नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान सरकार असंवैधानिक रहेको बताएका छन् । प्रेस चौतारी नेपाल बाँकेले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व गृहमन्त्री समेत रहेका एमाले नेता अधिकारीले भने, ‘संवैधानिक व्यवस्था र सर्वोच्च अदालतले स्थापित गरेको नजिर विपरित प्रधानमन्त्री बनाइएको छ ।’
‘अब बिस्तारै तुवालो फाट्दै छ’, गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री समेत रहेका एमाले नेता अधिकारीले भने, ‘हामीले झण्डै दुई तिहाइका प्रधानमन्त्रीलाई बर्खास्त सहज रूपमा लियौं ।’ तर, आवश्यकताको सिद्धान्तका रूपमा समेत वर्तमान सरकारलाई स्वीकार गर्ने अवस्था नरहेको उनले बताए ।
एमाले नेता अधिकारीले वर्तमान सरकार आवश्यकताको सिद्धान्तका रूपमा समेत स्वीकार गर्ने अवस्था नरहेको बताएका छन् ।
वर्तमान सरकारले निर्वाचन गर्ने भनेपनि निर्वाचनको वातावरण नबनाएको नेता अधिकारीले बताएका छन् । ‘निर्वाचन घोषणा गरिएको छ, हाम्रा प्रमुख नेतालाई स्थान हद तोकिएको छ, प्रहरीका लुटिएका हातहतियार, पोशाक फिर्ता भएका छैनन्, कारागारबाट फरार कैदी, थुनुवा फरार छन्’, उनले भने, ‘यस्तो अवस्थामा निर्वाचन हुन सक्ने देखिंदैन ।’
सरकारले निर्वाचन चाहने हो भने सहमतिका साथ अगाडि बढ्नु पर्ने नेता अधिकारीले बताएका थिए । ‘यो दलिय व्यवस्था हो, निर्वाचनको वातावरण बनाउन राजनीतिक दलहरूसँग वार्ता र संवाद गर्नुपर्छ’, उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध कोही जानु हुँदैन ।’ नेता अधिकारीले प्रतिनिधिसभा पुनस्र्थापना गरेर संविधान संशोधन मार्फत संवैधानिक प्रक्रियाबाट अगाडि बढ्नु पर्ने धारणा राखेका थिए । ‘हाम्रो माग प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्छ भन्ने हो, त्यसका लागि नेकपा एमालेले आन्दोलन सुरु गरिसकेको छ’, उनले भने ।
सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि विश्वसनीय उच्चस्तरीय आयोग बनाएर अघि बढ्न एमालेलाई आपत्ति नरहेको भन्दै नेता अधिकारीले प्रतिशोध साँधेर सही ठाउँमा पुग्न नसकिने बताए । प्रेस चौतारी बाँकेका अध्यक्ष कमल डाँगीको अध्यक्षता र सचिव देबेन्द्रराज पौडेलले सञ्चालन गरेको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य मो. हारुन, सुर्य ढकाल, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, प्रेस चौतारीका केन्द्रीय सदस्य भेषराज बस्नेत, विभिन्न मिडियामा कार्यरत सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।