आगामी कार्तिक १४ र १५ गते नेपालगन्जमा आयोजना हुने ‘नेपालगन्ज नेशनल स्वीमिङ्ग च्याम्पियनशीप २०२५’ को तयारीमा जुटेको आयोजकले खेलाडी दर्ता कार्य भैरहेको जनाएको छ । ‘अनलाइन मार्फत प्रतिस्पर्धी दर्ता खुला गरिएकाले देशभरीबाट खेलाडीहरू आफ्ना नाम रजिष्टर्ड गरिरहनु भएको छ’, आयोजक नेपालगन्ज स्वीमिङ्ग क्लबका अध्यक्ष केशव न्यौपानेले भने, ‘हामी इभेन्ट तयारीका क्रममा जुटिरहेका छौं ।’
देशभरबाट दुई सय बढी खेलाडी आउने निश्चित भएकाले त्यही अनुसारको प्राविधिक तयारीमा क्लब जुटेको हो । ‘पौडी पोखरी सरसफाईदेखि स्वीमिङ्ग एशोसिएसनका केन्द्रीय नेतृत्वसम्मलाई आयोजनाबारे ब्रिफिङ्ग भैरहेको छ’, त्यसका लागि क्लब अध्यक्ष न्यौपानेले काठमाडौं पुगेको जानकारी दिंदै वरिष्ठ उपाध्यक्ष सुर्यमणि अधिकारीले दैनिक नेपालगन्जसँग भने, ‘यो आयोजनालाई नेपालगन्जबासीले अपनत्व लिएर सफल बनाउने भूमिका खेल्नुपर्छ ।’ वरिष्ठ उपाध्यक्ष अधिकारीका अनुसार, स्वीमिङ्ग एशोसिएसनले आफ्नो बार्षिक क्यालेण्डरमा समेत नेपालगन्ज नेशनल स्वीमिङ्ग च्याम्पियनशीपलाई खेल क्यालेण्डर भित्र राखेर स्वामित्व र अपनत्व लिइसकेको छ ।
‘सरकारी खेल अधिकारीहरूले यो आयोजनालाई गम्भीरतापूर्वक सहयोग, सहकार्यको अपेक्षा गरिरहेका छौं’, अध्यक्ष न्यौपानेले त्यसका लागि जिल्ला, प्रदेश र राष्ट्रिय खेलकुद परिषद्सम्म आवश्यक समन्वय भैरहेको जानकारी दिंदै भने, ‘स्थानीय स्तरमा अझ बढी समन्वयको खाँचो पूर्ति गरिरहेका छौं ।’