जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सडक सुरक्षालाई प्रभावकारी बनाउन विशेष चेकजाँच अभियान सञ्चालन गरी अवैध रूपमा सिट तथा फलामका डण्डी थपेर सञ्चालन गरिएका भ्यानहरूमा कारबाही गरेको छ ।
ट्राफिक प्रहरी कार्यालय बाँकेका कार्यालयका अनुसार, बुधबार नेपालगन्ज र मातहतका ट्राफिक प्रहरी पोष्टहरूले संयुक्त रूपमा गरेको चेकजाँचका क्रममा मानिस झुन्ड्याउने गरी बनाइएका फलामका डण्डी र सिट थपेर सञ्चालनमा रहेका ६४ वटा ई–भ्यान र म्याजिक भ्यानहरूलाई कारबाही गरी पठाइएको हो ।
त्यसैगरी, अत्यधिक भवरलोड (भारभन्दा बढी यात्रु वा सामान) बोकी सञ्चालनमा रहेका विभिन्न सवारी साधनहरूलाई पनि नियन्त्रणमा लिई लोड घटाई कारबाही गरिएको प्रहरीले जनाएको छ । कारबाहीपछि ती सवारी साधनहरूलाई सुरक्षित गन्तव्यतर्फ पठाइएको बताइएको छ ।
सडक दुर्घटना नियन्त्रण र यात्रुको सुरक्षालाई ध्यानमा राख्दै सवारी साधनमा क्षमता अनुसार मात्र यात्रु राख्न आग्रह गरेका ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने सवारी चालक तथा सञ्चालकहरूलाई कानुनअनुसार कडाइका साथ कारबाही गरिने जनाएको छ । सडक सुरक्षासम्बन्धी सचेतनामूलक अभियान पनि निरन्तर सञ्चालनमा रहेको ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।






























