मानव बेचबिखनविरुद्धको शान्ति पुनःस्थापना गृह, उद्धारपछिको अवस्था पनि जटिल
सिमानाको तातो धुलो, जोखिमका बाटा र अन्धकारमा हराउँदै गएका सपना… यिनै ठाउँमा आशाको उज्यालो बनेको छ शान्ति पुनःस्थापना गृह नेपालगन्ज ।
गत आर्थिक वर्ष २०८१–८२ मा गृहले देशका ४० जिल्लाबाट ३९९ जनाको उद्धार गरेको छ । तीमध्ये ६ जना भारतीय नागरिक समेत छन् — जसले मानव बेचबिखनको भयावह चक्रबाट नयाँ जीवन फिर्ता पाएका छन् ।
संस्थाका संस्थापक अध्यक्ष शान्ता सापकोटाले सरोकारवाला निकायहरूको निरन्तर सहयोगले गर्दा नै जटिल परिस्थितिमा पनि उद्धार र पुनस्थापना सम्भव भएको बताउँदै सोमवार बाँकेका सरोकारवालाहरुबीच उद्धारपछिको जटिल अवस्थाबारे जानकारी गराइन् ।
संस्थाले ९ हजार ३९४ जनालाई भारतसँग जोडिएका देशका विभिन्न सीमा क्षेत्रमा सूचना र परामर्श प्रदान गरेको तथ्याङ्क सार्वजनिक गर्दै सोमबार नेपालगन्जमा वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम गरेको हो । वार्षिक सामाजिक लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्दै जिल्ला कार्यक्रम संयोजक सम्झना चदाराले उद्दार गरिएका मध्ये तीन सय ३ महिला तथा बालबालिकालाई संस्थाद्वारा अभिभावकलाई जिम्मा लगाइएको बताइन् । ९५ जनालाई प्रहरीको रोहवरमा अभिभावकलाई जिम्मा लगाइएको र एक जनालाई पुनस्र्थापनाको लागि अन्य संस्थामा पठाइएको बताइन् ।
त्यसक्रममा ‘हाम्रो आह्वान, मानव बेचबिखनविरुद्धको अभियान’ नारासहितको कार्यक्रममा संस्थाले पारदर्शिता, जवाफदेहिता र आगामी योजनाबारे सरोकारवालासँग छलफल ग¥यो । कार्यक्रमको नेतृत्व गर्दै संस्थापक अध्यक्ष सापकोटानै नेपालगन्ज आइपुगेकी हुन् । त्यसक्रममा सम्बोधन गर्दै उनले संस्था स्थापनादेखि हालसम्मका संघर्ष र उपलब्धी प्रकाश पारिन् । उद्धारपछि पनि तमाम जटिलता उत्पन्न भएको भन्दैै नीतिगत सुधार गरेरै भएपनि ती समस्या समाधानमा नागरिक समाजको सहयोग अपेक्षा उनको थियो ।
संस्थाकी संस्थापक अध्यक्ष सापकोटाले भनिन् — ‘हाम्रो शक्ति हाम्रो सहकार्य हो । जोखिमको बीचमा पनि उद्धार र पुनःस्थापना सम्भव भएको छ, किनकि धेरै हातहरू एकै उद्देश्यका लागि जोडिएका छन् ।’ उनले आफुहरुले सिमित जिल्लामा कार्यक्रम सञ्चालन गरेर अभियानमा थोरै सहयोगमात्रै गरेको उल्लेख भनिन्, ‘मानवबेचविखन विरुद्धको अभियानमा राज्यनै जिम्मेवार भएर लाग्न जरुरी छ ।’
कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष ज्ञानेन्द्रकुमार चौधरीले संस्थाको भूमिकालाई ‘सीमाक्षेत्रका चेलीबेटीहरूका लागि जीवनदायिनी हात’ भन्दै प्रशंसा गर्दै भने, ‘शान्ति पुनःस्थापनाको उपस्थिति नभएको भए, धेरै चेलीबेटीहरू आज हराइसक्थे ।’ उनले अझ धेरै सचेतनाको काम गर्न बाँकी रहेकाले त्यसतर्फ सरोकारवालाको ध्यानाकर्षण गराए । मानवबेचविखन तथा ओसारपसार विरुद्धको अभियानमा सरकारी निकाय, सामाजिक संघ संस्था र स्थानीय सरकारबीच समन्वयको खाँचो रहेको उल्लेख गर्दै आवश्यक सहकार्य र समन्वयको लागि आफु सदैव तत्पर रहेको बताए ।
त्यस्तै, सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी र राष्ट्रिय मानव अधिकार आयोगका नेपालगन्ज कार्यालय प्रमुख द्वारिका अधिकारीले मानव बेचबिखन नियन्त्रणमा सहकार्यलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सुरक्षाकर्मीसहित विभिन्न सरकारी, गैरसरकारी निकायका प्रतिनिधिहरूको उपस्थिति थियो । सार्वजनिक लेखा परीक्षणमार्फत आफ्ना गतिविधिहरूको कार्यसम्पादन, पारदर्शिता र जवाफदेहितामाथि छलफल गरिएको कार्यक्रममा गत वर्ष हासिल उपलब्धि, चुनौती र आगामी वर्षका योजनाबारे प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रममा जिल्ला प्रहरी प्रतिनिधिसहित शान्ति पुनस्र्थापना केन्द्रका सल्लाहकार युवराज खरेल, गंगा अधिकारी, गिता थारु लगायतले बोलेका थिए ।
शान्ति पुनःस्थापना गृहले बाँकेको विभिन्न ५ स्थानमा आफ्नो सूचना तथा परामर्श केन्द्र स्थापना गरी मानव बेचबिखन विरुद्धको कार्यक्रम संचालन गरिरहेको संस्थाका राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईले जानकारी दिए । उनका अनुसार, लुम्बिनीमा बाँकेसँगै बर्दिया, कपिलबस्तु, दाङ र रुपन्देहीमा संस्थाले काम गरिरहेको छ ।






























