नेपाल पर्यटन बोर्डको आयोजनामा आज नेपालगन्जमा फोटोग्राफी रिपोर्टिङ सम्बन्धी अनुशिक्षण कार्यक्रम गरिएको छ । नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाटा),बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षतामा भएको अनुशिक्षण कार्यक्रमको उदघाट्न नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर तथा पर्यटन दिगोविकास परियोजनाका राष्ट्रिय परियोजना संयोजक श्रद्धा श्रेष्ठले गर्नुभयो ।
कार्यक्रमको उदघाट्न गर्दे उहाँले लुम्बिनी प्रदेशभित्र थुप्रै पर्यटकिय संभावना रहेकाले पत्रकारिताका क्षेत्रबाट पनि उजागर गर्न जरुरी रहेको बताउनुभयो। उहाँले पर्यापर्यटनको प्रबद्र्धनका लागि मिडिया र सरोकारवालाहरुबीच समन्वयात्मक भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।
नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाटा),बाँके र क्रियाशील पत्रकार महिला बाँकेको समन्वयमा गरीएको कार्यक्रमका सहभागीहरुले यस्ता कार्यक्रमले पर्यापर्यटनको क्षेत्रमा भइरहेका प्रयासलाई उजागर गर्न थप क्रियाशिलता बढाउने बताए ।
कार्यक्रममा नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाटा) बाँकेका निर्वतमान अध्यक्ष श्रीराम सिग्देलले पर्यटनको बिषयमा बाँकेमा पछिल्ला दिनमा छलफलहरु नियमित हुनु र पर्यटकिय क्षेत्र पहिचान गरी भ्रमणमा जाने अभ्यास सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस्ता कार्यले पर्यटन प्रवद्र्धनमा टेवा पुराउने बताउँदै उहाँले मिडियाकर्मीहरुको सहभागिता र भुमिका पनि संगसंगै देखिन जरुरी छ ।”
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी र क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरी लगायतले पश्चिम नेपालको पर्यटन प्रवद्र्धन गर्न नेपाल पर्यटन बोर्डले पत्रकारहरुकोलागि अनुशिक्षण, अभिमुखिकरण तथा फेलोसिप जस्ता कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याउनु भएको थियो ।
कार्यक्रममा बाँकेका विभिन्न मिडियामा कार्यरत ६० जना बढी पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट दिलिप कार्कि र फोटो पत्रकार प्रशिक्षक सुनिल ब्रजाचार्यले गर्नुभएको थियो ।
