ढलेका शालिक उठाउँछौं : एमाले बाँके

गत भाद्र २४ गते जेनजीको प्रदर्शनका क्रममा तोडफोड गरी ढलाइएका नेपालगन्जका विभिन्न चोकमा रहेका शालिक नेकपा एमाले बाँकेले पुनस्र्थापना गर्ने कार्यक्रम अगाडि बढाएको छ । आइतबार नेकपा एमाले बाँकेले पार्टी कार्यालयमा छैठौं पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङ्गले विपी कोइराला, पुष्पलाल श्रेष्ठ र गणेशमान सिंहको ढलेको शालिक कार्तिक २९ गते उठाउने बताएका हुन् । उनले लोकतान्त्रिक आन्दोलनका आदर्शहरूको शालिक पुनस्र्थापनाका लागि सम्पूर्ण लोकतान्त्रिक आन्दोलनमा सहभागीहरूलाई आव्हान समेत गरेका छन् ।

पार्टीका बाँके इन्चार्ज शान्ति ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा छैठौं बैठकले गरेका निर्णयहरू सुनाउँदै उपाध्यक्ष रत्न खत्रीले आगामी मंसिर २० गतेसम्म विभिन्न ९ वटा कार्यक्रमहरू तय गरिएको जानकारी दिए ।

जेनजी आन्दोलनपछि युवा पुस्ताका नेतृत्वसँगको संवाद र छलफललाई सक्रियता दिने निर्णय गरिएको उपाध्यक्ष खत्रीले बताए । ‘कार्तिक १८ गते जिल्लाभरीका ८१ युवाहरूलाई अभिमूखिकरण गर्ने, १९ गते आठै पालिकामा बैठकको आयोजना गर्ने, २२ गते युवाहरूसँग सार्थक संवाद र जनभेला आयोजना वडा स्तरमा आयोजना गर्ने, २४ गते स्थानीय तह स्तरीय संवाद तथा जनभेला गर्ने निर्णय गरेका छौं’, उपाध्यक्ष खत्रीले भने । उपाध्यक्ष खत्रीले १०÷१० बर्षमा हुने राजनीतिक परिवर्तन तथा उथलपुथल, २००७ सालदेखि हालसम्म कुनै पनि प्रधानमन्त्रीले पाँच बर्ष सरकार सञ्चालन गर्न नसकेको, युवाका आकांक्षा र धारणा बुझ्नका लागि युवामाझ पुग्न लागेको बताए ।

एमाले बाँके उपाध्यक्ष खत्रीले कार्तिक २९ गते आदर्शहरूलाई पुनस्र्थापना कार्यक्रम अन्तर्गत चोकमा रहेका शालिकहरू पुनस्र्थापना कार्यक्रम अगाडि बढाउने निर्णय पार्टीको बैठकले गरेको जानकारी दिए । उनले सोही दिन नेकपा एमालेका महासचिव शंकर पोखरेल र महेश बस्नेतको प्रमुख आतिथ्यतामा जिल्ला स्तरीय जनभेला आयोजना गर्ने समेत बताएका छन् ।

एमाले बाँकेले मंसिर २० गते युवा विद्यार्थीसँग अन्तरसंवाद गर्ने कार्यक्रम तय गरेको छ । त्यस्तै, मंसिर १ गते जेनजी आन्दोलनका दोषीलाई कारवाही माग, जेनजीका नाममा सरकारी कार्यालय तोडफोड, आगजनी गर्नेलाई कारवाही गर्न दबाब दिन मंसिर १ गते धर्ना दिने कार्यक्रम रहेको बताए ।

‘भाद्र २३ मा जेनजीले उठाएका माग पूरा हुनु पर्छ, त्यसमा हाम्रो एक्यबद्धता छ, तर जेनजीको आन्दोलन अपहरण गरी सरकारी सम्पत्तीमा क्षति पुर्याउने, तोडफोड, आगजनी, लुटपाट गर्नेलाई कारवाही हुनुपर्छ’, एमाले बाँके अध्यक्ष गुरुङ्गले भने ।

निर्वाचनको वातावरण छैन

जिल्ला कमिटीका इन्चार्ज तथा केन्द्रीय सदस्य शान्ति ढकाल र केन्द्रीय सदस्य सूर्य ढकाल र दीपा शर्माले एमालेले बाँकेमा पार्टी गतिविधि बढाउँदै पार्टीलाई पहिलो शक्ति बनाउन लागिपरेको बताएका थिए । उनीहरूले एमाले लोकतान्त्रिक प्रक्रिया मान्ने पार्टी भएकाले चुनावबाट नभाग्ने बताए ।

एमाले केन्द्रीय सदस्य सुर्य ढकालले सरकारले निर्वाचन घोषणा गरेपनि निर्वाचनको वातावरण तयार नगरेको बताएका छन् । ‘प्रहरीका हातहतियार, गोलीगठ्ठा लुटिएका छन्, प्रहरी, प्रशासनको मनोबल कमजोर पाइन्छ’, उनले भने, ‘सरकार बन्द कोठामा निर्वाचन गराएर विजयी घोषणा गर्न खोज्दैछ ।’
नेकपा एमाले बाँकेका अध्यक्ष गुरुङ्गले सरकारी सम्पत्तिको सुरक्षा गर्न नसकेको सशस्त्र, नेपाली सेनाबाट निर्वाचनमा सुरक्षा प्रदान हुन्छ भन्ने कसरी विश्वास गर्ने भन्ने प्रश्न गरेका थिए ।

नेकपा एमाले बाँकेका सचिव बलराम भट्टराईले सञ्चालन गरेको पत्रकार सम्मेलनमा नेकपा एमालेका जिल्ला, प्रदेश र केन्द्रीय नेता तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । जेनजी आन्दोलनपछि ध्वस्त बनाइएको नेकपा एमाले बाँकेको पार्टी कार्यालय मर्मत पछि पुननिर्माण भैरहेको छ । ‘पार्टीका नेता, कार्यकर्ताको सहयोगबाट पार्टी कार्यालय पुन सञ्चालनमा आएको छ’, उनले भने ।

Exit mobile version