आशा परियार
बाँकेमा सामुदायिक विद्यालयबाट २०८१ सालको (एसइई) परीक्षा दिने विद्यार्थीमध्ये ४७.७ प्रतिशत मात्रै उत्तीर्ण भए । एसईई परीक्षामा बाँकेबाट ८ हजार २ सय ३१ विद्यार्थी सहभागी थिए ।
सामूदायिक विद्यालयका ५ हजार ४ सय २१ जना विद्यार्थी सहभागी भएकोमा २ हजार ५ सय ३२ जना उत्तीर्ण भएका छन् । संस्थागत विद्यालयका २ हजार ७ सय १० जना विद्यार्थी सहभागी हुँदा २ हजार ५ सय ८० जना उत्तीर्ण भए । अर्थात् उत्तीर्ण दर ९१.८ प्रतिशत देखिन्छ । समग्रमा परीक्षार्थीको उत्तीर्ण दर ६१.१ प्रतिशत रहेको छ ।
गत वर्ष सामुदायिक विद्यालयको उत्तीर्ण दर १८.१ प्रतिशत मात्र थियो भने संस्थागतको ६७ प्रतिशत थियो । संयुक्त रूपमा ३३.९ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएको तथ्यांक छ । सो वर्ष १६ विद्यालय (४ वटा सामुदायिक र १२ वटा संस्थागत) ले शून्य नतिजा ल्याएका थिए । यस वर्ष शुन्य नतिजा ल्याउने विद्यालय संख्या घटेर ३ (१ सामुदायिक, २ संस्थागत) मा आएको छ । अघिल्लो वर्षको तुलनामा समग्रमा सुधार देखिए पनि सामुदायिक विद्यालयको गुणस्तर भने संस्थागत विद्यालयको तुलनामा कमजोर देखिएको छ । बाँकेमा ५ सय ७० पूर्वप्राथमिक तहका सामुदायिक विद्यालय छन् । २ सय ५ संस्थागत विद्यालय छन् । १ देखि १२ कक्षासम्म सञ्चालन हुने सामुदायिक विद्यालय २४८ छन् । संस्थागत २०५ र धार्मिक विद्यालय १३१ छन् ।
उता, कक्षा १२ को परीक्षा नतिजा अनुसार बाँके जिल्लाबाट ८,९१४ विद्यार्थीले परीक्षा दिएका थिए । तीमध्ये ४७.३५ प्रतिशत (३ हजार ८ सय ६४) विद्यार्थीले उत्तीर्ण भए । पूरक परीक्षा दिन पाउने विद्यार्थीको संख्या २,७८२ छ । ५ हजार ५० विद्यार्थी अनुत्तीर्ण भए ।
सरकारले शिक्षामा वर्षेनी ठूलो रकम लगानी गरेको छ । बाँके जिल्लामा विद्यालय पूर्वाधार निर्माण, पाठ्यपुस्तक वितरण, पाठ्यक्रम प्रवद्र्धनदेखि छात्रवृत्ति कार्यक्रमसम्म बजेट आउने गरेको छ । शिक्षा क्षेत्रमा राज्यको व्यापक लगानी हुँदाहुँदै पनि बाँकेका सामुदायिक विद्यालयले अपेक्षित गुणस्तर हासिल गर्न सकेका छैनन् ।
आर्थिक वर्ष २०८१÷८२ मा बाँकेमा शिक्षा क्षेत्रमा २ अर्ब ४१ करोड ३६ लाख १ सय ४७ रूपैयाँ बजेट विनियोजन गरिएको तथ्यांक छ । यसमध्ये १ अर्ब ८० करोड ८६ लाख ५४ हजार ४९१ रूपैयाँ मात्र खर्च भएकोे शिक्षा विकास तथा समन्वय इकाइ बाँकेको तथ्याङ्क छ ।
व्यवस्थापन र शिक्षकको भुमिका
बाँकेमा शिक्षा क्षेत्रमा ३९ वर्ष बिताएकी शिक्षाविद् किरण आचार्यले सामुदायिक विद्यालयको गुणस्तर खस्कनुमा मूल कारण शिक्षक र व्यवस्थापन रहने बताउँछिन् । “शिक्षक सुध्रिए शिक्षा सुध्रिन्छ । शिक्षा क्षेत्रको समस्या शिक्षकबाट सुरु हुन्छ र समाधान पनि त्यहींबाट खोज्नुपर्छ,” उनी भन्छिन् ।
आचार्यका अनुसार सामुदायिक विद्यालयमा पढ्ने अधिकांश बालबालिका विपन्न, श्रमिक परिवारका छन् । ‘पढेर के हुन्छ ?’ भन्ने सोच बोकेका अभिभावक, असमयमा विद्यालय आउने–जाने विद्यार्थी र पाठ्यक्रममै गाह्रो सुरुवात—यी तीन तहको बोझ बोकेर सामुदायिक विद्यालयका नतिजा कमजोर आएको हो,’ उनले भनिन् । उनी भन्छिन्, ‘४५ मिनेटको पिरियड हो भने पनि आउँदा–जाँदा १० मिनेट त्यत्तिकै जान्छ, ३५ मिनेट मात्रै पढाइ हुन्छ । बालबालिकाले न त समयमै ध्यान दिन सक्छन्, न
पाठ्यक्रम बुझ्न सक्छन् ।
कक्षा १ कै पाठ्यक्रम गाह्रो बनाइएकाले सुरुवातमै विद्यार्थी हच्किन्छन्, शिक्षा प्रतिको चाख घट्छ र बोझ लाग्न थाल्छ । हामीले बालविकास र कक्षा १ मा विजय प्राप्त गर्न सकेनौँ भने, साक्षर बनाउने कुरा हावामा उड्छ । शिक्षा त तब मात्र अर्थपूर्ण हुन्छ, जब तल्लो तहबाटै आधार बलियो बनाइन्छ ।’
बाँकेमा लोकसेवाबाट प्रतिस्पर्धा गरेर आएका उत्कृष्ट शिक्षक छन् । हजारौंसँग प्रतिस्पर्धा गरी छनौट भएका शिक्षकले इमान्दारितापुर्वक दायित्व निर्वाह गरे नतिजा सुधार हुने उनको भनाई छ । उनी भन्छिन्, ‘शिक्षकले आफ्नो जिम्मेवारी चिने, आफ्नो दायित्व इमानदारीपूर्वक निर्वाह गरे, सामुदायिक विद्यालय आफैँ उत्कृष्ट बन्छ । यदि त्यही इमानदारिता देखाइयो भने संस्थागत विद्यालयसमेत टिक्न मुस्किल पर्छ ।’
विद्यालयका प्रधानाध्यापक–हरूको भूमिकामाथि पनि आचार्यले प्रश्न गर्छिन् । उनी भन्छिन्, ‘प्रधानाध्यापकले शिक्षकसँग काम कसरी लिन सकिन्छ भन्ने हेक्का राख्नुपर्छ । शिक्षकहरूलाई केवल तालिका बनाइदिएर हुँदैन, उनीहरूको कार्यसम्पादन, अनुशासन र विद्यार्थीसँगको व्यवहारसमेत मूल्यांकन हुनुपर्छ ।’
यसमा राज्य र स्थानीय तहको सक्रिय भूमिका आवश्यक पर्ने समेत उनी बताउँछिन् । ‘नीति त बनेका छन्, तर कागजमै राखेर हुँदैन’, उनी भन्छिन्, ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारको पहिलो लाइनमा स्थानीय सरकार नै पर्छ । फोटो खिच्ने मात्र होइन, नतिजा ल्याउने काम गर्नुपर्छ ।’
सुधारको प्रयास कति पर्याप्त ?
शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका इकाइ प्रमुख धनुसुदन चौलागाई बाँकेका सामुदायिक विद्यालय प्रगति उन्मुख रहेको बताउँछन् । उनी भन्छन्, ‘विगतका वर्षको तुलनामा सिकाइको गुणस्तर क्रमशः उकासिँदै गएको छ, सुधारको गति निरन्तर छ ।’ बाँकेमा शैक्षिक सुधारका लागि कुनै छुट्टै विशेष कार्यक्रम सञ्चालन नगरिए पनि संघ, प्रदेश र स्थानीय तहबाट नियमित रूपमा सञ्चालन भइरहेका सबै गतिविधिलाई शैक्षिक सुधारको एक हिस्सा मानिने उनी दावि गर्छन् । गुणस्तरीय शिक्षा केवल सरकारी योजना वा बजेटको भरमा मात्र निर्भर नहुने भन्दै उनले विद्यालयको आन्तरिक व्यवस्थापन र स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक पर्ने बताए । राजनीतिक आग्रहभन्दा माथि उठेर स्थानीय जनप्रतिनिधि र व्यवस्थापन समितिले निर्णय लिनुपर्छ भन्नेमा पनि उनले जोड दिए । शिक्षकका लागि मौद्रिक र गैरमौद्रिक दुवै प्रकारका उत्प्रेरणा आवश्यक देखिन्छ । कार्यसम्पादन मूल्याङ्कनलाई वस्तुगत बनाएर, सुविधा र व्यावसायिक विकाससँग जोड्नुपर्छ । “जब शिक्षक, विद्यालय व्यवस्थापन समिति र स्थानीय समुदाय एउटै उद्देश्यका लागि संगठित हुन्छन्, तब मात्र गुणस्तरीय शिक्षाको आधार बलियो बन्छ,” चौलागाई
भन्छन् ।































