नेपालगंजमा साहित्यकार भागवत खनालको निबन्ध सङ्ग्रह ‘आत्मबोध’ परिचर्चा कार्यक्रम सम्पन्न

साहित्यकार भागवत खनालद्वारा लिखित निबन्ध संग्रह आत्मबोधको परिचर्चा कार्यक्रम नेपालगंज स्थित महेन्द्र पुस्तकालयमा सम्पन्न भएको छ । पश्चिम नेपालको शैक्षिक धरोहर मानिने महेन्द्र पुस्तकालय र भेरी साहित्य समाज बाँकेको संयुक्त आयोजनामा सम्पन्न यो कार्यक्रममा साहित्य र संस्कृति प्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रम महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादवको अध्यक्षतामा र वरिष्ठ साहित्यकार तथा लुम्बिनी प्राविधिक विश्वविद्यालयको सेवा आयोग सदस्य प्रा.डा. कृष्ण प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित वरिष्ठ साहित्यकारहरू सनत रेग्मी, नेरेन्द्रजंग पिटर, महानन्द ढकाल, हरि प्रसाद तिमिल्सेना, सुमित्रा न्यौपाने लगायतले ‘आत्मबोध’ केवल निबन्ध सङ्ग्रह नभई अनुभव, दर्शन र चेतनाको साक्षात्कार भएको अत्यन्तै पठनिय पुस्तक भएको प्रतिक्रिया दिएका थिए। सहभागीहरूले यस निबन्ध सङ्ग्रहले जीवन बुझ्न, आफूलाई चिन्न र समाजप्रतिको उत्तरदायित्व महसुस गर्न प्रेरणा दिने बताए ।

साहित्यकारहरूको उल्लेख्य उपस्थितिमा भएको परिचर्चा कार्यक्रममा वक्ताहरूले भागवत खनाल शब्दका कुशल चित्रकार भएको उल्लेख गर्दै प्रत्येक निबन्धमा जीवन र आत्मबोध सजीव भएर बगेको टिप्पणी गरेका थिए। यस संग्रहका निबन्धहरू लेखकको आत्मसाक्षात्कार, जीवन–अनुभूति र अस्तित्व–बोधको साहित्यिक रूपान्तरणका रूपमा प्रस्तुत गरिएको छ ।
कार्यक्रममा उत्कृष्ठ रचनाका लागी लेखक भागवत खनाललाई बाँकेबासीका तर्फबाट कार्यक्रमा संयोजन गर्नु भएका साहित्यकार सनत रेग्मी, प्रमुख अतिथि प्रा.डा. कृष्ण प्रसाद घिमिरे, लेखक एवं अधिकारकर्मी वसन्त गौतम लगायतले संयुक्त रुपमा दोसल्ला ओड्याई सम्मान गरिएको थियो ।

निवन्ध संग्रहमा समेटिएका ३० वटा निबन्धमा लेखकले आफ्ना बाल्यकाल देखि उच्च प्रशासनिक जीवनसम्म भोगेका अनुभव, परिवेश, सम्बन्ध र सांस्कृतिक चेतनालाई अत्यन्तै आत्मीय रूपमा प्रस्तुत गरेका छन् ।

बाल्यकालको गाउँ, आमाको लवज, गण्डकी नदी, मित्रता, संस्कार र जीवनका आरोह–अवरोह सबै लेखकका लागि ज्ञानका स्रोत र जीवनका गुरुका रूपमा चित्रित छन् । भाषिक दृष्टिले यो कृति प्रशंसनीय छ; नेपाली भाषाको सौन्दर्यसँगै प्रयोग गरिएका अंग्रेजी शब्दहरूले लेखकको भाषिक दख्खल र विश्व साहित्य प्रतिको लगाव झल्काउँछ । माताको बोली, गाउँले लवज र उखान–टुक्काले निबन्धहरूलाई जीवन्त र आत्मीय बनाएको छ ।
कार्यक्रममा वक्ताहरूले ‘आत्मबोध’लाई मन भिजाउने, सोच्न बाध्य पार्ने र आत्मपरीक्षण गराउने पढ्नै पर्ने निबन्ध सङ्ग्रहको रूपमा उल्लेख गरेका थिए ।

साहित्यकार भागवत खनाल पाल्पा जिल्लाको खस्यौली गाउँमा जन्मिएका एक स्थापित निबन्धकार, कथाकार र समाज–चिन्तक हुन्। उनी अवकाशप्राप्त निजामती कर्मचारी हुन् र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर तथा भारतको अवध विश्वविद्यालयबाट समाजशास्त्रमा अध्ययन गरेका छन् ।

खनालको लेखनमा सामाजिक यथार्थ, आत्मबोध, जीवनदर्शन र मानवीय संवेदना प्रमुख विषयका रूपमा देखिन्छ । उनका निबन्धहरूले व्यक्ति–अन्तरात्माको आवाज, आत्मचेतना र सामाजिक मूल्यहरूको संगम प्रस्तुत गर्छ। ‘आत्मबोध’ नेपाली निबन्ध साहित्यमा आधुनिक चेत, आत्मअन्वेषण र दार्शनिक दृष्टिकोण ल्याउने उल्लेखनीय कृति हो।

खनालले यस अघि झण्डै पाँच सयको हाराहारीमा आफ्ना लेख रचना बिभिन्न पत्र पत्रिकामा प्रकाशित गरीसकेका छन् । लेख रचना बाहेक पहिलो कृतिको रुपमा प्रकाशित कथा (बाबा मेरो पीआर आयो) प्रकाशित भएको थियो । त्यसपछि लेखकले निबन्ध (आत्मबोध) मार्फत आफ्नो लेखनाक्रमलाई अगाडी सारेका छन । विशेष गरि “बाबा मेरो पीआर आयो” नामले प्रवासी नेपालीहरुको मनोविज्ञान, “पीआर आयो” भन्ने अभिलाषा पृष्ठभूमिमा उठाएको छ भने “आत्मबोध” ले आन्तरिक अनुभूति तथा समाज–विचारलाई समेटेको छ । आत्मबोध निबन्ध संग्रहका प्रकाशक आफ्नै सहोदर दाई दुर्गा खनाल रहेका छन् । कृतिमा दुईभाईको असाध्यै माया प्रेम रहेका झल्कीन्छ । जुन अहिलेका पीढीका लागी दुईभाईको माया प्रेम स्नेह र सहयोग उदाहरणिय छ ।

Exit mobile version