एमबीबीएसमा पूर्ण छात्रबृत्तिमा नाम निकाल्न सफल आफ्ना दुई विद्यार्थीलाई आदर्श माध्यमिक विद्यालयले भव्य सम्मान गरेको छ ।
आदर्शबाट कक्षा १२ उत्तीर्ण गरेका नेपालगन्जका आदित्य शाह र बर्दियाका मोहन क्षेत्रीलाई शुुक्रवार विद्यालयमा विद्यार्थीहरुबीच औपचारिक कार्यक्रमपछि विद्यालय परिसरबाट सम्मानसाथ नगर परिक्रमा गरायो ।
त्यस अवसरमा बोल्दै एमबीबीएसमा पूर्ण छात्रबृत्तिमा नाम निकाल्न सफल शाह र क्षेत्रीले निरन्तरको मेहनत र लगनशीलताले सफलता मिलेको बताए । उनीहरुले विद्यार्थीहरुलाई पढ्दा ख्याल गर्नुपर्ने बारे आफ्ना अनुभव साझा गरेका थिए ।
आदर्शका प्राचार्य महेश्वर जोशीले अरु विद्यार्थीका लागि पनि उत्प्रेरणा होस भन्ने उद्देश्ले सम्मानसँगै नगर परिक्रमाको कार्यक्रम बनाइएको बताए ।
विद्यालयका सहप्राचार्य टंक प्रसाद गौतमले सहजीकरण गरेको कार्यक्रममा विद्यालयका अध्यक्ष सञ्जय थापा, चिफ डाइरेक्टर इश्वर प्रसाद पोखरेल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई लगायतले शाह र क्षेत्रीलाई सम्मान गर्दै बधाई ज्ञापन गरेका थिए ।
