नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको तेस्रो साधारण सभा तथा अधिवेशनबाट ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।
शनिबार बाँकेको पर्यटकीय क्षेत्र कोहलपुर–१३, भरैयास्थित भरैया फार्मस्टेको सभाहलमा भएको अधिवेशनमा च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले स्थापनादेखि हालसम्मका संस्थागत प्रगति उल्लेख गर्दै ारष्ट्रिय रुपमै उचाईं लिएको बताए ।
कोहलपुर नगरपालिकाकी कार्यबाहक नगरप्रमुख संगीता सुवेदीले अधिवेशन उद्घाटन गर्दै पर्यटनको विकासमा सहकार्यको प्रस्ताव गरेकी थिइन् । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका महामन्त्री मिनबहादुर मल्ल, पत्रकार झलक गैरे, बुद्ध एअरका नेपालगन्ज प्रमुख विनित शाहलगायतले बोलेको कार्यक्रम महासचिव झविलाल शर्माले सहजीकरण गरेका थिए ।
अधिवेशनबाट डिल्लीराज रेग्मी अध्यक्ष सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता विश्वजीत तिवारीले जानकारी दिए । उनका अनुसार, झविलाल शर्मा उपाध्यक्षमा, भागीराम वली महासचिवमा, रेशमबहादुर खत्री सचिवमा, कुमार चाल्स श्रेष्ठ कोषाध्यक्षमा र लवराज प्रधान सह–कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, अल्पना गुप्ता, कुलबहादुर के.सी., शम्भु कुमार बुढाथोकी, हरिप्रसाद शर्मा र कुशल दर्लामी कार्यकारी सदस्यमा चयन भएका छन् ।
साधारणसभामा अध्यक्षको सम्बोधन, वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गरिएको छ । त्यस्तै आर्थिक वर्ष २०८२÷८३ का लागि वार्षिक योजना तथा अनुमानित बजेट पनि पारित गरिएको जानकारी दिइएको छ ।
कार्यक्रमका अतिथिहरूले निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै आगामी कार्यकालमा नाट्टा बाँके च्याप्टरले बाँकेको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।






























