उद्घाटन खेल पाथिभरा एफसीसँग
सहिद स्मारक सी–डिभिजन क्वालिफायर खेल नजिकिँदै गर्दा नेपालगन्ज–११ स्पोर्टिङ क्लब अन्तिम तयारीमा पुगेको छ । क्लबले करिब एक महिना लामो हेटौंडा पिप्ले युवा क्लबको मैदानमा गरिएको बन्द प्रशिक्षण सकाएर अब प्रत्यक्ष प्रतिस्पर्धामा उत्रने तयारी लगभग पूरा गरेको जनाएको छ ।
प्रशिक्षक जनक केसीका अनुसार, आगामी विहीवारदेखि एन्फा कम्प्लेक्स, सातदोबाटोमा सुरु हुन लागिरहेको सी–क्वालिफायरको उद्घाटन खेलमा नेपालगन्ज–११ पाथिभरा एफसीसँग भिड्नेछ । उद्घाटन खेल बिहान ९ बजे सुरु हुने घोषणा गरिएको छ ।
क्लब अध्यक्ष घनश्याम थापाले नेपालगन्ज–११ का पदाधिकारी तथा खेलाडीहरू यस वर्ष सी–डिभिजनमा प्रवेश गर्ने लक्ष्यसहित आत्मविश्वासका साथ मैदान उत्रिने तयारीमा रहेको जानकारी दिंदै भने, ‘समर्थन, सहयोग र शुभेच्छाका लागि क्लबले सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद दिंदै सफल यात्राको आशा व्यक्त गरेको छ ।’ गत वर्षपनि मैदानमा भिडेको नेपालगन्ज – ११ झिनो अन्तरले पछाडी परेको थियो । ‘यसपटक सी–डिभिजनमा प्रवेश गर्ने गरि तयारी भएको छ,’ अध्यक्ष थापाले दैनिक नेपालगन्जसँग भने, ‘हाम्रो लक्ष्यले पक्कै जीत हासिल गर्नेछ ।’