गत भाद्र २३ र २४ गते जेनजीको प्रदर्शनका क्रममा नेपालगन्जमा चार वटा चोकमा रहेका शालिकहरू तोडफोड गरी क्षतिग्रस्त बनाइए । जेनजीको आन्दोलनका क्रममा ढालिएका पुष्पलाल चोक र विपीचोकमा रहेको पुष्पलाल र विपीको शालिक नेपालगन्ज उपमहानगरपालिकाले उठाएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले ढालिएका शालिक डोजरको प्रयोग गरी उठाएको हो । उपमहानगरपालिकाले चार वटा चोकमा रहेका शालिक पुन निर्माण गर्न आवश्यक रहेको र वीरेन्द्रचोकमा समेत शालिक राख्न माग भैरहेको बताएको छ ।
नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले चोकमा ढालिएको अवस्थामा रहेका पुष्पलाल र विपीको शालिक उठाएको बताए । ‘पुष्पलाल, विपी, गणेशमान र शहिद सेतुको शालिक पुनः बनाउनु पर्ने छ’, नगर प्रमुख विष्टले भने, ‘ठूलो बजेट खर्च हुने भएकाले आगामी पुसमा हुने नगरसभामा प्रस्तुत गर्ने जानकारी दिए । नगर प्रमुख विष्टले सबैको सहमति रहे विरेन्द्र चोकमा समेत शालिक पुनस्र्थापना गर्न सकिने बताएका छन् । यसअघि नेकपा एमाले बाँकेको छैठौं बैठकले आगामी कार्तिक २९ गते चोकमा रहेका आदर्श व्यक्तित्वका ढलेका शालिक उठाउने पुनस्र्थापनाको काम अगाडि बढाउने निर्णय गरेको नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङ्गले जानकारी दिएका छन् । नेपाली काँग्रेस बाँकेका सचिव सुधांसु कोइरालाले हालै एउटा कार्यक्रममा शालिक उठाउनका लागि जिल्ला स्थित नेता, कार्यकर्ताको दबाब पछि पुनस्र्थापनाको प्रशासनसँग पहल गर्दा सम्भव नभएको र पार्टी आफैले चोकको शालिक उठाउँदा विवाद हुने देखिएकाले तत्कालका लागि रोकेको बताएका थिए ।
चोक कुरूप भएको भन्दै ढलेका शालिक उठाउन उपमहानगरपालिकामा दबाब बढ्दै गएपछि शालिक उपमहानगरपालिका आफैले उठाएको हो ।






























