बाँकेमा फोटो सहितको मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता देखिएको छ । अहिलेसम्म तीन हजार ५ सय ९३ जना नयाँ मतदाता थपिएको निर्वाचन कार्यालय बाँकेले जनाएको छ । ती मध्ये एक हजार ७ सय ९८ पुरुष र एक हजार ७ सय ९५ महिला मतदाता छन् ।
फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि निर्वाचन कार्यालयमा घुइँचो लागेको उल्लेख गर्दै निर्वाचन अधिकारी टेक बहादुर शाहीले मतदाता नामावलीमा नाम दर्ता गराउनेमा ६० प्रतिशत हाराहारीमा अधिकांश युवा पुस्ता भएको जानकारी दिए । ‘महिला र पुरुष दुवै धेरैजसो ३५ वर्ष कम उमेर समूहका बढी हुनुहुन्छ,’ उनले भने ।
जिल्ला निर्वाचन अधिकारी शाहीले अहिले गाउँगाउँबाट समेत फोटो सहितको मतदाता नामावलीका लागि स्थानीय आउनेक्रम बढ्दै गएको उल्लेख गर्दै गाँउगाउँबाट आउने वृद्धवद्धा समेत भएको बताए । उनले निर्वाचन कार्यालयमा रहेका चार वटा कम्प्युटरमार्फत धमाधम काम भइरहेको जानकारी दिदै एकदिनमा कम्तीमा दुई सयको हाराहारीमा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता भएको बताए ।
मतदाता नामावली अद्यावधिकका लागि अनलाइनमार्फत निवेदन आइरहेको उल्लेख गर्दै निर्वाचन अधिकारी शाहीले दैनिक १० देखि १५ जनाको अद्यावधिक भएको बताए । बाँकेमा तीन लाख ३३ हजार ९ सय ३४ मतदाता रहेका छन् । सो मतदातामध्ये एक लाख ६९ हजार ८७६ पुरुष, एक लाख ६४ हजार ४९ महिला र नौ जना अन्य मतदाता छन् ।
विगतमा हुने मतदाता नामावली संकलनभन्दा केही फरक ढङ्गले मतदाता नामावली संकलन भएको उल्लेख गर्दै शाहीले यस पटकको मतदाता नामावली विशेष मतदाता नामावली भएको बताए ।
नयाँ नाम दर्तासँगै अद्यावधिक गर्ने, त्रुटि सच्चाउने, स्थान स्थानान्तरणलगायतका काम अनलाइनमार्फत पनि भइरहेको छ । ‘मतदाता नामावलीमा नाम सच्चाउन अनलाइनमार्फत माग आउँछ र हामीलाई त्यसलाई अद्यावधिक गर्दै गइरहेका छौँ’, जिल्ला निर्वाचनत अधिकारी शाहीले भने ।
मतदाता नामावलीमा नाम दर्ता गराउनेमा नेपालगन्ज उपमहानगरपालिका,कोहलपुर नगरपालिका, जानकी गाँपालिका, खजुरा गाउँपालिका, डुडुवा गाँपालिका लगायतका सबै स्थानीय तहबाट मतदाता नामावलीमा नाम दर्ता गराउन उत्साहजनक सहभागिता रहेको जिल्ला निर्वाचन कार्यालय, बाँकेले जनाएको छ । यी स्थानीय तहमध्ये पनि सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका धेरै रहेका छन् ।






























