जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशमा दुई सय ५३ भौतिक संरचनामा तोडफोड तथा आगजनी भएको इन्सेकले जनाएको छ । यसमध्ये १४७ सरकारी तथा सार्वजनिक कार्यालय, ३८ पार्टी कार्यालय र ६८ निजी सम्पत्ति रहेका छन् ।
इन्सेकका अनुसार, सरकारी भवन र फाइल जलेर नष्ट हुँदा नागरिक सेवामा गम्भीर असर परेको छ । प्रारम्भिक विवरण भएकाले थप सूक्ष्म अध्ययनपछि विस्तृत विवरण सार्वजनिक गर्ने तयारी भइरहेको संयोजक भोला महतले जानकारी दिए ।
सबैभन्दा धेरै दाङमा ७५ संरचना क्षतिग्रस्त भएका छन् । घोराही, तुलसीपुर र लमहीका सरकारी तथा सार्वजनिक कार्यालय, दलका कार्यालय र नेताका घरमा ठूलो क्षति पुगेको छ । एमाले नेता शंकर पोख्रेल, कोमल वली, हिराचन्द्र केसी, काँग्रेस नेता गेहेन्द्र गिरीलगायतका घरमा पनि आगजनी भएको छ ।
बाँके, बर्दिया, रुपन्देही, कपिलवस्तु, नवलपरासी, अर्घाखाँची, प्युठान र गुल्मीमा पनि तोडफोड तथा आगजनी भएको इन्सेकले जनाएको छ । तर, रोल्पा, पाल्पा र रुकुमपूर्वमा भने कुनै क्षति नभएको बताइएको छ ।






























