बर्दियामा कुनै बेला अनदी धानको हब मानिन्थ्यो । तर, अहिले जिल्लामा किसानले अनदी धान लगाउन छाडेपछि उत्पादन दुलर्भ हुँदै गएको छ ।
खेतबारी बिस्तार, माटो भरिनै रासायनिक मल–औषधिको प्रयोग र जनसख्या बढेसँगै रैथाने धान संकटमा परेका छन् । बर्दियामा उत्पादित अनदी धान काठमाडौसम्म बिक्रीका लागि पुर्याइन्थ्यो । काठमाडौका होटलहरूमा जाड बनाउन लैजाने गरिएको अनदी भात फुका खाँदा पनि असाध्यै मन पराइन्छ ।
बर्दियामा अन्य गहिरा क्षेत्रहरू पुरानो र चिसो स्वरूपका बगरहरूमा पनि अनदी धान लगाउने चलन थियो ।
‘पहिले थारु पुर्खाहरूले धेरै जनाले अनदीको धान लगाउने गर्दथे’, बारबर्दिया नगरपालिका वडा नम्वर ११को ८६ वर्षीया वद्ध कृषक सुकनी थारुले भनिन्, ‘परिवार ठूलो हुने र उत्पादनमा कमी भएपछि अनदी धान लगाउन छाड्दै गए ।’ अहिले अनदी धानको बिउ समेत पाउन मुस्किल भएको सुकनी बताउँछिन् । उनी अनदी चामलकोे खिर निकै स्वादिलो हुने गरेको सझिन्छिन् । अहिलेका धानको चामलको खिर अनदीको चामलको जस्तो नहुने गरेको उनको अनुभव छ ।
सुकनी थारुको अनुसार, अनदी धान थोरै पानीमा पनि सुख्खा क्षेत्रमा राम्रो उत्पादन दिने जात हो । उनले भनिन्, ‘यो धान अहिले बीउको रूपमा जोगाउन सके अहिलेको जलवायु परिवर्तनका चुनौतीबीच पनि खेतीका लागी उपयुक्त हुन सक्छ ।’ पहिले अनदी धान कम्तीमा एक दुई क्यारीमा अनिवार्य रूपमा लगाउने किसानले अहिले त हाइव्रिड धानका कारण बीउ नै पाउन गाह्रो भएको छ ।
बारबर्दिया नगरपालिका वडा नम्वर ११ किसान तुलसी चौधरीले ढिक्कीमा कुटेको अनदी धान च्युराको मिठो स्वाद अझै बिर्सन नसकिने बताउँछन् । ‘सानै उमेरमा चुल्होमा अनदीको धान भुटेर ढिकिमा कुटेर तयार गरिएको च्युरा खाएको सम्झना अझै ताजा छ’, उनले भने, ‘अनदीको च्युरा निकै मिठो हुन्थ्यो । स्कुल जाँदा खल्ती भरी त्यहीँ च्युरा भरेर खाँदै पुग्ने गर्दथ्यौ । ती दिन अब सम्झना मात्रै बाँकी रहे ।’
थारु समुदायका अटवरी पर्वका बेलामा भगवानलाई अर्पण गरिने रोटी प्रायः अनदी धानकै चामलबाट बबनाइथ्यो ।
‘सिसौला च्युरा, रोटी जस्ता परिकारमा यसको प्रयोग हुने गदथ्यो अनदीको चामलको जाँड निकै मिठो हुने भएकाले सबै भन्दा बढी रुचाइन्थ्यो,’ विजय कुमारी चौधरीले भने, विजय कुमारी चौधरीले भने ।
बारबर्दिया नगरपालिका वडा नम्वर ११ फच्कहवाका तुलसीरामा थारुको अनुसार, पहिले हिउँदमा घर वरिपरि रातो–कलरको बोटहरू फुल्थे, त्यसैलाई हामी ‘अनदी धान’ भन्थ्यौं । अहिले त्यो दृश्य हरायो ।
एकिकृत कृषि विकास तथा पशुपन्छी विकास कार्यालयका कृषि प्राविधिक फिर्तुमान चौधरीले भने, ‘अनदी धान एक कठ्ठामा एक कुन्टल मात्र उत्पादन हुने र ढिलो पाक्ने हुनाले यो धान धेरैले लगाउन छाडेको छन् ।’
आधुनिकताले हराउँदै परम्परागत खेती ः
अनदी धानलाई वैज्ञानिकहरूले धानको आदिम पूर्वका रूपमा लिन्छन् । यसले वातावरणीय सन्तुलन कायम गर्न, जलचर प्राणीहरूको बासस्थान संरक्षण गर्न र भविष्यका धानका जात विकासमा योगदान पु¥याउने क्षमता राख्छ ।
कृषकहरू पछिल्ला वर्षहरूमा बढी उत्पादन दिने “राधा–४,” “साबित्री,” “मंसुली,” “अन्नपूर्ण” जस्ता प्रजातिहरूमा आकर्षित भएका छन् । यस्ता सुधारिएको धानका बिउहरूले रैथाने धानलाई प्रतिस्थापन मात्र गरेका छैनन्, त्यसले स्थानीय धान हराउने जोखिम पनि बढाएको छ । अन्य धान धेरै उत्पादन हुने हँुदा अनदी धान थोरै मात्रामा मात्रै किसानले लगाउने गरेको कृषि प्राविधिक फिर्तुमान चौधरीले बताउँछन् ।
कृषि अनुसन्धान केन्द्र बाँकेको धान वाली विशेषज्ञ हेमा पौडेलले भनिन्, ‘धान हाम्रो जीन बैंक हो । यसको संरक्षण नगरे आधुनिक धानमा रोग प्रतिरोधक क्षमता विकास गर्ने स्रोत नै हराउनेछ ।’
स्थानीय तहले रैथाने धान संरक्षणका केही पहल गरे पनि अनदी धानका लागि छुट्टै योजना बनेको छैन । कृषि ज्ञान केन्द्र बर्दिया र वन कार्यालयबीच समन्वयको कमीले संरक्षण अभियान प्रभावकारी हुन सकेको छैन । बर्दियाकाको गुलरिया नगरपालीका – १२ का किसान रामकुमार चौधरी भन्छन्, ‘पहिले हरेक साउनमा वरिपरि रैथाने धान फल्थ्यो । अहिले त त्यसको नाम निशान हरायो ।’
अनदी सहित थुप्रै रैथाने प्रजातिका धान हराउँदै गएका छन् । रैथाने प्रजातीका मन्सुली लगायतका थु्रप्रै धान हराउदै गएका हुन् । यी जातहरू माटो, हावापानी र वातावरण सँग अनुकुलित भएकाले उत्पादन स्थिर, स्वादिलो र जैवीक दृष्टिले मुल्यवान रहेको किसानहरूको भनाइ छ ।
लक्ष्छी चौधरीको अनुसार, नयाँ धानका जात तयार गर्दा रैथाने धानको प्रयोग गर्न सके उत्पादन बढाउने सँगै वातावरणीय सहजशीलतामा पनि सुधार ल्याउन सकिन्छ । अनदीमात्रै हैन सौथ्यारी मनसुली धान, वासनादार धानहरू, मसिना धानहरू समेत लोखउन्मुख हुदै गएको पाइन्छ । आजकाल लामो समयसम्म झरी नपर्ने, सुख्खा हुने हुँदा हल्ली धान रोप्ने चलन बढेको उनको भनाइ रहेको छ । रैथाने जातका धान खडेरी, सुख्खा र डुबानमा पनि हुर्कन सक्ने भएकाले दीगो कृषि प्रणालीका लागि महत्वपूर्ण स्रोतमा रहने उनले उल्लेख गरे ।
पछिल्ला वर्ष बजारमूखि कृषि प्रणाली र उच्च उत्पादनमूखि प्रवृत्तिले मौलिक बीउलाई विस्थापित गरेको कृषि शाखाको प्रमुख कमला अधिकारीको भनाइ छ । ‘यसले जैविक विविधिता मात्र होइन नेपाली समाजको परम्परागत खानपान र सस्कृतिलाई समेत प्रभावित बनाएको छ’, उनले भनिन्, ‘रैथाने बीउको संरक्षणमा जोड नदिए सधैका लागि हराउने खतरा छ ।’ स्थानीय तह, कृषि अुनसन्धान केन्द्र र समुदाय बीच सहकार्य गरी बीउ संकलन संरक्षण र पुनः उत्पादनका अभियान चलाउन आवश्यक रहेको अधिकारी बताउँछिन् । अनदी लगायत रैथाने धानको बीउ खोजी गरी किसानलाई पुनः खेती सुरु गर्न उत्पे्रेरित गर्नुपर्नेमा उनको जोड छ ।
एकृकित कृषि तथा पशु पन्छी विकास कार्यालयका कृषि अधिकृत फिर्तुमान चौधरीले भने, ‘अनदी, सौथ्यारी, मनसुली धानको लागि विउ विजन भण्डारण केन्द्रले विउको रूपमा संरक्षण गरेर भण्डारण गरेको भए स्वादिला धानहरू लोप उन्मुख अवस्थामा जाँदैन थियो ।’
जनसंख्या बढ्दै गएको छ । नेपालीहरूको आय स्तर बढाउनको लागि रैथाने धानलाई महत्व नदिएको र उचित बजारको मुल्य पनि नहुँदा किसानहरू रैथाने धान लगाउन उत्प्रेरित छैनन् । २०७६।२०७७ कृषि गणनामा ७ सय कृषकहरूको तथ्यांक लिंदा ४ प्रतिशत मात्रै रैथानले धान लगाएको पाइएको छ । त्यो पनि चौधरीहरूको समुहले मात्र लगाउन गरेको पाइन्छ । प्रति कठ्ठा एक क्वीन्टल मात्र फलिरहेको अनदी चौधरी समुदायले विशेष अवसरमा मात्रै प्रयोग गर्दै आएका छन् ।
डा. विश्वनाथ शाहको अनुसार अनदी उत्पादनमा कमी हुने भएपनि यसले औषधीको काम समेत गर्ने बताउँछन् । ‘खानामा नरम स्वादिलो, हात खुट्टा दुख्दा, शरीरको जोर्नीहरू दुख्दा, नसाहरू दुख्दा यस्को सेवनले शरीरलाई आराम हुन्छ’, उनी भन्छन् ।
कृषि अनुसन्धान केन्द्र बाँकेको धान वाली विशेषज्ञ पौडेलेको अनुसार यी धानका बोटहरू खेतमा लगाइने आधुनिक प्रजातिभन्दा अग्ला, रुखो डाँठ भएका र कीराको प्रतिरोधी मानिन्छन् ।
अनदी धानको अस्तित्व संकटका कारणहरू
अनदी धानको अस्तित्व संकटमा पर्नुको मुख्य कारण पानी कम पर्नु हो । खेतीयोग्य जमिन र आवासीय क्षेत्र विस्तारले प्राकृतिक खेती योग्य जलाशयहरू घट्दै गएका छन् । रासायनिक मल र विषादीको उच्च प्रयोगले पानीमा रासायनिक पदार्थ मिसिएर बीउ र बिरुवा नष्ट हुँदै छन् । राज्यको अवहेलित संरक्षण नीतिका कारण पनि यो अस्तित्व संकटको अवस्था आएको हो । स्थानीय निकाय र अन्य सम्बन्धित निकायको ध्यान नपुग्दा संरक्षण प्रयास कमजोर देखिएका छन् ।
जैविक विविधतामा प्रत्यक्ष असर
अनदी धान हराउँदा बसोबास गर्ने चराचुरुङ्गी, माछा, भ्यागुता र अन्य घोङघी जीवहरूको आहार श्रृंखलामा असर परेको छ । प्राकृतिक जलस्रोत सुक्दै जाँदा तिनका आवास पनि नष्ट भइरहेका छन् । यसले जैविक विविधता र पारिस्थितिक सन्तुलन दुवैमा खतरा उत्पन्न गरेको हो ।






























