नेवारहरुको संगठन नेवाः पुचः बाँकेले यस वर्ष नेपाल सम्वत् शुभारम्भको शुभकामना र्याली न्हुँ दँया भिन्तुना ननिकाल्ने भएको छ ।
जेनजी आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएको र सयौं जना घाइते भएको कारण राष्ट नै शोकमा डुबेको बेला नेवाः पुचः बाँकेले हरेक वर्ष आयोजना गर्दै आएको नेपाल सम्वत् शुभारम्भको शुभकामना र्याली ननिकाल्ने निर्णय गरेको हो ।
नेवाः पुचः बाँकेका अध्यक्ष जीतेन्द्र कुमार जोशीले बैठकको निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिए ।
अध्यक्ष जोशीले हरेक वर्ष कार्तिक शुक्ल प्रतिपदा अर्थात् भाई टिकाको अघिल्लो दिन म्ह पूजाको दिन शुभारम्भ हुने नेपाल सम्वत्को अवसरमा शुभकामना र्याली निकालेर नेपालगन्जको नगर परिक्रमा गरेर औपचारिक कार्यक्रम आयोजना गर्दै आएको बताउँदै मुलुकमा व्याप्त विषम परिस्थितिलाई मध्यनजर गरेर यस वर्ष बुधवार प्रारम्भ हुने नयाँ वर्षको शुभकामना कार्यक्रम आयोजना नगर्ने निर्णय गरेको बताए ।
नेवाः पुचः बाँकेका संस्थापक पार्षद् पूर्ण लाल चुकेकना अनुसार नेपाल सम्वत् नेपालमा प्रचलित नेपालको मौलिक राष्ट्रिय सम्वत् हो । नेपाल सम्वत्का प्रवर्तक शँखधर साख्वाः हुन् । उनले नेपालका विपन्न जनताको ऋण तिरेर ऋणमुक्त बनाएको दिनको सम्झनामा यो सम्वत् थालिएको हो । भक्तपुरका राजा राघवदेवको आज्ञा अनुसार वि.सं. ९३६ र सन् ८७९ अक्टोबर २० का दिन देखि नेपाल सम्वत् सुरुवात भएको थियो । नेपालमा औपचारिक रूपले यो सम्वत् चन्द्र शमशेरको कार्यकालसम्म प्रचलनमा रह्यो । केही वर्ष यता नेपाल सरकारले औपचारिक पत्राचारमा नेपाल सम्त् प्रयोग गर्दै आएको छ । बुधवारदेखि शुभारम्भ हुने नेपाल सम्वत् ११४६ हो ।






























