झण्डै आठ बर्षपछि नेपालगन्ज गोल्ड कप फुटबलको आयोजना निश्चित भएको छ । त्यसको तयारीका लागि सचिवालय समेत सञ्चालनमा ल्याइसकिएको जानकारी दिंदै बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले आइतबार नेपालगन्ज रंगशालामा भने, ‘अबको केही महिनाभित्रै नेपालगन्ज गोल्ड कपको चौथो संस्करण भव्य रूपमा आयोजना हुन्छ ।’
एन्फाका केन्द्रीय सदस्य समेत रहेका अध्यक्ष शाहीले उक्त कुराको घोषणा गरिरहँदा केन्द्रीय अध्यक्ष पंकज विक्रम नेम्वाङ्ग लगायतका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी मञ्चासिन थिए । भने, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले त्यसअघि नै रोष्टमबाट नेपालगन्ज गोल्डकपका लागि बजेट विनियोजन गरिएको र त्यसको सफलताका आधारमा आउने बर्षदेखि बजेट बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सन् २०१८ मा नेपालगन्ज गोल्डकपको तेस्रो संस्करण खजुरामा आयोजना गरिएको थियो । आठौं राष्ट्रिय खेलकुदका क्रममा नेपालगन्ज रंगशाला पुननिर्माणका क्रममा रहेकाले त्यसो गर्नु परेको बताइएको थियो । त्यसपछि आयोजनाले निरन्तरता पाउन सकेको थिएन ।
