एकातिर विशाल राप्ती नदी, अर्कोतिर बाँके राष्ट्रिय निकुञ्जको हरियाली— यही प्राकृतिक सुन्दरता र शान्तताबीच शनिबार मानिसहरू प्रकृतिसँगै दौडिए । अवसर थियो दोस्रो संस्करणको ‘राप्तीसोनारी नेचर रन’, जहाँ माटोको सुवास, पातहरूको सुस्केरा र रफ्तारको तालबीच करण नेपाली र आयुसा सिंह ठकुरीले उपाधि जिते ।
प्रकृतिलाई नजिकबाट महसुस गराउँदै, वातावरणीय चेतना जगाउने उद्देश्यले गत वर्षदेखि सुरु गरिएको यो दौड धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्ट हो । यस वर्ष पनि राप्तीसोनारी गाउँपालिकाको मदुवामा बालबालिकादेखि युवासम्म उत्साहपूर्वक सहभागी भए— करिब १३० जनाले दौडमार्फत हरियाली र स्वास्थ्यको सन्देश फैलाए ।
छात्रतर्फ करणपछि नविनप्रसाद जोशी दोस्रो र प्रिन्स थारु तेस्रो भए । छात्रातर्फ आयुसा पछि अनिसा थारु र अन्चल कुमारी थारुले क्रमशः दोस्रो र तेस्रो स्थान पाए । शीर्ष खेलाडीहरूलाई नगद पुरस्कारसहित पदक प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि— राप्तीसोनारी गाउँपालिकाका कार्यवाहक अध्यक्ष मिनराज खड्का, वडा अध्यक्षहरू, खेलकुद समितिका प्रतिनिधि र राष्ट्रिय खेलाडीहरू— सबैले एक स्वरमा भने, ‘यो केवल दौड होइन, हाम्रो गाउँको सुन्दरता र सचेतनाको सन्देश हो ।’ खड्काले नेचर रनलाई गाउँपालिकाले स्वामित्व लिएर अगाडीका दिनमा यसको स्थायित्वसँगै स्थानीयको स्वामित्व सुनिश्चित गर्न चाहेको बताए । त्यसका लागि प्रतिबद्धता पनि जनाए ।
धारा नेपालगन्ज म्याराथनका रणनीतिक तथा अन्तर्राष्ट्रिय समन्वय प्रमुख तीर्थ ओली, जो राप्तीसोनारीमै जन्मिएर हाल जर्मनीमा एथलेटिक्स प्रशिक्षकका रूपमा कार्यरत छन्, उनकै परिकल्पनामा यो आयोजना गत वर्षदेखि भइरहेको छ । ‘नेचर रनले मानिस र प्रकृतिबीचको सम्बन्धलाई पुनः जीवित बनाउने प्रयास गरेको छ । हामी चाहन्छौं, राप्तीसोनारीका युवाहरूले वातावरणप्रति जिम्मेवारी महसुस गरून् र सहरी जीवनका मानिसहरूले यहाँको हरियाली महसुस गर्न आउन् ।”
उनका अनुसार, यो रनलाई आगामी वर्षदेखि अझ व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाउन तयारी सुरु भइसकेको छ । समीक्षामा गत वर्षको तुलनामा शतप्रतिशत आयोजनाको स्तर वृद्धि भएको सम्यक मिडिया हबका कार्यकारी अध्यक्ष झलक गैरेले प्रतिक्रिया दिए ।
रेस निर्देशक चन्द्रबहादुर गुरुङका अनुसार, शीर्ष दश दौडंदाहरूलाई यही मंसिर ६ गते हुने ११ औं धारा नेपालगन्ज म्याराथनमा स्वतः सहभागिता दिइनेछ । धारा नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरी, प्रमुख अतिथि खड्का, आयोजक समितिका संयोजक तिर्थ ओली लगायतले नेचर रनका क्रममा सफल उत्कृष्ठ खेलाडीलाई नगदसहित पदक प्रदान गरेका थिए ।
राप्तीसोनारीको हरियो जंगल, राप्ती नदीको मिठो हावा र दौडंदा पाइलाहरूको तालले शनिबार बिहानलाई साँच्चिकै विशेष बनायो — जहाँ मानिसले प्रतिस्पर्धा मात्र होइन, प्रकृतिसँग प्रेम पनि गरे । स–साना बालबालिका देखि पाको उमेरका गाउँलेहरु कार्यक्रममा आएर खेलाडीलाई हौसला दिनेदेखि मनोरञ्जन लिनेसम्मका उत्साहका दृष्यहरु आयोजना परिसरमा देखिएका थिए ।
