दिल्लीस्थित लालकिल्ला नजिकै भएको बम विस्फोटपछि भारत–नेपाल सीमा क्षेत्रमा सुरक्षा निकायले कडाइ बढाएका बेला रुपैडिहा नाकामा सुरक्षा सतर्कता झनै कडा बनाइएको छ । खुला सीमाका कारण सशस्त्र सीमा बल (एसएसबी) र स्थानीय प्रहरीले संयुक्त रूपमा गस्ती, निगरानी र आवतजावतमा कडाइका साथ जाँच अभियान सञ्चालन गरिरहेका हुन् ।
यही कडाइबीच शनिबार नेपालगन्जबाट रुपैडिहा हुँदै भारततर्फ जाँदै गरेका दुई विदेशी नागरिकलाई सुरक्षा टोलीले पक्राउ गरेको छ । सुरक्षा अधिकारीले जनाए अनुसार, शंकास्पद अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनीहरू भारत यात्राका लागि आवश्यक कुनै पनि वैध कागजात विना नै सीमा पार गर्न खोजेको खुलेको छ ।
एसएचओ रमेश सिंह रावतका अनुसार, रुपैडिहा बीओपीका एसएसआई जगत दास, महिला कन्स्टेबल रानी कुमारी, टी. यमुना र ज्योति सिंहसहितको संयुक्त टोली आवतजावत गर्दै गरेका व्यक्तिहरूको कागजात जाँच गरिरहेको समयमा ती दुईलाई रोकेर विस्तृत जाँच गर्दा कागजात अभाव पुष्टि भएको हो ।
पक्राउ परेका व्यक्तिमा ६१ वर्षीया सुमित्रा शकील ओलिभिया रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनी कर्नाटकको उडुपी निवासी जोन फ्रेडरिक सुमित्राकी छोरी हुन् र हाल बेलायतको ग्लुसेस्टरस्थित २५ हार्कोम्ब ड्राइभमा बसोबास गरेको खुलेको छ । त्यस्तै उनका सह–यात्री ३५ वर्षीय हसन अम्मान सलीम बेलायतको म्यानचेस्टरस्थित १ए डालमोर्टन रोडमा बस्दै आएका व्यक्ति हुन् । दुवैले भारत प्रवेशका लागि कुनै पासपोर्ट–डाभिडा वा कानुनी कागजात प्रस्तुत गर्न नसकेपछि उनीहरूलाई अवैध रूपमा सीमा पार गर्ने प्रयासको आरोपमा मुद्दा दर्ता गरी बहराइचको सम्माननीय अदालतमा पेश गरिएको प्रहरी जनाएको छ ।
एसएसबी ४२ औँ वाहिनीका कमान्डेन्ट गंगा सिंह उदावतका अनुसार, दिल्ली घटनालाई मध्यनजर गर्दै नेपालतर्फबाट हुने आवतजावतमा उच्च सतर्कता अपनाइएको छ । विशेष गरी ग्रामीण बाटो र गोरेटोमार्ग हुँदै सीमा पार गर्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर निगरानी थप कडा बनाइएको छ ।
दिल्ली विस्फोटपछि जारी उच्च सतर्कतामध्ये गरिएको यस कारबाहीले सीमामा कडाइ बढाइएको स्पष्ट संकेत दिएको छ । सुरक्षा निकायका अनुसार, सीमा क्षेत्रमा स्क्यानर, डग स्क्वाड र संयुक्त गस्तीको घनत्व अझै बढाइनेछ ।































