नेपालगन्ज भन्सार कार्यालयबाट चालु आर्थिक बर्ष २०८२÷०८३ को चार महिनामा झण्डै २४ अर्ब बराबरको मालसामान आयात भएको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार, गत साउनदेखि कार्तिक मसान्तसम्म २३ अर्ब ८० करोड ३५ लाख २६ हजार मूल्य बराबरको आयात भएको हो । नेपालगन्ज भन्सार कार्यालयबाट चालु आ.व.को चार महिनामा ७७ करोड २८ लाख ४६ हजार रूपैयाँ बराबरको निर्यात भएको छ ।
नेपालगन्ज भन्सार कार्यालयबाट चालु आ.व.को चार महिनामा आयात–निर्यात गरी कुल २४ अर्ब ५७ करोड ६३ लाख ७२ करोड बराबरको कारोबार भएको छ । चालु आ.व.मा नेपालगन्ज भन्सारबाट भएको आयात निर्याताको अनुपात ३०.७९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक बर्ष २०८१÷०८२ को चार महिनामा २१ अर्ब ९७ करोड ३० हजार बराबरको मालसामान आयात र ६६ करोड २७ लाख ६७ हजार बराबरको मालासमान नेपालगन्ज भन्सारबाट निर्यात भएको थियो । उक्त आ.व.को चार महिनामा आयात, निर्यात अनुपात ३३.१४ र व्यापार घाटा ९६.९८ प्रतिशत रहेको थियो । नेपालगन्ज भन्सारबाट हुने व्यापार घाटा निकै उच्च रहेको पाइन्छ ।
अघिल्लो आर्थिक बर्ष २०८१÷०८२ को तुलनामा चालु आर्थिक बर्ष २०८२÷०८३ को चार महिनामा भन्सार राजश्व असुली घटेको छ । नेपालगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार, अघिल्लो आर्थिक बर्ष २०८१÷०८२ को साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौं महिनामा लक्ष्यको ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत र कार्तिकमा ७६.४४ प्रतिशत राजश्व संकलन भएकोमा चालु आर्थिक बर्षको क्रमशः उक्त महिनाहरूमा मासिक लक्ष्यको ७४.१४ प्रतिशत, ६९.७७ प्रतिशत, ८७.८३ प्रतिशत र ७२.३० प्रतिशत राजश्व संकलन भएको छ । भन्सार राजश्व संकलन अघिल्लो आ.व.को तुलनामा यस बर्ष ३ अर्ब भन्दा बढी घटाएर लक्ष्य निर्धारण गरिएको छ ।
चालु आर्थिक वर्ष २०८२÷८३ को सुरुको चार महिनामा ६ अर्ब १ करोड ३४ लाख ८० हजार भन्सार राजश्व संकलन भएको नेपालगन्ज भन्सार कार्यालयको तथ्यांक छ । अघिल्लो आर्थिक बर्ष २०८१÷०८२ को चार महिनामा ६ अर्ब ७ करोड ५६ लाख ३० हजार राजश्व संकलन भएको थियो । भदौं महिनाका केही जेनजी आन्दोलनका कारण राजश्व संकलन समेत प्रभावित भएको थियो ।
अघिल्लो आर्थिक बर्षको साउनमा १ अर्ब ५० करोड ३८ लाख ३४ हजार राजश्व संकलन भएकोमा चालु आ.व.को साउन महिनामा १ अर्ब ३८ करोड ३७ लाख ८४ हजार रूपैयाँ, अघिल्लो आ.व.को भाद्रमा १ अर्ब ४९ करोड ५ लाख २० हजार राजश्व संकलन भएकोमा चालु आ. व.को भाद्र महिनामा १ अर्ब ३५ करोड १० लाख ९ हजार राजश्व संकलन भएको छ । त्यस्तै, अघिल्लो आ. व.को असोज महिनामा १ अर्ब ४१ करोड २९ लाख ४२ हजार राजश्व संकलन भएकोमा यस बर्ष ह्वात्तै वृद्धि भई १ अर्ब ७४ करोड १६ लाख ५ हजार रूपैयाँ राजश्व संकलन भएको छ । तर, अघिल्लो आ.व.को कार्तिक महिनामा १ अर्ब ६६ करोड ८३ लाख ७ हजार राजश्व संकलन भएकोमा चालु आ.व.को कार्तिक महिनामा १ अर्ब ५३ करोड ७० लाख ८२ हजार मात्रै राजश्व संकलन भएको छ ।






























