्रहरीले कुनैपनि खाले सम्झौता नगर्न निर्देशन दिएका हुन् ।

महानिरीक्षक थापाले बाँके – बर्दिया आसपास क्षेत्रमा लागू औषध कारोबार, सवारी दुर्घटना,अपराध, चोरी पैठारी जस्ता गतिविधिहरू चुनौतीको रूपमा रहेकाले आपराधिक गतिविधिलाई न्यूनीकरण तथा नियन्त्रणको लागि त्यस अनुसार कार्यक्रम अघि बढाउन पनि निर्देशन दिए ।

नेपालगन्ज र आसपासको क्षेत्र संवेदशनशिल भएकाले प्रहरीले संवेदनशील भई निष्पक्ष अनुसन्धान गर्नुपर्ने, पुराना मुद्दाहरूको फछ्र्यौट एवम् फरार प्रतिवादीहरूलाई कानूनी दायरामा ल्याउन थप सक्रिय भएर लाग्न पनि निर्देशन दिएका छन् ।

‘नागरिकले सुरक्षित रहेको अनुभुति गर्नगरी कार्यसम्पादन गर्न उपस्थित प्रहरी अधिकारीलाई निर्देशन दिएका छन्,’ भेटघाटमा सहभागी सुरक्षा अधिकारीले महानिरीक्षक थापा मंगलबार नै काठमाडौं फर्किएको जानकारी दिंदै दैनिक नेपालगन्जसँग भने, ‘लागु औषध र सीमा अपराध नियन्त्रणमा उहाँको निकै चासो रह्यो ।’

बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक दीपक पातलीले प्रहरी महानिरीक्षक थापाले बाँके बर्दियाका प्रहरी प्रमुखहरुसँग विशेष बैठक छलफल गरेको बताए ।

Exit mobile version