नेपालगन्जको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा यस बर्ष बाँकेका विभिन्न धार्मिक स्थलबाट फुलपाती ल्याउने र सम्बन्धित मन्दिरमा लग्ने कार्यक्रम तय भएको छ । यसअघिका बर्ष सुरक्षाकर्मीहरूले मात्रै फुलपाती मन्दिरमा भित्र्याउने गरेका थिए । बागेश्वरी धार्मिक सर्किट एवं जागरण अभियानका लागि जिल्ला पहिलो पटक विभिन्न मन्दिरबाट बागेश्वरी फुलपाती भित्र्याउने कार्यक्रम तय गरिएको हो ।
‘निवर्तमान अध्यक्ष श्रीराम सिग्देलको पहल र सुझावमा शनिबार हामीले समन्वयकारी भूमिका खेल्ने र उपस्थिति हुने निर्णय गरेका छौं’, नाट्टा बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीले भने, ‘यसको दायित्व भने सम्बन्धित पालिका, वडाको नै रहनेछ ।’ उनले कार्यक्रम कसरी सफल बनाउने भन्नेमा नाट्टा बाँकेको संयोजनकारी भूमिका रहने बताए । यद्यपि, नाट्टा बाँकेले आधिकारिक रूपमा बागेश्वरी मन्दिर व्यवस्थापन समितिलाई यसबारे जानकारी भने गराएको छैन ।
बागेश्वरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोपाल प्रसाद अधिकारीले मन्दिर आएका भक्तजनको सुरक्षा, दर्शन तथा धार्मिक कार्य सहज बनाउने आफुहरूको दायित्व रहेको बताए । उनले नाट्टाबाट फुलपातीका भित्र्याउनका लागि आधिकारिक पत्र नपाए पनि अनौपचारिक जानकारी नाट्टाका निवर्तमान अध्यक्ष सिग्देलबाट पाएको बताए ।
‘हामी सबै भक्तजनको घुइँचो, भीड व्यवस्थापन र सहज दर्शनको वातावरण बनाउन आन्तरिक तयारीमा छौं’, अध्यक्ष अधिकारीले भने, ‘फुलपातीमा मन्दिरहरूबाट फुलपाती लिएर आउनु भयो भने हामी उहाँहरूको व्यवस्थापनका लागि तयार छौं ।’
नाट्टा बाँकेका निवर्तमान अध्यक्ष सिग्देलले बागेश्वरी मन्दिरलाई सर्किट बनाउने उद्देश्य रहेको बताए । ‘यसले आन्तरिक तथा बाह्य धार्मिक पर्यटकलाई धार्मिक स्थल चिनाउन मद्दत पुर्याउँछ’, उनले भने, ‘जिल्लामा यो नयाँ परम्पराको थालनी पनि हो ।’ उनले धार्मिक सर्किट बनाउनका लागि जिल्ला भित्र रहेका धार्मिक स्थलहरू बीच समन्वय आवश्यक रहेको बताए ।
‘विभिन्न पालिका तथा मन्दिरहरूबाट फुलपातीमा आउन आव्हान भैसकेको पत्रहरू पाएका छौं’, नाट्टाका निवर्तमान अध्यक्ष सिग्देलले भने, ‘नाट्टाको आव्हानमा सम्बन्धित वडा र पालिकाले तयारी गरिरहनु भएको छ ।’
यसैबीच राप्तीसोनारी गाउँपालिका वडा नं. ३ ले ऐतिहासिक भुँवर भवानी मन्दिरलाई धार्मिक तथा पर्यटनसँग जोड्नका लागि फुलपातीको दिन मन्दिरबाट बाजागाजा सहित नेपालगन्जको बागेश्वरी मन्दिरसम्म पुगी फर्कनका लागि सोमबार विहान ८ बजे भुवर भवानी मन्दिर बनघुसरीमा उपस्थितिका लागि आव्हान गरेको छ । वडाध्यक्ष मिन कुमार चौधरीले धार्मिक, राजनीतिक, समाजसेवी, बुद्धिजीवि, युवा, महिला, सांस्कृतिक टिमलाई उपस्थितिका लागि आव्हान गरेका हुन् ।
त्यस्तै, बाँकेको खजुरा गाउँपालिका वडा नं. ३ स्थित लक्ष्मिनारायण मन्दिर व्यवस्थापन समितिले पनि फुलपाती बागेश्वरी मन्दिर लगि मिसाएर पुनः फर्किने कार्यका लागि आव्हान गरेको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठले बागेश्वरी मन्दिर फुलपाती लग्नका लागि साढे ७ बजे लक्ष्मिनारायण मन्दिरमा भेला हुन आव्हान गरेका छन् ।
त्यस्तै, बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष अजय कुमार मिश्रले पनि बर्फानीबाबा मन्दिरबाट फुलपाती बागेश्वरी मन्दिर लग्ने र भित्र्याउने कार्यका लागि उपस्थितिका लागि आव्हान गरेका छन् ।
त्यस्तै, नरैनापुर गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष प्रेम चन्द मौर्यले पनि त्यहाँ स्थित सन्तानेश्वर महादेव मन्दिरबाट फुलापाती सहित बागेश्वरी मन्दिर पुगेर मन्दिरसम्म फर्किने कार्यका लागि स्थानीयसँग उपस्थिति हुन अनुरोध गरेका छन् ।
