थारू संस्कृतिको सुगन्ध बोकेको नयाँ म्युजिक भिडियो सार्वजनिक गर्दै निर्देशक सुवेदीले भने, ‘कला मेरो जीवन’
दैनिक नेपालगन्ज
थारू भाषाको नयाँ म्युजिक भिडियो ‘तु म्वार छैली हो’ सोमवार एक समारोहबीच नेपालगन्जमा सार्वजनिक गरिएको छ । कला संगीतमा अहोरात्र सक्रिय व्यक्तित्व नवराज सुवेदीको निर्देशनमा बनेको यस भिडियोको प्रिमियर कार्यक्रममा आमन्त्रित अतिथिहरूले संयुक्त रूपमा प्रोजेक्टरको प्ले बटन थिच्दै भिडियो सार्वजनिक गरेका हुन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघका प्रवक्ता डम्बर बहादुर चन्द, वरिष्ठ पत्रकार झलक गैरे, चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेल र गायक सुनिलसिंह ठकुरीले म्यूजिक मिडियो सार्जजनिक गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि चन्दले बोल्दै यस गीतले थारू संस्कृति, भाषा र मौलिक पहिचानलाई संरक्षण र प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । विशिष्ट अतिथि गैरेले निर्देशक सुवेदीले पछिल्लो समय दर्जनभन्दा बढी थारू गीतका म्युजिक भिडियो निर्देशन गरेर थारू कला र सांगीतिक क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उनको निरन्तर सिर्जनशीलतालाई प्रशंसा गरे ।
त्यसैगरी अध्यक्ष पौडेलले भिडियोको सफलताको शुभकामना दिंदै यस किसिमका सिर्जनाले स्थानीय संस्कृति र जनजीवनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु–याउन मद्दत गर्ने बताए । गायक ठकुरीले गीतसंगीतका मर्मबारे धारणा राखेका थिए ।
आरकेसी डिजिटलको युट्युब च्यानलमार्फत अपरान्ह ३ बजे अपलोड गरिएको यस म्युजिक भिडियोमा प्रियंश चौधरी र सगुन शाहीले अभिनय गरेका छन् । गाउँघरको मौलिक परिवेशलाई आधार बनाएर तयार पारिएको भिडियोमा प्रेम, रोमान्स र रमाइलो कथावस्तु प्रस्तुत गरिएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाका विभिन्न स्थानमा छायांकन गरिएको यो भिडियोले बजारमा तहल्का मच्चाउने विश्वास निर्देशक सुवेदीले व्यक्त गरेका छन् । गीतमा गायक करन चौधरी र गायिका सिमरण परियारको सुमधुर स्वर रहेको छ भने शब्द करन चौधरीकै हो । संगीत एरेन्ज गणेश चौधरीले गरेका छन् । म्युजिक भिडियोको छायांकन तथा सम्पादन रामु चौधरी र उनको टिमले गरेका हुन् । कार्यक्रममा गायक तथा कलाकारलाई सम्मान समेत गरिएको थियो ।
थारू भाषा र संस्कृतिको रङ र स्वाद मिसिएको यो भिडियो दर्शकसामु मात्र एउटा प्रेमकथा होइन, आफ्नो समुदायको मौलिक पहिचानलाई कलात्मक रूपमा अभिव्यक्त गर्ने एउटा प्रयास बनेको छ । निर्देशक सुवेदीको विश्वास छ, घटस्थापनाको विशेष दिनमा सार्वजनिक गरिएको हुनाले यसले सांस्कृतिक सन्दर्भमा पनि थप महत्व बोकेको छ । अब दर्शक र श्रोताको मन जित्न सक्नेछ कि भन्ने उत्सुकता भने बजारमा बढेको छ ।
































