धारा नेपालगन्ज म्याराथन

विद्यार्थीलाई दौड संस्कृतिसँग जोड्ने अभियान

बाँकेका शैक्षिक क्षेत्रका विभिन्न व्यक्तितत्वहरुसँग आगामी मङ्सिर ६ गते हुन लागेको नेपालगन्ज म्याराथनको एघारौँ संस्करणको तयारीलाई लिएर परामर्श बैठक आयोजना गरिएको छ । जहाँ आयोजकले भनृे, ‘ यो केवल खेल प्रतियोगिता होइन, यो सहरलाई ‘दौडको राजधानी’ बनाउने निरन्तर अभियानको अर्को अध्याय हो ।’

आयोजनाको तयारी अन्तर्गत आइतबार बाँकेका ३० बढी विद्यालयका सञ्चालक र प्रधानाध्यापकहरूसँग गरिएको परामर्श बैठकमा आयोजकको भनाइ थियो, ‘अब नेपालगन्जका विद्यार्थीहरू पनि दौडको लयसँगै अघि बढ्नेछन् ।’ ‘उनीहरुमा दौड संस्कृतिको विकास आयोजनाको उद्देश्य हो, छलफलमा आयोजक टोलीले विद्यार्थी सहभागिता अभिवृद्धि गर्ने उपायबारे गरेको खुला संवादमा धारा नेपालगन्ज म्याराथनका संस्थापक टी.एस. ठकुरीले भने, ‘गत दशकमा हामीले नेपालगन्जलाई दौडको सहर बनाउने सपना पालेका थियौं, अब यो सपना अन्तर्राष्ट्रिय मञ्चमा गुञ्जिन थालेको छ ।’

संस्थापक ठकुरीका अनुसार नेपालमा एम्सद्वारा प्रमाणित दुई इभेन्ट— ‘धारा नेपालगन्ज म्याराथन’ र “नाइट रन”— एउटै सहर नेपालगन्जमा मात्रै आयोजना हुन्छन् । यो नै यस सहरको खेल–पहिचानको प्रमाण बनेको छ, उनको भनाइ छ ।

प्रदेश खेलकुद परिषद् लुम्बिनीका पूर्व सदस्य सचिव भीम ओलीले नेपालगन्ज म्याराथनलाई ‘सहरको साझा उत्सव’ का रूपमा लिनुपर्नेमा जोड दिए । उनका शब्दमा, ‘नेपालगन्ज म्याराथन केवल खेल होइन, यो सहरको आत्मा हो — जसमा विद्यालयका विद्यार्थीहरू सहभागी हुँदा नयाँ पुस्तामा अनुशासन, उत्साह र सहनशीलता जगिनेछ ।’

छलफलमा नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरेले धारा नेपालगन्ज म्याराथनलाई नेपालगन्जको ऐतिहासिक र सांस्कृतिक पहिचानसँग जोडिएको गौरवमय आयोजनाका रूपमा सशक्त बनाउँदै लैजानुपर्ने बताए । ‘नेपालगञ्ज म्याराथनले हाम्रो सहरको आत्मा बोक्छ — यसलाई सामूहिक सहभागितामार्फत अझ बलियो बनाउनुपर्छ,’ गैरेको भनाइ थियो ।

छलफलमा सामुदायिक, निजी र संस्थागत विद्यालयका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई खेल र स्वस्थ जीवनशैलीसँग जोड्ने प्रतिवद्धता जनाए । प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यसहितका संस्थागत विद्यालयका प्रतिनिधिहरुले बढिभन्दा बढी विद्यार्थीलाई दौडसँग अभ्यस्त गराउँदै नेपालगन्ज म्याराथनसँग जोड्ने प्रतिबद्धता जनाए ।

राष्ट्रिय महिला क्रिकेट टिमकी पूर्व उपकप्तान ममता थापा मगरले सहजीकरण गरेको कार्यक्रमले विद्यालय र खेलबीचको दूरी घटाएको महसुस गरायो । कार्यक्रममा नेपालगन्ज म्याराथनका रेस–डाइरेक्टर चन्द्रबहादुर गुरुङले आयोजनाका प्राविधिक पक्षबारे विद्यालय प्रतिनिधिलाई विस्तृत जानकारी दिए ।

Exit mobile version