बाँकेको खजुरा गाउँपालिकाले सम्झौता अनुसार काम नगर्ने ठेकेदारलाई कडाई गर्न थालेको छ । सम्झौता गरेर बर्षौ काम नगरी अल्झाउने ठेकेदारहरूलाई नियम बमोजिम ठेक्क रद्द गर्नेसम्मको तयारी गरेपछि ठेकेदारहरू सम्पर्कमा आएर काम अगाडि बढाउने बताएका छन् । पालिकाले काम सम्पन्न भएपछि निश्चित समयसम्म मर्मत, सम्भारको काम गर्नुपर्नेमा सम्पर्क विहीन भएपछि उनीहरूको धरौटी सदरस्याहा गर्ने भएको छ ।
खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेलले ५÷६ वटा ठेकेदारले सम्झौता गरेर काम अलपत्र पारेपछि ताकेता गरेको जानकारी दिएका छन् । ‘पालिकाले ठेक्का रद्दसम्मको तयारी अगाडि बढाएपछि ठेकेदारहरू सम्पर्कमा आउनु भएको छ, काम अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्’, उनले भने ।
स्थानीय तहले पूर्वाधार निर्माणका लागि ठेक्का आव्हान गर्दा ठेक्का सकार्ने र काम नै नगर्ने, सम्झौताको अवधीसम्म काम नसकी अलपत्र पार्ने गर्दै आएको पाइन्छ । पालिकाहरूमा ठेक्का स्वीकार गरी काम नगर्ने प्रवृत्ति देखिएपछि खजुरा गाउँपालिकाले ठेकेदारहरूलाई कडाई गर्न थालेको हो ।
कार्य सम्पन्न भैसकेपछि निश्चित समयसम्म मर्मत, सम्भार गर्नुपर्नेमा त्यसो नगरी सम्पर्क विहीन भएका ठेकेदारहरूले राखेको धरौटी रकम खजुरा गाउँपालिकाले जफत गरेको छ । ‘१० वटा कम्पनीले आफुले गरेको त्रुटि सच्याउने, मर्मत सम्भार गरी धरौटी फिर्ता लग्नु पर्नेमा सम्पर्कमा नआएपछि धरौटी रकम सदरस्याहा गर्ने प्रक्रिया अगाडि बढाएका हौं’, पालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने, ‘सात दिनभित्र सम्पर्कमा नआए धरौटी सदरस्याहा गरि उक्त रकम मर्मत सम्भार तथा त्रुटि सच्याउन खर्च गरिनेछ ।’
‘आ.ब २०८१÷८२ सम्म बाँकी रहेका बिभिन्न फर्म तथा व्यक्तिको नामको निर्माण कार्य सम्बन्धि धरौटी रकम आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ६६ को उपनियम २ अनुसार आफुले गरेको निर्माण कार्य सम्पन्न गरि त्रुटी सच्याउने अवधि भित्र मर्मत सम्भार गराई धरौटी रकम फिर्ता लिनु पर्नेमा हालसम्ममा उक्त योजनाहरूको मर्मत गरेको नदेखिएको’, पालिकाले जारी गरेको सूचनामा उल्लेख छ, ‘सात दिन भित्र यस कार्यालयमा सम्पर्क राखी नियमानुसार मर्मत गर्नहुन अनुरोध गरिन्छ ।’
अन्यथा सोहि नियमको उपनियम ३ अनुसार धरौटी सदरस्याहा गरि राजस्व दाखिला गर्ने र यस कार्यालय आफैले उक्त स्थानहरूमा आवश्यकता अनुसार मर्मत गर्न गराउन अन्यथा नियमानुसार हुने पालिकाले जनाएको छ ।